झांगिँदै अनौपचारिक अर्थतन्त्रको जालो

नरबहादुर थापा

२४ साउन २०७५, बिहीबार

नेपालमा सुनचाँदीको कारोबार, सेयर बजार, घरजग्गाको कारोबार, भ्रष्टाचार र रेमिट्यान्सको कारोबारमा हुने हुण्डि प्रणालीले अनौपचारिक अर्थतन्त्रको विस्तारलाई सहयोग गरिरहेको छ । भन्सार विन्दुमा हुने न्यून वा अधिकबिजकीकरणजस्ता कारणले यसमा मद्दत पुगेको छ ।

नेपालमा अनौपचारिक अर्थतन्त्रको विस्तार द्रुत गतिमा भएको छ । नेपाल राष्ट्र बैंककाे अनुसन्धानले कुल गार्हस्थ उत्पादनकाे ३५ प्रतिशतकाे हाराहारीमा अनाैपचारिक अर्थतन्त्र रहेकाे हुनसक्ने देखाएकाे छ । भारतीय रिजर्भ बैंकले गरेकाे त्यस्तै अध्ययनमा नेपालमा जीडीपीकाे ४० प्रतिशतकाे हाराहारीमा छायाँ अर्थतन्त्र रहेकाे अनुमान गरेकाे छ । याे दर कहिले घट्ने र कहिले बढ्ने भइरहन्छ ।

यसरी छायाँ अर्थतन्त्रको विस्तार हुनुमा केही कारणहरु छन् । अर्थतन्त्रको प्रकृतिअनुसार अनौपचारिक अर्थतन्त्रको निर्माण पनि भिन्नभिन्न हुन्छ । कतिपय अर्थतन्त्रमा हतियारको ब्यापार र कतिपयमा लागू औषध कारोबारका कारण पनि अनौपचारिक अर्थतन्त्रको विस्तार हुन्छ । तर नेपालमा त्यसभन्दा केही भिन्न कारण छन् । तथापि, संसारका अरु थुप्रै अर्थतन्त्रका समस्यासँग हाम्रा समस्या वा अनौपचारिक अर्थतन्त्रका कारणहरु मेल खान्छन् ।

नेपालमा सुनचाँदीको कारोबार, सेयर बजार, घरजग्गाको कारोबार, भ्रष्टाचार र रेमिट्यान्सको कारोबारमा हुने हुण्डि प्रणालीले अनौपचारिक अर्थतन्त्रको विस्तारलाई सहयोग गरिरहेको छ । भन्सार विन्दुमा हुने न्यून वा अधिकबिजकीकरणजस्ता कारणले यसमा मद्दत पुगेको छ । अनौपचारिक अर्थतन्त्र सधैंभरी एउटै आकारमा स्थिर हुँदैन । यो कुनैबेला ह्वात्तै बढ्छ त कुनै बेला त्यसरी नै खुम्चिन्छ । त्यसकारण यस्तो छायाँ अर्थतन्त्रको स्थायी आकार कति हो भन्ने यकिन गर्न सकिन्न ।

नेपालमा भ्रष्टाचारमा ठूलो सुधार आएको देखिँदैन । सार्वजनिक सेवा र परामर्श सेवामा ब्यापक भ्रष्टाचार व्याप्त छ । विकास आयोजनाहरुको कार्यान्वयनदेखि सार्वजनिक खरीदका घटनामा समेत थुप्रै भ्रण्टाचार भएका खबरहरु आइरहेका छन् । राजनीतिक नियुक्ती र नीतिगत संरक्षणका लागि समेत भ्रष्टाचार भएको समाचारहरु पढ्न पाइन्छ । ट्रान्सपरेन्सी इण्टरनेशनल लगायत भ्रष्टाचारबारे ‘वाच डग’को भूमिका निर्वाह गर्ने संस्थाहरुको प्रतिवेदनले पनि नेपालमा भ्रष्टाचार कम हुने संकेत दिन सकेका छैनन् । यसरी भ्रष्टाचारबाट आर्जित सम्पत्तीमा कर तिरिएको हुँदैन । यसको स्रोत पनि देखिँदैन । यो अनौपचारिक अर्थतन्त्रको एक हिस्सा हो ।

भन्सार विन्दुमा पनि ठूलो सुधार हुन सकेको छैन । यसका लागि प्रयासहरु भने भइरहेका छन् । सन्दर्भ मूल्य सूचीअनुसार कर दाबी गर्ने एउटा सुधारको उपाय हो । यसबाहेक पनि थुप्रै काम गर्नुपर्ने आवस्यकता छ । भन्सार विन्दुमा हुने न्यूनबिजकीकरण र अधिकबिजकीकरणजस्ता घटनाबाट अनौपचारिक अर्थतन्त्र बढाउन सहयोग पुग्छ । घरजग्गा कारोबारले पनि अनौपचारिक अर्थतन्त्रलाई बढावा दिएको छ । बैंकबाट ऋण लिएर सस्तोमा जग्गा किन्ने, महँगोमा बिक्री गर्ने र त्यो पैसा अनौपचारिक तवरले परिचालन गर्ने क्रम बढेको छ ।

सुनचाँदीको कारोबारले पनि अनौपचारिक अर्थतन्त्रलाई बढाएको छ । विभिन्न मुलुकबाट अवैध सुन आयात हुने र त्यो सुन भारतीय बजारमा बिक्री गरेर कमाएको पैसा अनौपचारिक अर्थतन्त्रमा फैलाउने गरिएको छ । यसले हाम्रो विदेशी विनिमय सञ्चितिमाथि पनि बेलाबेला समस्या सृजना गर्दै आएको छ । सेयर बजारजस्ता सट्टेबाजिका मैदानबाट पनि अनौपचारिक अर्थतन्त्रको विस्तारमा योगदान पुगिरहेको हुन्छ ।

हुण्डिमार्फत आउने रेमिट्यान्सले पनि अनौपचारिक अर्थतन्त्रलाई बढाउन सघाएको छ । पछिल्लो समय त नेपालबाट बाहिरिनेहरुको ठूलो संख्या विकसित मुलुकतर्फ आकर्षित हुन थालेको छ । हाम्रा रेमिट्यान्स कम्पनीहरु वैदेशिक रोजगारमिा गएका लाखौं नागरिकलाई लक्ष्यित गरेर खाडी र मलेसिया वरपर बसेका छन् । कोरिया, युरोप, अमेरिका र ल्याटिन अमेरिकामा पनि नेपालीहरु बढ्न थालेका छन् । उनीहरुमध्ये धेरैले नेपालमा पैसा पठाउन हुण्डिको प्रयोग गर्छन् । यसबाट छायाँ अर्थतन्त्रको विकासमा मद्दत मिलेको छ ।

अर्कोकुरा बैंक तथा वित्तीय संस्थाहरु जुन रुपमा विकास हुनु पर्ने हो, त्यो हुन सकेको छैन । बैंकहरुले निक्षेपकर्तालाई दिनुपर्ने स्तरमा ब्याज दिन सकेका छैनन् । बैंकले उचित किसिमको ब्याज निक्षेपकर्तालाई नदिएर आफ्नो नाफा बढाउने बाटो रोजेपछि निक्षेपकर्ताहरु अनौपचारिक बजारमा पैसा परिचालन गर्नुपर्ने अवस्थामा पुग्छन् । हामीले वित्तीय पहूँचको विस्तारमा थुप्रै लगानी गर्दा पनि अनौपचारिक क्षेत्रमा पूँजी प्रवाह बढ्नुको एउटा कारण यो पनि हो ।

सँगसँगै साना व्यवसाय सञ्चालन गर्ने व्यक्तिले बैंकको कर्जामा पहूँच नै नपाउने अहिलेको अवस्थाले पनि अनौपचारिक अर्थतन्त्र बढाउनमा भूमिका खेलेको छ । स्रोतमाथिको पहूँच नपाएपछि अहिले पनि साना उद्यमीहरु व्यक्तीगत ऋण लिएर ब्यावसाय गर्नुपर्ने बाध्यतामा गुज्रिरहेका छन् । बैंक तथा वित्तीय संस्थाबीच स्वच्छ प्रतिस्पर्धा नहुँदासम्म अनौपचारिक अर्थतन्त्रको आकार घटाउन सकिँदैन ।

यसबाहेक पनि कतिपय लुप्त (हिडन) कारणहरुले सानोसानो एकाइमा भए पनि अनौपचारिक अर्थतन्त्रलाई सहयोग गरिरहेको हुन्छ । त्यसैले अहिले पनि नेपालमा अनौपचारिक अर्थतन्त्रको आकार ‘उल्लेख्य’ छ । यसलाई नियन्त्रण गर्दै जानुपर्छ ।

राष्ट्र बैंकले वित्तीय जानकारी इकाइ (एफआईयू)मार्फत् अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रण गर्न प्रयास गरिरहेको छ । नेपालमा सम्पत्ती शुद्धिकरण निवारण ऐनको कार्यान्वयन भइसकेको छ । यस्ता कानूनी र नियामकीय भूमिकाबाट अनौपचारिक अर्थतन्त्रलाई घटाउन काम भइरहेको छ ।

त्यसबाहेक बैंकको हामीले वित्तीय पहूँचको विस्तारमा पनि काम गर्नुपर्छ । बैंकको जालो फैलाउने अर्थात् औपचारिक वित्तीय प्रणालीको सञ्जाल विस्तार गरेरमात्र हामीले अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रण गर्न सक्छौं । यसका लागि पनि हामीले काम गरिरहेका छौं । राष्ट्र बैंकले अहिले सबै स्थानीय तहमा बैंक पु¥याउने कार्यक्रम अघि सारेको छ । यस्ता कामबाट पनि नियन्त्रणमा सहयोग पुग्छ । राष्ट्र बैंक आफैंले गर्न नसक्ने कतिपय काम छन् भने त्यसका लागि सरकारलाई सुझाव पनि हामीले दिइरहेका छौं ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार