यो मनमोहन अधिकारी सरकारकै निरन्तरता हो: योगेश

शिखर घिमिरे

१९ फागुन २०७४, शनिबार

एकातिर मन्त्रीहरुको छिनोफानो प्रधानमन्त्रीज्युले नै गर्नु पर्ने भएको छ भने अर्कोतिर यो सरकारका जस/अपजस पनि प्रधानमन्त्रीज्युले नै लिनु पर्ने हुन्छ । त्यसैले पनि उहाँले सक्षम, योग्य र कामकाजी टिम बनाउन खोज्दै हुनुहुन्छ ।

पार्टी एकता हुन्छ र यसमा मेरो पद गुम्ला कि भन्ने डर छैन किनकि मलाई पदको लोभ छैन । किनकि यो एकताले नेपालमा एउटा मात्र कम्युनिष्ट पार्टी बनाउने छ । नेपाली जनताको लागि यो सबैभन्दा खुसीको क्षण हुनेछ, हो । जनता खुसी हुँदा हामी त्यहाँबाट रमाउन सक्नुपर्छ ।

अब केही दिनभित्रै प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्नुहुन्छ । त्यो सम्बोधनमा तत्काल गर्ने केही सुधारका कामहरु, दीर्घकालीन र मध्यकालीन कार्यहरुको सुची प्रस्तुत हुने छ ।

‘सोमबार मन्त्रीमण्डल पूर्णरुपमा विस्तार हुन्छ,’ केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भनेका थिए। त्यसैले सबैको अपेक्षा थियो, सोमबार साँझसम्म एमाले अध्यक्ष केपी ओली नेतृत्व सरकारले पूर्णता पाउँछ। तर, आइतबार एक दिनमै राजनीतिक घटनाक्रम उथलपुथल भए। सोमबार दिउँसो अबेरसम्म पनि कोकसले मन्त्रीको सपथ लिने भन्ने टुङ्गो लागेन।
केही दिनअघि कुरा गर्दा नै एमाले सचिव योगेश भट्टराईले समय दिए– सोमबार। ‘वेटिङ मिनिस्टर’का रुपमा सबैभन्दा धेरै नाम आएकाले सोमबार विहानसम्म पनि भट्टराईसँग सम्पर्क गर्दा भेट हुन सक्ने/नसक्ने निश्चित हुनै सकेन।

जब शितल निवासमा सोमबार एमालेका २ र माओवादीका २ नेताले मात्र सपथ लिने टुङ्गो भयो, त्यसपछि भट्टराई फरकधार डटकमको कार्यालय आइपुगे। भट्टराईसँग शिखर घिमिरेले गरेको कुराकानी :

पछिल्लोपटक हाम्रो फोन सम्पर्क हुँदा तपाईं पार्टी कार्यालय हुनुहुन्थ्यो । भनिएको वा जनताले सोचेको जस्तो हुन्थ्यो भने यति बेला तपाईंको गाडी शितलनिवास तर्फ मोडिनु पथ्र्यो । सौभाग्य भनौँ कि दुर्भाग्य, शितल निवासतर्फ जाने गाडी हाम्रो अफिस आइपुगेको छ । खासमा आज पनि गाडी किन शितल निवासतिर मोडिएन ?

प्रश्न लाक्षणिक छ। म पार्टी कार्यालयबाट महाराजगन्ज चोक हुँदै शितल निवासको अगाडिकै बाटो यता आएको हुँ। फरक के हो भने म त्यहाँ भित्र छिरिनँ।

मन्त्रीको नाम छनोट गर्न र त्यसबारे स्थायी समितिसँग छलफल गर्न हामीले सम्पूर्ण अधिकार प्रधानमन्त्री केपी कमरेडलाई दिएका छौँ। विश्वभर चलेको संसदीय प्रणाली पनि यही नै हो। यद्यपी कम्युनिष्ट पार्टी सामुहिक नेतृत्व प्रणालीबाट चल्छ। मन्त्री छनोटमा प्रधानमन्त्रीको विशेष अधिकार भए पनि पार्टीभित्र सल्लाह हुन्छ।

यसपटक हाम्रो प्रधानमन्त्रीले माओवादी केन्द्र र सरकारमा सहभागि हुने अन्य दलबाट पनि मन्त्री छान्नु हुने छ। त्यसैले आज (सोमबार) प्रधानमन्त्रीज्यूले ४ जना मन्त्री थप्नुभयो।

एकातिर मन्त्रीहरुको छिनोफानो प्रधानमन्त्रीज्युले नै गर्नु पर्ने भएको छ भने अर्कोतिर यो सरकारका जस/अपजस पनि प्रधानमन्त्रीज्युले नै लिनु पर्ने हुन्छ। त्यसैले पनि उहाँले सक्षम, योग्य र कामकाजी टिम बनाउन खोज्दै हुनुहुन्छ। आखिर यो उहाँको अधिकार पनि हो, छनोटमा भौगोलिक, सामाजिक, योग्यतालगायतका मापदण्डबारे उहाँले सोचविचार गर्नु भएको छ, त्यसैले पनि हामीले यसलाई ठूलो इस्यु बनाएका छैनौँ।

अहिले तपाईं यसो भन्दै हुनुहुन्छ। तर, निर्वाचन जितेलगत्तै तपाईंले जे भन्नु भएको थियो, त्यो निकै चर्चामा आयो। तपाईंलाई त्यसले आलोचनाको केन्द्रमा तान्यो, सामाजिक सन्जालमा दुई–चार बहस भए। नेतृत्व हस्तान्तरणका विषयमा तपाईंले जे राख्नुभएको थियो, त्यसले पार्टी भित्रै पनि तपाईंलाई दबाब आयो होला । यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही भन्नुभयो ?

मैले एउटा राजनीतिक दलमा नेतृत्व कसरी विकास हुन्छ, कसरी त्यो नेतृत्वको हस्तान्तरण हुन्छ भन्ने सन्दर्भमा बोलेको थिएँ। त्यो एउटा लामो व्याख्या थियो। संयोग, त्यो कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्ड पनि हुनुहुन्थ्यो। मैले त्यहीबीच उहाँलाई सम्बोधन गरेको थिएँ।

मैले भनेको थिएँ– एमाले अध्यक्ष कमरेड ओली र माओवादी अध्यक्ष कमरेड प्रचण्डले पार्टी एकताको घोषणा गर्नुभयो, यो इतिहासमा एउटा महत्वपूर्ण काम हो, यसको फलस्वरुपः निर्वाचनमा हामीले कतिपय स्थानमा बहुमत ल्यायौँ, कतिपय स्थानमा दुईतिहाई नै जित्यौँ। यो सर्वाधिक सफलता हो। त्यसो हुँदा उहाँहरु इतिहासमा सर्वाधिक महत्वपूर्ण पात्रको रुपमा हुनुहुन्छ।

मैले थपेँ– उहाँहरुसँग दुईवटा बाटो छ। एउटा, यो उपलब्धिलाई अझै माथि उठाउँदै यसको नेतृत्व गर्दै क्रमशः नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुँदै जाने र पार्टी अध्यक्ष र प्रधानमन्त्रीको रुपमा काम गर्ने। अर्को, नेल्सन मन्डेलाजस्तो हुने, उहाँहरु परीक्षामा पास भइसक्नु भएको छ, अब किन परीक्षामा सामेल हुने? पास भइसकेपछि फेरि अर्कोपटक पनि परीक्षा दिँदा फेल हुने डर हुन्छ । यदि फेल भइयो भने पास भएको हिजोको नम्बर पनि इतिहासले मेट्छ। त्यसैले नेल्सन मन्डेलाजस्तो भएर नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्दै अभिभावकाय भूमिका निर्वाह गर्नुपर्छ।

मैले यो व्याख्यासहित सम्पूर्ण विषयमा बोलेको थिएँ। तर, सामाजिक सन्जाल र मिडियामा यसलाई ठूलो कोलाहल बनाइयो, खासगरि अध्यक्ष केपी कमरेडको नामसँग जोडेर। कतिले त केपी ओलीविरुद्ध यसले अभिव्यक्ति दियो भनेर नियोजित रुपमा मेरो र अध्यक्ष कमरेडबीचको सम्बन्ध बिगार्ने दाउ पनि कसे। तर, त्यसबाट अध्यक्ष कमरेड चिन्तित भएको मैले देखिनँ । हो, उहाँसँग कुरा भएको थियो । उहाँले भन्नुभयो– तपाईंले भनेको कुरा त ठिकै हो तर समय–सन्दर्भ मिलेन।

तर, कार्यक्रममा नै हुनुभएका अध्यक्ष कमरेडले यो कुरालाई सहज रुपमा स्वीकार्नु भएको थियो।

त्यो समय तपाईं भन्दै हुनुहुन्थ्यो– नेतृत्व हस्तान्तरण गर्नुपर्छ । तर, अहिले पार्टी एकताको सन्दर्भमा फेरि गाइँगुईं सुनिन्छ– दोस्रो पुस्ताका आकांक्षाका कारण एकता प्रक्रिया लम्बियो । पार्टी एकता हुँदा पद गुम्ला, स्थान पर कतै पुग्ला भन्ने चिन्ता त तपाईंलाई पनि त हुँदो हो ?

मलाई यसबारे कुनै चिन्ता छैन। पार्टी एकता हुन्छ र यसमा मेरो पद गुम्ला कि भन्ने डर छैन किनकि मलाई पदको लोभ छैन। मलाई स्पष्ट थाहा छ– पार्टी नेताहरुको लोभका कारण हामीजस्ता मान्छेहरुले सजायँ भोग्नु पर्ने पनि हुनसक्छ। इतिहासमा यस्ता घटना हामीले धेरै देखेका छौँ। त्यसमा पनि म तयार नै छु।

तर, पनि म पार्टी एकताको पक्षमा पुरा लाग्नेछु। किनकि यो एकताले नेपालमा एउटा मात्र कम्युनिष्ट पार्टी बनाउने छ। नेपाली जनताको लागि यो सबैभन्दा खुसीको क्षण हुनेछ, हो। जनता खुसी हुँदा हामी त्यहाँबाट रमाउन सक्नुपर्छ।

पार्टी एकता संयोजन समिति, ओली कमरेड र प्रचण्ड कमरेडले पार्टी एकतामा जाँदा पदको विभाजनका लागि योग्याता र मापदण्डको आधारमा जिम्मेवारी तोक्नुहुन्छ या भागवण्डामा जानुहुन्छ, त्यो उहाँहरुको विवकेको कुरा हो। तर, म विश्वस्त छु, यो पार्टी एकतालाई दिगो बनाउन, यसको जग बलियो बनाउन, पार्टीमा प्रणालीहरु स्थापित गर्न उहाँहरु सक्षम हुनुहुनेछ।

हो, अझै पनि तपाईं नेतृत्व हस्तान्तरणको कुरा गर्नुहुन्छ। तर, विश्वभरको पछिल्लो ट्रेन्ड हेर्ने हो भने कम्युनिष्ट नेताहरु ‘पावर’ हस्तान्तरण गर्ने पक्षमा देखिँदैनन्। अब हेर्नुस्, रुसमा पुटिनकै दबदबा छ। हिजोमात्रै चीनमा सी जिङपिङलाई फेरि अर्को कार्यकाल सत्ताको नेतृत्व दिन विधान संशोधन हुने कुरा आएको छ। नेपालमा चाहिँ नेतृत्व हस्तान्तरण होला र जहाँ दुई पार्टी मिल्न सैद्धान्तिक आधारमै यत्रो बखेडा निस्किरहेको छ?
यो एकदम सही कुरा हो। मूलतः हामी माक्र्सवादलाई मार्गदर्शक सिद्धान्त मान्छौँ। माक्र्सवादको प्रयोग आआफ्नो देशको परिस्थिति अनुकुल दुनियाँका कम्युनिष्टहरुले गरिरहेका छन्। हामी जनताको बहुदलीय जनवादमा पनि माक्र्सवादको सैद्धान्तिक प्रयोगकै सिलसिलामा पुगेका हौँ।

सिद्धान्तको निरुपण गर्ने सन्दर्भमा, संगठनहरु व्यावस्थापन गर्ने सन्दर्भमा, नेतृत्वको हस्तान्तरण गर्ने कुरामा विश्वका कम्युनिष्टका आआफ्नै अनुभव छन्। रुसमा पुटिनको, चीनमा सीको लोकप्रियताले उनीहरु नेतृत्वमा दोहोरिइरहेका छन्। उता, उत्तर कोरियाजस्ता मुलुकमा वंशानुगत रुपमा पनि कम्युनिष्ट नेतृत्व नै हस्तान्तरण भएको छ।

यता, हाम्रो देशमा अचम्मको अभ्यास भएको छ। माधव नेपाल, झलनाथ खनाल, केपी ओली पार्टीका फस्र्ट म्यान पनि हुनुभएको छ र अहिले पनि एउटै पार्टीमा हुनुहुन्छ। विश्वमा यस्तो असम्भव प्रायः हुन्छ।

कतिपय देशमा नेतृत्वको हस्तान्तरण सहज नहुँदा पार्टी फुटेका पनि छन्। अब माओवादीसँग एकता भएपछि यही एउटा पार्टीमा कुनै समय पार्टी नै हाँकेका नेता नै झन्डै आधा दर्जन हुनेछन्। तर, यो आजको अवस्था मात्र होइन। हिजो सिपी मैनाली, झलनाथ खनाललगायतको नेतृत्वको विषयमा पनि यस्तो भयो।

हेर्नुस् न, २०४६ सालको महाधिवेशनमा झलनाथ खनालले लेखेको प्रतिवेदन पास भयो तर, महासचिव मदन भण्डारी हुनुभयो। कम्युनिष्ट पार्टीकै कुरा गर्ने हो भने त प्रतिवेदन पास जसको भएको छ, ऊ नै महासचिव हुनु पर्ने थियो। २०४९ मा भण्डारीले विचारमा बहस चलाउनु भयो, भोटिङको अधारमा जबज पास भयो।

यसअगाडि पनि हामीले महाधिवेशनमा जीत-हार सामना गर्दै आएका छौँ, नेताहरुले त्यो सामना गर्नु भएको छ। तर पनि पार्टी एक भएर अगाडि बढेको छ। त्यसैले, अब दुई पार्टी एक भएपछि यसको निरन्तरता हुनसक्छ। हो, अहिलेको केही समय यी दुई पार्टी एक हुँदा हामीले गर्दै आएको प्रक्रिया केही समय रोकिन सक्छ, त्यसलाई हामी संक्रमणकालिन अवस्था भन्ने छौँ।

सम्भवत आउने महाधिवेशनमा हामी नेतृत्वको चयन गर्छौ। प्रजातन्त्र ओठेभक्ति मात्रै होईन् यो त प्रक्रिया हो। जसलाई हामीले स्विकार गरेर अगाडि बढ्नु पर्छ।

यो एकता प्रक्रियाबाट असन्तुष्ट हुँदै माओवादी केन्द्र त्याग गरेका र केही दिनअघि मात्र माओवादी केन्द्रले निष्कासन ग¥यौँ भनेका नेता आहुतिसँग केही दिनअघि मैले कुराकानी गरेको थिएँ। उहाँले आरोप लगाउनुभयो– यो माओवादी र एमाले मिलेर बन्ने पार्टी कम्युनिष्ट हुँदैन, होइन। उहाँको अर्को खण्डन थियो– यो देशमा यी पार्टीले केही गर्दैनन्।
म उहाँहरुका कुरालाई स्वागत गर्छु। २०५२ साल देखि माओवादीसँग हाम्रो वहस यही थियो, अबको कम्युनिष्ट आन्दोलन के र कस्तो? आज हामी खुसिका साथ भन्छौ हामी दुई पार्टी एउटा निष्कर्षमा पुगेका छौँ– नेपालको प्रगतिशिल रुपान्तरण शान्तिपूर्ण मार्गबाट हुन्छ। जसलाई मदन भण्डारीले जनताको बहुदलीय जनवाद भनिसक्नु भएको छ। हो, जबजका पनि एन्टिथेसिस थिए, छन्। केही नेताहरु त्यही एन्टी थेसिस बोक्नतिर लाग्नु भएको छ।

म यतिमात्रै भन्न चाहन्छु– सन् १९६० देखि ८० को दशकसम्म दुनियाँका कम्युनिष्ट क्रान्तिहरु हिंसाको बाटोबाट कतै पनि सफल भएनन्। माओवादी सशस्त्र आन्दोलन गर्दै हिंसात्मक बाटोबाट मात्रै गएको भए यसको विघटन हुन्थ्यो। हतियार व्यवस्थापन र सेना समायोजन गर्दै खुल्ला प्रतिस्पर्धात्मक राजनीतिमा उहाँहरु आउनुभयो जसका कारण हामी उहाँहरुले निर्माण गर्नुभएको ठूलो क्रान्ति जोगाउन सफल भएका छौँ।

यो एमाले र माओवादीको एकतासँगै हामी जुन सैद्धान्तिक योजना बनाएर जान्छौँ, त्यसविरुद्ध पनि केही बौद्धिक समुदाय रहिरहन्छ। त्यो समुदायसँग पनि हामी वैचारिक र राजनीतिक छलफल गर्छौं। यो एकता प्रक्रियामा सामेल हुन नसकेको समूह वा व्यक्तिलाई पनि कुनै कालखण्डमा हामी यो एकीकृत पार्टिमा समाहित गर्न सक्छौ भन्ने विश्वास छ।

अहिले मानिसहरुमा एउटा विश्वास पलाएको छ– अब देशमा राजनीतिक स्थिरता हुन्छ। अर्कोतिर आर्थिक विकासका विषयमा बहस पनि हुन थालेको छ। तर, हामीकहाँ न कलकारखानाका लागि कुनै काम भएका छन् न कुनै उद्योगका लागि योजना बनिरहेका छन्। ट्रेडिङमा मात्र व्यावसायी लागिरहेको यो सन्दर्भमा तपाईंहरुले निर्वाचन घोषणापत्रमा उल्लेख गरेजस्तो ५ वर्षमा विकास सम्भव होला र?
हाम्रो सरकारको सबैभन्दा ठूलो चुनौती भनेको पनि यही हो। दुईचार ओटा कुरा सुधारेर मात्रै हामी परीक्षामा पास हुने वाला छैनौं। मुलुकको अर्थतन्त्रलाई कुन दिशामा लग्ने भन्ने नै हाम्रो चुनौति हो। राष्ट्रिय अर्थतन्त्र कमजोर बन्दै जाने तर ‘दलाल पुँजी’ बलियो बन्ने हो भने हामी कमजोर हुन्छौं।

अब हामीले सार्वजनीक पुँजीलाई बलियो बनाउने र निजी पुँजीलाई विश्वासमा लिने र वैदेशिक पुँजीलाई ल्याउने दिशामा जान्छौं। प्रदेश सरकारले पनि योजना बनाउँछन् र केन्द्र सरकारले पनि योजना बनाउँछ। हामी जेनरेट भएको पुँजीलाई औद्योगिक पुँजी बनाउने तर्फ केन्द्रित हुने छौँ। सँगसँगै निजी पुँजीलाई पनि निर्वाध ढंगले काम गर्ने वातावरण बनाउँछौ। सहकारी, निजी र राजकीय सार्वजनीक पुँजीलाई आत्मनिर्भर बनाउँछौ।

यी र तपाईंहरुले घोषणापत्रमा गर्नुभएका दाबीको काम भइरहेको छ भन्ने थाहा पाउन र परिवर्तन महसुस गर्न जनताले कतिसमय कुर्नुपर्ला?
अब केही दिनभित्रै प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्नुहुन्छ। त्यो सम्बोधनमा तत्काल गर्ने केही सुधारका कामहरु, दीर्घकालीन र मध्यकालीन कार्यहरुको सुची प्रस्तुत हुने छ।

यो सरकार मनमोहन अधिकारी सरकारकै निरन्तरता हो। अधिकारीको नेतृत्वमा हाम्रो पार्टीको पहिलो प्राथमिकता सामाजिक सुरक्षा थियो। त्यसपछि माधव नेपालको नेतृत्वमा कम्युनिष्ट सरकार बन्यो, हामीले मध्य–पहाडी लोकमार्ग, माथिल्लो तामाकोसी जस्ता योजना ल्यायौँ। यसको अर्थ के हो भने कम्युनिष्ट सरकारले ठूला परियोजनामा काम सुरु गर्छ र रोजगारी सिर्जना गर्छ। यसअघि केपी कमरेड प्रधानमन्त्री हुँदा पनि त्यही निरन्तरता थियो, उहाँले उत्तर–दक्षिण नाका खोल्न मात्र होइन, दर्जनौँ ठूला परियोजनामा काम गर्नुभयो।

यो सरकारले सुरुवातमा नै लोक–कल्याणकारी क्षेत्रमा केही विशेष घोषणा गर्ने छ। वृद्ध, फरक क्षमता भएका व्यक्ति, बालबालिका, जनजाति, दलित तथा महिलाका लागि केही योजनाहरु आउनेछन्। केही ठूला आयोजनाको घोषणा गर्ने तयारी पनि भइरहेको छ। यो ५ बर्ष हामी पूर्वाधारमा लगानी गर्ने र जनातमा सरकार प्रति विश्वास पैदा गर्ने कार्यमा जोड दिने छौँ।

तर, उता अझै पनि आलोपालो सरकार भन्ने कुरामा जुनसुकै समय किचलो हुनसक्ने देखिन्छ। अर्कोतिर, मन्त्रीका आकांक्षी धेरै भएकाले हुनुपर्छ, अझै मन्त्रिपरिषद् विस्तार हुन सकेन। सुरुमै यस्ता समस्या देख्दादेख्दै कार्यकर्ताले कसरी विश्वास गर्ने, जनताले कसरी पत्याउने?
यो कार्यकर्तासँग सम्बन्धित विषय होइन। हामीले मन्त्री छान्ने जिम्मा प्रधानमन्त्रीलाई दिईसकेपछि यो विषय नेतृत्व तहको विषय हो। सरकारको योजनामा मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइले कुनै असर गर्दैन। हामी जेठ १५ गते नयाँ बजेट सार्वजनिक गर्छौ, त्यो भन्दा अगाडि नीति तथा कार्यक्रम सार्वजनिक गर्छौ। यसमा हामी विश्वस्त छौँ।

यो कम्युनिष्ट पार्टीको पाँच वर्षे सरकार हो। हेर्नुहोस्, क्रान्ति कहिलेकांही माथिबाट पनि हुन्छ। तलबाट भएको क्रान्तिलाई सामाजिक, माथिबाट भएकोलाई राजनीतिक क्रान्ति भन्छौँ। हाम्रो यो एकता पनि राजनीतिक क्रान्ति हो। यो क्रान्ति माथिबाट तल प्रसारित हुने क्रान्ति हो, त्यसकारण यस्ता प्रश्न स्वाभाविक हुन्। नेतृत्वमा बस्ने मान्छेको दायित्व भनेको अब हामीबिच भएका असमझदारी कम गर्नु हो।

हो, पार्टी एकता भौतिक हिसाबले भईसक्दा पनि मनोवैज्ञानिक हिसाबले नहुन सक्छ, यसका प्रभाव दीर्घकालीन रुपमा देखिन सक्छ। तर, सबै कुरा समयअनुसार मिल्दै जान्छ। यो पार्टी एकता केपी ओली र प्रचण्डको लागि मात्रै होईन, यो हाम्रो लागि हो, नयाँ पुस्ताका लागि हो।

म खुलेर भन्छु– यो एकता हुँदा मेरो सचिव पद जान सक्छ, म मन्त्री नहुन सक्छु भन्ने ज्ञान हुँदाहुँदै पनि म यो एकताको अग्रपंक्तिमा देखिने छु। किनकि नेपालका लागि अबको सही बाटो भनेको नै यही हो।

 

 

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार