ब्लग: सांगीतिक दुनियाँको यात्रा अन्त्यतिर

सन्तोष लामा

१९ फागुन २०७४, शनिबार

भर्जुअल दुनियाँको प्राप्तिमात्र प्राप्ति होइन, हल्लाका लागि र केही क्षणका लागि नाङ्गिनेले भोलि ऐनामा आफूलाई हेर्न सक्नु पर्ने हुन्छ । जुन समय हामी आफूलाई ऐनामा पनि हेर्न नसक्ने गरि प्रदर्शित हुन्छौँ, त्यो समय हाम्रो यात्राको एउटा अन्त्य हो ।

मलाई पहिले मेरो नामको अगाडि के परिचय जोडिएला भन्ने थाहा थिएन । धादिङमा बाल्यकाल र स्कुले जीवन बिताइरहँदा मलाई यो कुराको आभास पनि भएन ।

तर, बाटोमा हिँड्दा होस् या स्कुलका कार्यक्रमहरुमा नै किन नहोस्, म सुसेली हाल्दै हिँडिरहेँ । आखिर समयले मेरो नामको अगाडि जोडिदियो– गायक ।

हो, गायन तथा संगीतलाई म सानैदेखि अगाध स्नेह गरिरहन्थेँ । समयले विस्तारै मलाई धकेलेर मेरो पेशा नै गायन बनाइदियो । त्यसैले मैले अर्को क्षेत्रमा खुट्टा हाल्दै हालिनँ, यसलाई मेरो सम्पूर्ण संसार बनाएँ ।

यो संसारमा अहिले म विगत फर्किएर बारम्बार हेर्छु । र, पुग्छु ती दिनमा जहिले क्यासेट सुनेर होस् या रेडियो, स्वर तन्काएर म ती गीतहरु कक्षाका बेन्च ठोकेर म बजाउँथे । अन्ततः यही कुराले मेरो जीवनमा रंग भरिदियो, त्यही बानीले मेरो यो जीवनलाई रस भरिदियो ।

त्यो समय यस्तो थियो, मकहाँ पत्रपत्रिका कहिलेकांही आउँथे । अचम्मको कुरा के भने मेरो आँखा सोझै पत्रिकामा छापिएका गायकगायकहरुको तस्वीरमा पुगेर अडिन्थ्यो, गायनसँग सम्बन्धित समाचार म पढ्न थाल्थेँ । अनकन्सस माइन्डको कमाल हुनुपर्छ, म आफ्नो तस्वीर पनि त्यसैगरि छापिएको अनुभूत गर्थेँ, कल्पना गर्थेँ ।

र, अनेक घुम्ति पार गर्दै आखिर त्यही ठाउँमा आइपुगेँ म पनि ।

तर, लामो समय चर्चाको भोकले मलाई गाँज्न पाएन । चर्चाभन्दा गुणात्मकता ठूलो विषय हो, मेरो मनमा यो वाक्य खेल्न थालेको लामो समय भइसकेको छ । यही वाक्यलाई म आफ्नो गुरुमन्त्र पनि बनाइरहेको छु । त्यसैले पनि झ्याप्पै ठूला फोटाहरुमा म नदेखिन सक्छु, फेसबुक वा अन्य सामाजिक सन्जालमा म यी सबै कुरा लेखेर बसिनरहन सक्छु । तर, यसले मेरो मनको भित्री कुनामा निकै ठूलो स्पेस बनाएको छ ।

त्यो स्पेसको महत्वपूर्ण हिस्सा ओगटेको छ, गाउँले जीवन, परिवार र स्कुले साथीभाइ र शिक्षकशिक्षिकाको मायाले । हिजो स्कुलमा गाउँदा मेरा गुरुबा/आमाहरुले फुर्काउनकै लागि ‘राम्रो छ’ नभनिदिएको भए आज यो अवस्थामा म आइपुग्ने थिइनँ । यसरी ब्लग लेख्ने थिइनँ । मानिसको जीवनमा सबैभन्दा ठूलो कुरा भनेको हौसला रहेछ, गर्न सक्छस् भनेर साथीभाइ र परिवारले भनिदिँदा आँट निकै बढ्दो रहेछ ।
मैले पनि जीवनमा फड्को मारेको त्यही विषयले हो, त्यही परिवार र साथीभाइले भरिदिएको आत्मविश्वासले हो ।

तर, यहाँसम्म आइपुग्दाको संघर्ष सोचिएको जस्तो सामन्य पनि छैन । मैले जीवनमा जे सोचेको थिएँ, त्यो भएन, जे सोचेको थिइनँ, त्यो भयो । हो, अहिले मेरा समकालिन गायक/गायिकाकोभन्दा मेरो यो आरोहण अलिक सहज भयो होला । तर, यहाँ भित्रका मेरा पीडा मैले आफैंले बुझेको छु, आफैंले थाहा पाएको छु । हिजो, एउटा यस्तो समय पनि आयो, मैले एउटा बिन्दुलाई शिखर सोचेँ ।

तर, त्यो शिखर भ्रम रहेछ ।

त्यो शिखर त एउटा मृगतृष्णा रहेछ । त्यो शिखरको स्थापना मेरालागि मैले पाएको चर्चा थियो । मैले जुन चर्चा पाएको थिएँ– त्यसले मलाई दिग्भ्रमित पारिदिएको थियो । लागेको थियो– अब मेरो दुनियाँ बदलियो, मेरो सारा संसार बदलियो । तर, ती सब भ्रमहरु चिरिन एक मिनिसेकेन्ड पनि लागेन ।

हो, मिनिसेकेन्ड । किनकि यो जीवनको यात्रा र समय इन्फिनिटी हो, मनमा भएको त्यो भ्रम एउटा सानो समयमा आएको झिल्को मात्र हो । यो कुनै संगीतको सुर र तालजस्तो डिफाइन भएको छैन ।

यो एक दशक मेरालागि दुवै तीता–मीठा सम्झनाहरुको संग्रह भएको छ । तथ्यांकमा हेर्ने हो भने पनि मैले झन्डै ३ सय हाराहारीमा गीत रेकर्ड गरेको छु, ३ एकल एल्बम बजारमा आएका छन् । तीन दर्जनभन्दा धेरै फिल्ममा पाश्र्वगायनमा पनि मैले समय दिएँ । तर, आखिर यी सबले मलाई के दिए त ?

समयसमयमा पाएका अवार्ड र तक्मामात्र होइन, जीवनको सार । जीवनको सार त यो सब हुँदा के भयो र समाजलाई मैले के दिएँ भन्ने प्रश्नको जवाफले निर्धारण गर्दो रहेछ ।

हो, मलाई समयले ल्याइदिएको र म आफूले रोजेको यो पेसाले मलाई अहिले विगतमा फर्किएर सोच्न बाध्य बनाएको छ । कोही एक व्यक्तिले एक दशकसम्म एउटै पेशामा समय दिने हो भने उसको दक्षताले उसलाई अन्य आयामबाट पनि समृद्ध बनाउँछ । तर, नेपालको सन्दर्भमा के त्यस्तो कुनै कलाकार भेट्नु भएको छ जसले यही क्षेत्रबाट मात्र समृद्धिको शिखर यात्रा तय गर्न सकेको छ ? हो, भने मेरालागि त्यो अपवाद हो ।

मलाई लाग्छ, कला मेहनतमात्र होइन, ईश्वरीय वरदान पनि हो । तर, यसलाई हामी कतिले बुझ्न खोजेका छौँ त ? पछिल्ला वर्षलाई हेर्ने हो भने विज्ञानको चमत्कारले र प्रविधिको विकासले यसलाई नजरअन्दाज गर्न खोजिएको भान हुन पनि सक्छ । अनि प्रश्न उठ्न सक्छ– आखिर किन चाहिन्छ एउटा कलाकार ?

यो प्रश्न झन् टड्कारो किन भएको छ भने पछिल्लो समय ‘पैसा हुनेको सबथोक, नहुनेको केही न केही’ जसरी समाजलाई गलत बाटोमा गाइड गर्ने प्रपन्चहरु बनेका छन् ।

अनि यसले यही क्षेत्रमा मात्र ध्यान दिने मलगायत अन्य थुप्रैलाई प्रश्न उब्जाइदिएको छ– के हामीले गरिरहेको काम गलत हो त ?

हो, म निर्धक्क भन्न सक्छु– म गलत काममा छैन, मैले गलत काम गरिरहेको छैन । यो वास्तविकता हुँदाहुँदै पनि मैले अर्को कन्फेसन गर्नै पर्ने हुन्छ– गायनमा पनि पछिल्लो समय निकै नराम्रो समय सुरु भएको छ, पैसाको आडमा वास्तविकतामाथि धावा बोल्न थालिँदैछ । र, यो क्षेत्र विस्तारै नराम्रो हुँदै गएको छ । मानिसहरु असमन्जसमा पर्न थालेका छन् ।

तर, के होइन भने अहिले जसरी आडम्बर देखाइएको छ, त्यो लामो समय रहन्छ । जुन कुरा क्षणभरमै बाहिर ‘हिट’ हुन्छ, त्यसको आयु पनि कमजोर हुन्छ । त्यो कुरा पनि लामो समय एकै ठाउँमा रहिरहँदैन । भर्जुअल दुनियाँको प्राप्तिमात्र प्राप्ति होइन, हल्लाका लागि र केही क्षणका लागि नाङ्गिनेले भोलि ऐनामा आफूलाई हेर्न सक्नु पर्ने हुन्छ । जुन समय हामी आफूलाई ऐनामा पनि हेर्न नसक्ने गरि प्रदर्शित हुन्छौँ, त्यो समय हाम्रो यात्राको एउटा अन्त्य हो । अहिले सामाजिक सन्जालमा र बाहिर पनि प्रतिस्पर्धा गर्ने होडबाजीमा लाग्नु भनेको अन्त्यतिरको यात्रा तय गर्नु हो ।

आफ्नो, समाज र आफ्नो करिअरको यात्रा नै अन्त्य गर्ने यो दौडमा हामी लाग्नुको कुनै अर्थ छैन ।

(नेपाली तारा दोस्रो श्रृङ्खलाका विजेता गायक लामाको ब्लग साप्ताहिक रुपमा फरक धारमा प्रकाशन हुने छ ।)

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार