युवा नेतृत्व कृपाले होइन, अजेन्डाले प्राप्त हुन्छ

प्रदीप पौडेल

१९ फागुन २०७४, शनिबार

हालसम्म नेपाली राजनीतिमा विधिविधान, प्रक्रिया, पद्धति वा प्रणालीभन्दा पनि व्यक्ति प्रधान हुने अवस्था रह्यो । नेपाली कांग्रेस होस्, चाहे एमाले, माओवादी वा अन्य दल नै किन नहुन् । सबै राजनीतिक दलभित्र तथा राष्ट्रिय राजनीतिमा नै व्यक्तिवादी प्रवृत्ति मौलायो । कुनै एक वा केही व्यक्तिको समुह शक्तिशाली हुने र विधिविधान, प्रणाली एकातिर पन्छाएर मनोमानी ढंगले अघि बढ्ने प्रवृत्ति सबैतिरका नेतृत्वमा देखियो । तर, व्यक्ति विधानभन्दा माथि हुन सक्दैन । व्यक्तिहरुको सहमति विधानभन्दा ठूलो हुन सक्दैन ।

नेपाली कांग्रेसभित्र पनि विधानभन्दा व्यक्ति माथि भएर पार्टी चलेको धेरै उदाहरण छन् । हामीले पार्टीभित्रै यस्तो मानोमानी प्रवृत्तिको विरोध नगरेको होइन । पार्टीलाई असर गर्न सक्ने भएकोले निर्वाचनअघि यो विषय बाहिर नल्याएका मात्रै हौं । एजेन्डाका आधारमा नेतृत्व र विधिविधानका आधारमा मात्र पार्टी चल्नुपर्छ भन्ने विषयलाई हामीले जोडदार रुपमा स्थापित गर्न अहिले लागिपरेका छौं । यसबारे पार्टी पंक्तिमा व्यापक छलफल गरी तलसम्मका साथीहरुलाई यो विषय बुझाउन लागि परेका छौं । र, नेतृत्वलाई मनोमानी ढंगले चल्न नसक्ने बनाउन हामी लागेका छौं ।

पार्टीमा नेतृत्व परिवर्तन, पुस्ता हस्तान्तरणको पनि कुरा उठेको छ । तर, युवालाई नेतृत्व दिनै पर्छ भनेर हामीले भनेका छैनौं । किनभने यो कसैले कृपा गरेर दिने विषय पनि होइन । यसको आफ्नै प्रक्रिया छ । महाधिवेशनले मात्र नेतृत्व परिवर्तन गर्न सक्छ । कसलाई नेतृत्व हस्तान्तरण गर्ने भन्ने कुरा महाधिवेनका प्रतिनिधिहरुको हातमा छ । नेतृत्व युवालाई दिने की उमेरका हिसाबले वृद्धलाई दिने भन्ने विषय महाधिवेशन प्रतिनिधिहरुको विवेकमा भर पर्ने कुरा हो । जुन उमेर समुहको व्यक्तिलाई नेतृत्व दिए पनि नेतृत्वले विधिविधानको अधिनमा रहेर चल्नुपर्छ भन्ने हाम्रो कुरा हो ।

अर्को कुरा नेतृत्व उमेर(एज)ले होइन, एजेन्डाले निर्धारण गरिनुपर्छ भन्ने मान्यतामा हामी पनि विश्वास गर्छौं । एउटा एजेन्डा उमेर पनि हो । उमेरकै आधारमा नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने साथीहरुले पनि एउटा एजेन्डा त उठाइरहनु भएको छ । तर, उमेरलाई नै एक मात्र एजेन्डा बनाएर कोही युवाले नेतृत्व गर्न सक्दैन । युवा नै भए पनि एजेन्डाविहीन छ भने उसले नेतृत्व गर्न सक्दैन । युवाले पनि पार्टीको पुनर्जागरण, परिमार्जन, सैद्धान्तिक मूल्यमान्यता र देश विकासलगायत थुप्रै एजेन्डा अघि सार्न सक्नुपर्छ, जसले गर्दा युवाको नेतृत्वलाई स्वीकार्न र विश्वास गर्न सकियोस् । अर्को कुरा एज होइन एजेन्डा चाहिन्छ भन्नेहरुले पनि कुनै नयाँ एजेन्डा ल्याउन नसक्ने हो भने पुरानो नेतृत्वलाई नै निरन्तरता दिइरहनुपर्छ भन्ने छैन ।

नेपाली राजनीतिमा विगत डेढ दशकदेखि ५÷६ जना नेताहरु नै निर्णायक बनिरहनु भएको छ । पार्टीभित्र पनि ५÷६ जना नेता मात्र निर्णायक शक्ति बनिरहनु भएको छ । उहाँहरुले गर्न सक्ने जति योगदान देश र पार्टीका लागि गरिसक्नु भएको छ । राजनीतिमा एक पटक कुनै व्यक्ति प्रधानमन्त्री, पार्टी प्रमुख बन्छ र पुनः त्यही व्यक्ति नेतृत्वमा आउन चाहन्छ भने उसले आफूलाई निकै नै परिमार्जन गर्न सक्नुपर्दछ । परिमार्जित देश, काल, परिस्थितिअनुकुलका परिमार्जित एजेन्डाहरु अगाडि बढाउन गर्न सक्नुपर्छ । यो व्यक्ति नेतृत्व आउँदा मात्रै देश बन्छ भन्ने छवी निर्माण गर्न सकेको हुनुपर्छ । नत्र फरक नेतृत्वको आवश्यकता खड्किनु स्वभाविक हो ।

हालैको निर्वाचनले नेपाली कांग्रेसलाई जुन परिणाम दिएको छ, त्यसका आधारमा हामीले आन्तरिक समीक्षा गरिरहेका छौं । निर्वाचनमा कांग्रेसले व्यहोरोको परिणामको जिम्मेवारी मूल नेतृत्वले लिनुपर्छ । तर, हामी अरु कसैको कमजोरी छैन भन्ने पनि होइन । कांग्रेसले गुटबाट माथि उठेर आफूलाई परिमार्जन र सुधार गर्न आवश्यक छ ।

मुख्य कुरा अब कांग्रेसले सिद्धान्तको पुनव्र्याख्या गर्नुपर्छ । बीपी कोइरालाको बेलाकै सैद्धान्तिक विचारबाट हामीले पार्टीलाई अहिलेको नेपाली समाजमा अघि बढाउन र देशमा समृद्धि ल्याउन सक्दैनौं । नेपाली समाजको आवश्यकता र स्वरुप फेरिएको छ । २००७ सालदेखि २०७४ सालसम्म आइपुग्दा नेपाल र नेपाली समाज धेरै परिवर्तन भइसकेको छ । त्यसो हुँदा अहिले कांग्रेसले आफ्नो सैद्धान्तिक आधार, राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई वर्तमान युगअनुकुल हुने गरी पुनव्र्याख्या गर्नुपर्छ । धेरै व्यवस्था परिवर्तन गर्यौं । त्यसको मुख्य ध्यये नेपाललाई समृद्ध बनाउने भन्ने नै थियो । त्यसका लागि अब हामीले समृद्धिको नयाँ खाका तयार गर्नुपर्ने छ । कांग्रेसले पार्टीको सांगठनिक स्वरुपलाई परिवर्तन गर्नुपर्छ भन्ने छ । हाम्रो पार्टी जनाधार भएको पार्टी हो वा कार्यकर्तामा आधारित पार्टी हो वा यी दुबै होइन भन्ने हामीले खुट्याउनु पर्ने बेला आएको छ । संघीय संरचनाअनुसार पार्टीको सांगठनीक स्वरुप निर्धारण गर्नुपर्ने छ । संगठन विस्तारका लागि हमीले हाम्रा सामाजिक मुद्धाहरु निक्र्योल गर्नुपर्ने आवश्यकता छ । अबको ५ वर्ष पूर्ण रुपमा सशक्त प्रतिपक्षीको भूमिकामा बस्ने भएकोले कांग्रेसले आन्तरिक सुधारका कामहरु गर्नुपर्ने आवश्यकता छ ।

राष्ट्रको आर्थिक समाजिक विकासमा शाररीक र मानसिक रुपमा जोस जाँगर भएका स्वस्थ युवाको सहभागिता महत्वपूर्ण हुन्छ । आम रुपमा युवा सहभागिताका लागि युवाहरुको विदेश पलायनलाई रोक्नुपर्छ । पढेलेखेका स्वस्थ, राम्रा तथा दक्ष युवाहरु विदेश पलायन भएका छन् । नासामा काम गर्नेदेखि लिएर विदेशी विश्वविद्यालय तथा बौद्धिक र प्राविधि क्षेत्रमा धेरै नेपालीहरु सक्रिय भएका छन् । तर, नेपालमा प्राविधिक जनशक्ति अभाव छन् । बल भएका मेहनती युवाहरु पनि खाडीका देशहरु, मलेसिया, कोरियातर्फ लागिरहेका छन् । यस्तो अवस्था रोक्यौं भने हामीले हामीलाई आवश्यक मजदुर, व्यवस्थापक, इन्जिनीयर प्राप्त हुन्छन् ।

यसका लागि हामीले केन्द्रदेखि प्रदेशसम्म छाँया सरकार निर्माण गर्छौं । छाँया मन्त्रीहरु बनाएर सबै क्षेत्रमा रचनात्मक प्रतिपक्षी र एजेन्डा अघि बढाउने अभ्यास गर्छौं । सरकारले गरेको कामको निरन्तर निगरानी गर्ने, गलत कामहरुमा खबरदारी गर्ने र देश विकासमा युवाशक्तिको परिचालन गर्ने गरी रचनात्मक खाका अगाडी ल्याउँछौं ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार