खतिवडाले ‘महतोनोमिक्स’माथि च्यालेन्ज गर्लान् ?

फरक धार

१९ फागुन २०७४, शनिबार

आठौं पञ्चवर्षीय योजनामार्फत् डा रामशरण महतले अघि सारेका कतिपय वित्तीय नीति अर्थात् ‘महतोनोमिक्स’का प्रखर आलोचक हुन् खतिवडा । डा महतले त्यसबेला औद्योगिक प्रतिष्ठानहरु राज्यले सञ्चालन गर्दा निजी क्षेत्रमाथि विभेद हुन्छ र त्यसले निजी क्षेत्रको विकास हुन सक्दैन भनेर निजीकरणलाई व्यापक बनाएका थिए । उनले ठूला उद्योग र बृहत लगानीलाई प्राथमिकता दिए । डा खतिवडा त्यसलाई ‘भूल’ मान्छन् ।

संघीयताको कार्यान्वयनबाट स्रोत व्यवस्थापनमाथि निकै ठूलो दबाब परिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र बैंकका पुर्व गभर्नर डा युवराज खतिवडालाई अर्थ मन्त्रालय सुम्पेका छन् । उनी दुई पटकसम्म राष्ट्रिय योजना आयोगको उपाध्यक्ष समेत भइसकेका छन् ।

राजनीतिक ‘ब्याकप’ निकै ठूलो नभए पनि विषयगत ज्ञान र उँचो व्यक्तीत्वका कारण पार्टीका ठूला नेतालाई पञ्छाएर अर्थतन्त्रको व्यवस्थापक बन्ने अवसर उनले पाएका छन् । २६ वर्षअघि मौद्रिक अर्थशास्त्रमा विद्यावारिधि गरेका खतिवडा नेपालका अब्बल अर्थशास्त्री हुन् ।

साना तथा मझौला उद्यम (एसएमइ)हरुको विकासमार्फत अर्थतन्त्र उकास्नुपर्छ भन्ने मान्यता उनको छ । पछिल्लो समय विकसित राष्ट्रहरुले पनि साना तथा मझौला उद्यामको प्रबद्र्धनमा लगानी गर्न थालेका छन् । खासगरी चीनले परम्परागत प्रविधीलाई आधुनिकीकरण गरेर मझौला उद्यमको विकास गर्न धेरै काम गरेको छ भने धनि राष्ट्रहरुको समूह ओइसीडीमा पनि ७० प्रतिशत रोजगारी साना तथा मझौला उद्यमबाट प्राप्त भएरहेको तथ्यांक हालैमात्र सार्वजनिक भएको छ । खतिवडा पहिलेदेखि नै त्यही लाइनमा थिए । बृहत्तर परियोजना सञ्चालन गरेर अर्थतन्त्रलाई दोहोरो अंकमा विस्तार गरेपछि धनि भइन्छ भन्ने ट्रिकलडाउन थ्योरीको उनी पहिलेदेखि नै विपक्षमा उभिँदै आएका छन् ।

यसअघि आठौं पञ्चवर्षीय योजनामार्फत् डा रामशरण महतले अघि सारेका कतिपय वित्तीय नीति अर्थात् ‘महतोनोमिक्स’का प्रखर आलोचक हुन् खतिवडा । डा. महतले त्यसबेला औद्योगिक प्रतिष्ठानहरु राज्यले सञ्चालन गर्दा निजी क्षेत्रमाथि विभेद हुन्छ र त्यसले निजी क्षेत्रको विकास हुन सक्दैन भनेर निजीकरणलाई व्यापक बनाएका थिए । उनले ठूला उद्योग र बृहत लगानीलाई प्राथमिकता दिए । डा. खतिवडा त्यसलाई ‘भूल’ मान्छन् ।

‘ठूला परियोजनामार्फत् तीव्र आर्थिक विकास गर्दैमा सबै मानिसले समान अवसर पाउँछन्, समान लाभ पाउँछन् र यसले समतामूलक विकास हुन्छ भनेर सोच्नु नै भूल थियो,’ झन्डै दुई वर्षअघि एक अन्तर्वार्ताका क्रममा खतिवडाले भनेका थिए । जसरी उनले महतको आलोचना गरिरहेका छन्, त्यसरी नै वैकल्पिक नीति अनुसरण गर्लान् वा त्यही बाटोमा हिँड्लान् ? त्यो हेर्न बाँकी छ । तर समानुपातिक विकासमा जोड दिन उनले केही प्रयासहरु यसअघि नै गरिसकेका छन् ।

राष्ट्र बैंकमा हुँदा उनले लघुवित्त कम्पनीहरुको प्रबद्र्धनमा उल्लेखनीय काम गरेका थिए । ‘सबै मानिसहरुमा वित्तीय स्रोतमाथिको पहूँच पुर्याउन नसकेसम्म आर्थिक वृद्धि सम्भव छैन,’ उनी त्यसबेला पनि भन्थे । बैंकहरुलाई काठमाडौं उपत्यका बाहिरका नगरोन्मुख इलाकामा पठाउन उनले निकै ठूलो प्रयास गरे ।

विगतमा वित्तीय प्रणालीको अराजकता हटाएर अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन थुप्रै काम गरेका खतिवडा केन्द्रिय बैंकका प्रभावशाली र सफल गभर्नरहरुको छोटो सूचीमा समेटिन्छन् । तर अब उनको चुनौती त्यतिमात्र छैन ।

एकातिर उत्पादन क्षेत्र निकै नराम्रोसँग खस्केको र मुलुकको उपभोग सम्पूर्णतया आयातमा निर्भर हुृने दिशामा छ । भएका स्रोतहरुको दिगो दोहन हुन सकेको छैन । दोहन हुनुपर्ने क्षेत्रलाई कानुनले बन्देज गरेको छ । जोगाउनुपर्ने कतिपय क्षेत्रमा तीव्र दोहन भएको छ ।

संघीयताको कार्यान्वयनले त झन् केही वर्षसम्म चालु खाता धान्न पनि विदेशी सहायता लिनुपर्ने अवस्था छ । स्रोतको समुचित बाँडफाँटमा चनाखो हुनुपर्ने छ । पूर्वाधारमा ज्यादै ठूलो लगानी गर्नुपर्ने र वित्तीय अनुशासनको पालन गराउनुपर्ने चुनौती उनको काँधमा आएको छ । एकातिर सरकारी खर्च जुटाउनुपर्ने त, अर्कोतिर खर्च गर्ने क्षमता बढाउनु पर्ने दुवै काममा उनले टाउको दुखाउनु पर्नेछ ।

मूलभूत कुरा त बढ्दो आय असमानतालाई घटाउन उनले प्रयास गर्नुपर्ने हुन्छ । डा खतिवडा आय असमानताको विषयलाई अहिलेदेखि नै नीतिगत रुपमा सम्बोधन नगरिए भयाबह अवस्था सिर्जना हुने तर्क गर्छन् । यसका लागि सार्वजनिक सेवाको भ्रष्ट कार्यशैलीले उनलाई खुलेर सहयोग गर्ला या नगर्ला हेर्न बाँकी छ ।

केन्द्रीय बैंकमा रहँदा मूल्य नियन्त्रण गर्न नसकिएको तितो अनुभव बोकेर अर्थ मन्त्रालय छिर्दै गर्दा पक्कै पनि उनको दिमागमा मूल्यवृद्धिलाई नियन्त्रण गर्ने उपायहरुको खोजी भइरहेकै होला ।

हालको वित्तीय प्रणालीमा देखिएको ब्याजदर उतारचढावलाई सरकारी तहबाट नै नियन्त्रणको प्रयास नगरिए आफ्नो भावी वित्त नीतिको प्रभावकारितामा आउनसक्ने व्यवधानहरुबारे सम्भवतः उनी चनाखा नै छन् । यसले वित्तीय बजार र स्वयम् राष्ट्र बैंक पनि आउँदा दिनमा खतिवडाको ‘डोमिनेसन’मा पर्न सक्छ ।

आन्तरिक रोजगारी सिर्जना गर्ने, कृषिजस्ता सम्भावित क्षेत्रमा ब्यापक लगानी र सहायता परिचालन गर्ने जस्ता कुरामा उनले काम काम गर्नुपर्ने छ । सुझबुझपूर्ण ढंगले निर्णय लिन उनी सक्षम छन् । राष्ट्र बैंकमा गर्भनरका रुपमा पाइला टेक्नासाथ उनले स्वागत गर्न पुगेका बैंकरहरुलाई भनेका थिए, ‘तपार्इंहरू समस्या पर्यो भने भन्न आउनुस्, सुझाव दिन नआउनुस् । के गर्नुपर्छ भन्ने कुरा तपाइँहरुले भन्दा मैले बढी जानेको छु ।’

उनलाई अर्थमन्त्रीका रुपमा पाएपछि सामाजिक सञ्जालमार्फत् धेरैले सकारात्मक आशा पोखेका छन् । यो विश्वासलाई जोगाइराख्न उनले कस्तो नीति अपनाउने हुन्, हेर्न बाँकी छ । जे होस्, लामो समयपछि अर्थशास्त्र बुझेका व्यक्ति मुलुकको अर्थतन्त्र सम्हाल्न आएका छन् । यो स्वागतयोग्य कुरा हो ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार