फरक विशेष
समयमा नै किन बन्दैनन् काठमाडौंका सडक ?
८ असोज, २०७५
९० प्रतिशत काम अझै बाँकी

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो ५ वर्षयता सवारीसाधन भित्रिने क्रम बढिरहेको छ । गत आर्थिक वर्ष मात्र उपत्यकामा १ लाख २९ हजार पाँच सय ५७ सवारीसाधन भित्रिएका छन् । 

पछिल्लो ५ वर्षको तथ्यांक हेर्दा विभागमा आव २०७०/७१ मा ६७ हजार चार सय ४९ सवारीसाधन भित्रिएका थिए । २७ लाख हाराहारीमा जनसंख्या रहेको उपत्यकामा १५ सय ९४ किमि सडक छ । उपत्यकाको सडकमा दैनिकी ९ लाखभन्दा बढी साना, मझौला तथा ठूला सवारीसाधन गुड्ने गरेका छन् । यसमा उपत्यकाबाहिरबाट आएका सवारीसाधन पनि पर्छन् । 

पछिल्लो समय सवारीसाधनको संख्यामा वृद्धि हुँदा उपत्यकाको सडक ट्राफिक जामले सर्वसाधारणसमेत हैरान बनेका छन् । उपत्यकामा सवारी आवगमनलाई व्यवस्थित पार्न महानगरीय ट्राफिक प्रहरीलाई समेत हम्मे–हम्मे परेको ट्राफिक प्रहरीको निष्कर्ष छ । उपत्यकामा गत वर्ष मात्रै १ लाख ४ हजार ४ सय ४४ मोटरसाइकल भित्रिएका छन् । 

सवारीसाधनको अत्यधिक चाप बढेपछि सडक विस्तार आयोजनाले २ सय २३ दशमलव १ सय ५५ किमि सडक तथा पुल विस्तारको काम अगाडि बढाएको छ । आयोजनाले उपत्यकाको १२ वटा सडक तथा पुलको विभाजन गर्दैै काम अगाडि बढाए पनि कामले जस भने पाएको छैन । सडक विस्तारको कामलाई तीव्र रूपमा अगाडि बढाउँदा पनि कामले पूर्णता पाउनेमा अन्यौल नै छाएको छ । 

२ वर्षअघि मात्र सर्वोच्च अदालतले सडक विस्तारका क्रममा स्थानीयलाई मुअब्जा दिने निर्णय गरेको थियो । मुअब्जा वितरण तथा सीमांकन विवादले सडक विस्तारमा अवरोध खडा भएको छ । स्थानीय बासिन्दाले जग्गाको क्षतिपूर्ति नपाएसम्म बाटो भत्काउन रोक लगाउँदा विस्तारको काम लम्बिन सक्ने सडक विस्तार आयोजनाका सूचना अधिकारी विश्व विजयलाल श्रेष्ठले बताए । 

काठमाडौं उपत्यका विकास प्राधिकरणबाट मुअब्जा पाइसकेका केही स्थानीयले भने आफँै घर तथा टहरा भत्काउन सुरु गरे । बाँकीलाई पनि मुअब्जा वितरण गर्न ढिलाइ भएका कारण सडक क्षेत्र अधिकारभित्र रहेका घर हटाउन समय लाग्ने देखिएको छ । अदालतको निर्णय कार्यान्वयन नहुन्जेलसम्म विस्तारको काममा ढिलाइ हुन सक्ने आयोजनाका सूचना अधिकारी श्रेष्ठले बताए । 

यता, मध्यामाञ्चल क्षेत्रीय सडक निर्देशनालयका प्रमुख शिवहरि सापकोटाले भने सडक विस्तारका क्रममा देखिएको अवरोधले विस्तारको काममा ढिलाइ हुनु स्वाभाविक भएको बताए । उनले उपत्यकामा सडक सबैलाई चाहिने भएकाले स्थानीयलाई अवरोध नगर्न पनि आग्रह गरेका छन् । यस्तै, सडक विस्तारको ठेक्का जिम्मा लिएको निर्माण व्यवसायी कम्पनीले अवरोधका कारण सोचेअनुरूप काम सम्पन्न नभएको दाबी गर्दै आएका छन् । 

उपत्यका सडक विस्तार आयोजनाको काम तथा अवरोध :

त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक :
आयोजनाले त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकअन्तर्गत १२ किमि ४८० मिटरको  सडकका लागि ४ वटा निर्माण कम्पनीलाई ठेक्का दिएको छ । आयोजनाले यस कामका लागि १ अर्ब ६३ करोड ८८ लाख ९४ हजार खर्च गरेको छ । ४ निर्माण कम्पनीले हालसम्म ८० करोड ८ लाख ३५ हजार ८९८ खर्च भइसकेको जनाएको छ । जसअन्तर्गत २०७५ कात्तिक ३० गतेसम्म ठेक्का लिएको बज्रगुरु–बिरुवा–सि.एम. जे.भीले ३ दशमलव ३ सय ८० किमिको सडकको हालसम्म ५० प्रतिशत काम सम्पन्न गरेको छ । यस्तै, ०७५ असोज ३० सम्म ठेक्का लिएको शर्मा–शैलुङ–कान्छाराम जे.भीले ३ किमिको काम ४५ प्रतिशत, ०७५ असोज ३० सम्म लुम्बिनी–शैलुङ–साप जेभीले ३ किमि सडकको काम ४५ प्रतिशत र ०७५ पुस ३० सम्म ठेक्का पाएको शर्मा÷शैलुङ÷कान्छाराम जेभीले ३ दशमलव १ किमि सडकको ६० प्रतिशत मात्र काम सकेका छन् । 

यी ४ निर्माण कम्पनीले लिएको ठेक्का समयावधि सकिनै लाग्दा पनि काम भने सुस्त गतिमा गरिरहेका छन् ।  कम्पनीहरूले सर्वोच्चबाट उक्त सडक खण्डका विभिन्न स्थलमा निर्माणको कार्य रोक्न आदेश जारी गर्दा अवरोध भएको बताएका छन् । 

चाबहिल–जोरपाटी–बाग्मती–साँखु सडक :
चाबहिल–जोरपाटी–बाग्मती–साँखुको १२ दशमलव ५ किमि सडकखण्ड विस्तारका लागि आयोजनाले १ अर्ब ७३ करोड ५४ लाख १५ हजार खर्च गरेको छ । जसअन्तर्गत ०७५ फागुन १४ गतेसम्म ठेक्का पाएको युनाइटेड विल्डर्स एन्ड इन्जिनियर्स प्रालिले ३ दशमलव ६ किमिको सडक २० प्रतिशत मात्र सम्पन्न गरेको छ । यस्तै, ०७५ पुस १४ गतेसम्म जिम्मा लिएको बज्रगुरु÷च्याङमिला÷खानी जे.भी.ले २ दशमलव ४०० किमिको सडक ४० प्रतिशत, ०७६ वैशाख १४ गतेसम्म ठेक्का पाएको ब्रजगुरु–बिरुवा–खानी जे.भी.ले ३ किमिको सडक ४० प्रतिशत, ०७५ पुस १४ गतेसम्म बि.टी.÷सुनकोशी÷वल्र्डवाइड जे.भी.ले २ दशमलव ४ सय ६० किमिको सडक ३५ प्रतिशत र ०७५ चैत्र ३० गतेसम्म ठेक्का लिएको लामा÷समानान्तर निर्माण जे.भी.ले १ दशमलव ०४० किमिको सडक मात्र २५ प्रतिशत काम गरेका छन् । 

कम्पनीले उक्त सडकखण्डको कामका लागि हालसम्म  ७२ करोड ७० लाख १८ हजार खर्च भइसकेको जनाएको छ । कम्पनीले सडक विस्तारका लागि काम अघि बढाउँदा दक्षिणढोका क्षेत्रमा स्टे–अर्डरका कारण २३ घर भत्काउन नसकिएको, मूलपानी क्षेत्रमा सडक सीमा विवाद, सबै चेनेजमा विद्युत तथा टेलिफोन पोल नहटेको कारण काममा बाधा भएको समस्या आयोजनालाई बताएका छन् । उनीहरूले खुमलटार तथा सलम्बुटार क्षेत्रको केही स्थानमा ५१ घरको स्टे अर्डरका कारण भत्काउन नसकेको समस्या उल्लेख गरेका छन् । यस्तै, बौद्ध तथा जोरपाटी क्षेत्रमा खानेपानी तथा ढल लिकेज भई सडक सतहमा पानी बस्नुको साथै खाल्डाखुल्डी पटक–पटक मर्मत गर्दासमेत सहज अवस्थामा ल्याउन नसकेकाले विस्तारमा प्रगति नदेखिएको बताएका हुन् । 

लगनखेल–सातदोबाटो सडक : 
लगनखेल–सातदोबाटोअन्तर्गत ८ सय मिटर सडकखण्डको विस्तारका लागि आयोजनाले ६ करोड ४९ लाख ८१ हजार खर्च गरेको छ । यो सडकखण्डको ठेक्का समानान्तर निर्माण सेवा कम्पनीले ०७५ असोज ३१ गतेसम्म काम सक्ने जिम्मा पाएको हो । तर, समयावधि सकिनै लाग्दासमेत कम्पनीले २० प्रतिशत मात्र काम सकेको छ । कम्पनीले काममा ढिलाइ हुनुको पछाडि स्थानीयद्वारा सडक सीमा क्षेत्र कम गर्न तथा घर जग्गा दुवैको क्षतिपूर्ति मुअब्जा माग गरी अवरोध गरेको कारण प्रगतिमा ढिलाइ भएको बताएको छ । 

इमाडोल–सिद्धिपुर–गोदावरी खोला–लुभु–लामाटार सडक :
इमोडोल–सिद्धिपुर–गोदावारी खोला–लुभु–लामाटार सडकको  ७ दशमलव २१५ किमि सडकखण्ड विस्तारका लागि आयोजनाले ८९ करोड ७३ लाख १२ हजार खर्च गरेको छ । ३ निर्माण व्यवसायी कम्पनीले ठेक्का लिएकोमा हालसम्म ४६ करोड ३० हजार रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ । तर, ३ दशमलव १२६ किमि सडकको ०७५ साउन २६ गतेसम्म ठेक्का पाएको डाँफे÷समानान्तर जेभीले ५० प्रतिशत मात्र काम सकेर समयावधि थप्ने प्रक्रिया रहेको आयोजनाले जनाएको छ । आशिष–सि.एम.–ड्रागन जेभीले ०७५ पुस ३० गतेसम्मको ठेक्का लिए पनि हालसम्म ६५ प्रतिशत काम सकेको छ । यस्तै, ४ दशमलव ०८९ किमिको सडकको लागि ०७६ पुस ३० गतेसम्म सक्ने जिम्मा पाएको लामा÷समानान्तर जेभीले ४५ प्रतिशत काम सकेको जानकारी आयोजनालाई गरेको छ । तर, काममा ढिलासुस्तीबारे भने कम्पनीले कुनै जानकारी गराएका छैनन् । 

ढोलाहिटी–सुनकोठी–चापागाउँ–प्याङगाउँ–लेले–तिलेश्वर हुँदै सरस्वतीकुण्ड सडक :
यस सडकखण्डको १३ दशमलव १०० किमि सडक विस्तारको लागि आयोजनाले १३ अर्ब २० करोड ६ लाख ८० हजार खर्च गरेको छ । ४ निर्माण व्यवसायी कम्पनीले ठेक्का लिएको यस सडकखण्डका लागि हालसम्म १५ करोड ५७ लाख ८८ हजार खर्च भएको छ । जसअन्तर्गत दिवा÷शैलुङ जेभीले ०७५ कात्तिक २६ गतेसम्म सक्ने गरी ३ दशमलव २०० किमिको सडक १० प्रतिशत मात्र सकेको छ । कन्टेक प्रालिले ०७५ भदौ २५ गतेसम्म ४ किलोमिटरको सडकखण्डको २० प्रतिशत मात्र काम सकेको छ । कन्टेक कम्पनीको समावधि सकिए पनि समयावधि थप्ने प्रक्रियामा रहेको आयोजनाले जनाएको छ । 

दिवा र कन्टेकले भने घर टहरा हटाई कार्य सुरु गर्ने प्रयास गर्दा स्थानीयबाट संगठित रूपमा अवरोध सिर्जना हुँदा काममा ढिलाइ भएको बताएको छ । तर, पप्पु–महालक्ष्मी–वल्र्डवाइड जेभी कम्पनीले भने गत वर्ष साउन १६ गतेदेखि जिम्मा लिएको २ दशमलव ७०० किमिको सडकको काम भने सुरु गरेको छैन । कम्पनीले सो सडकको ०७६ माघ १६ गतेसम्म सक्ने जिम्मा लिए पनि सडकको दाँया–बाँया बनेको रूखहरू परेको हुँदा रूखहरूको कटान नभई सडक निर्माणको कार्य नै अगाडि बढ्न नसकेको कारण देखाएको छ । यस्तै, पप्पु–महालक्ष्मी–वल्र्डवाइड जेभी कम्पनीले ३ दशमलव ११० किमिको सडक १० प्रतिशत मात्र सम्पन्न गरेको छ । कम्पनीले ०७६ पुस १६ गतेसम्म सक्ने ठेक्का लिएर काम धमाधम गरिरहेको जनाएको छ ।

कर्मनाशा खोला–हरिसिद्धि–गोदावरी कुण्ड सडक :
आयोजनाले यस सडकको ७ दशमलव ६ किलोमिटर सडक विस्तारका लागि ६७ करोड १६ लाख ४९ हजार खर्च गरेको छ । २ निर्माण व्यवसायी कम्पनीले ठेक्का लिएको सडकका लागि ११ करोड २४ लाख ८ हजार खर्च भइसकेको आयोजनाले जनाएको छ । जसअन्तर्गत आशिष–सि.एम. जे.भी.ले ०७५ कात्तिक ३ गतेसम्म सक्ने गरी लिएको ४ दशमलव १५० किमि सडकको हालसम्म १० प्रतिशत मात्र सम्पन्न गरेको छ । यस्तै, लामा–समानान्तर जे.भी.ले ०७६ कात्र्तिक ३० गतेसम्म सक्ने गरी लिएको २ दशमलव ४५० किमि.को सडकविस्तारको काम १० प्रतिशत मात्र सकेको छ । कम्पनीहरूले विस्तारको काम अगाडि बढाउदै जाँदा सर्वोच्च अदालतको स्टे अर्डरका कारण १२० घर हटाउन नसकिएको बताएका छन् । घरजग्गा दुवैको क्षतिपूर्ति मुअब्जा मागी काम सुरु गर्नै नदिइएको तथा घर–टहरा हटाउने काम सुरु गर्ने प्रयास गर्दासमेत स्थानीयबाट संगठित रूपमा अवरोध हुँदा विस्तार सुस्त गतिमा भएको बताएका छन् । 

जोरपाटी–सुन्दरीजल सडकखण्ड :
आयोजनाले जोरपाटी–सुन्दरीजल सडकखण्डको ७ किमि सडक विस्तारका लागि २ निर्माण कम्पनीले ठेक्का पाएका छन् । आयोजनाले यस सडक विस्तारका लागि ५४ करोड ७८ लाख ९६ हजार खर्च गरेको छ । जसअन्तर्गत आशिष–सि.एम. जे.भी.ले ३ दशमलव ५०० किमि सडक ०७५ भदौ ३ गते सक्ने गरी ठेक्का लिएको थियो । तर, समयवधि सकिँदासम्म ५ प्रतिशत मात्र काम सम्पन्न गरेको छ । यस्तै, अर्का आशिष÷सि.एम. जे.भी.ले पनि ०७५ असोज ३ गते सक्ने गरी ३ दशमलव ५०० किमिको सडक जम्मा १० प्रतिशत मात्र सम्पन्न गरेको छ । यी दुवै कम्पनीको समयावधि सकिइसकेको छ । कम्पनीहरूले स्थानीय विवादले सडक सीमांकन कार्यमा ढिलाइ भएकाले हालसम्म जोइन्ट सर्भेको काम सम्पन्न भएको बताएका छन् । समयावधि सकिए पनि आयोजनासँग म्याद थप्ने प्रक्रियामा रहेको उनीहरूको भनाइ छ । कम्पनीले यस सडकखण्डको विस्तारका लागि हालसम्म ६ करोड ७३ लाख ७६ हजार खर्च गरिसकेका छन् । 

नख्खुखोला–भैँसेपाटी–बुङमति सडकखण्ड :
यता नख्खुखोला–भैँसेपाटी–बुङमति सडकखण्डको ५ दशमलव ५ किमिको सडक विस्तारका लागि आयोजनाले ५२ करोड ३४ लाख ९९ हजार खर्च गरेको छ । आशिष–बिरुवा–सि.एम..जे.भी.ले ०७५ कात्तिक ३० गतेसम्म सक्ने गरी ३ दशमलव ५०० किमि सडक विस्तारको काम भने ३० प्रतिशत सकेको छ । यस्तै, पप्पु–महालक्ष्मी–वल्र्डवाइड जे.भी.ले ०७६ असार ३० गते सम्पन्न गर्ने गरी लिएको १ दशमलव ५५० किमिको सडकको जम्मा १० प्रतिशत मात्र सम्पन्न भएको छ । यी दुवै कम्पनीले विद्युत् तथा टेलिफोन पोल नहटेका कारण ढिलाइ भएको बताएका छन् । यस्तै, कम्पनीले हालसम्म १५ करोड ७७ लाख ९ हजार खर्च भइसकेको आयोजनालाई जानकारी गराएका छन् । 

पेप्सीकोला सल्लाघारी सडक :
पेप्सीकोला सल्लाघारी सडकको ४ दशमलव ५०० किमि सडक विस्तारका लागि आयोजनाले ४९ करोड ९७ लाख ७४ हजार खर्च गरेको छ । सल्लाघारी सडकअन्तर्गत मनोहरा पुलदेखि वाहखा बजार हुँदै निकोसेरा खस्याङखुसुङ पुल सडकको लागि कान्छाराम–पि.आर.– उमा एन्ड कम्पनी जे.भी.ले ठेक्का लिएको छ । ०७६ पुस २९ सम्म काम सक्ने जिम्मा लिएको कम्पनीले हालसम्म १० प्रतिशत मात्र काम सम्पन्न गरेको छ । कम्पनीले हालसम्म ७ करोड २२ लाख खर्च भइसकेको जनाएको छ । 

धोबीखोला पुल, अरनिको राजमार्ग :
धोबीखोला पुल, अरनिको राजमार्गको ५० किलोमिटर विस्तारका लागि आयोजनाले १३ करोड १३ लाख ८५ हजार खर्च गरेको छ । राजमार्गको विस्तारका लागि जेई कन्स्ट्रक्सन प्रा.लिले हालसम्म ४० प्रतिशत काम सम्पन्न गरेको छ । कम्पनीले ०७५ पुस १३ गते सक्ने गरी जिम्मा लिँदा हालसम्म ७ करोड १९ लाख २९ हजार खर्च भइसकेको जनाएको छ । समायावधि सकिन केही महिना मात्र बाँकी रहँदा कम्पनीले अरनिको राजमार्गको धोबीखोलामा खानेपानी तथा विद्युतीय युटिलिटिजको समयमै उचित व्यवस्थापन नहुँदा पुल निर्माणको कार्यमा अवरोध आएको आयोजनालाई जानकारी गराएको छ । 

बाग्मतीखोला पुल, अरनिको राजमार्ग :
यस्तै बाग्मतीखोला पुल, अरनिको राजमार्गको ८५ किमि विस्तारका लागि आयोजनाले २१ करोड ३३ हजार खर्च गरेको छ । राजमार्गको ठेक्का लिएको पप्पु कन्स्ट्रक्सनले ६ करोड ७७ लाख ३७ हजार खर्च गर्दै २० प्रतिशत मात्र काम सम्पन्न गरेको छ । ०७५ असार ५ गतेसम्म सक्ने गरी ठेक्का लिएको कम्पनीले पनि अरनिको राजमार्गको धोबीखोला र बाग्मती नदीमा खानेपानी तथा विद्युतीय युटिलिटिजहरुको समयमै उचित व्यवस्थापन नहुँदा निर्माण कार्य सम्पन्न गर्न नसकेको बताएको छ । यस्तै, कम्पनीले म्याद थप गर्ने प्रक्रियामा रहेको आयोजनाले जनाएको छ । 

विष्णुमती पुल, बुढानीलकण्ठ :
आयोजनाको अन्तिम विष्णुमती पुल, बुढानीलकण्ठको १८ किलोमिटर विस्तारका लागि आयोजनाले २ करोड ४३ लाख ११ हजार खर्च गरेको छ । पुल निर्माण विस्तारका लागि रोशन–प्रेरा जे.भी.ले ६० प्रतिशत मात्र काम सम्पन्न गरेको छ । कम्पनीले ०७५ असार १० गतेसम्म सक्ने गरी ठेक्का लिएको थियो । समयावधि सकिए पनि ठेक्का म्याद थप्ने प्रक्रियामा रहेको कम्पनीले बताएको छ । कम्पनीले १ करोड ६२ लाख ३ हजार रुपैयाँ खर्च गरेको छ । 

आ.व. ०४६–४७ देखि गत आर्थिक वर्षसम्ममा मात्र बाग्मतीमा ११ लाख ७२ हजार ४१३ सवारीसाधन भित्रिएका छन् । विभागमा गत आ.व.सम्म सबैभन्दा बढी मोटरसाइकल मात्रै ९ लाख २१ हजार ९ सय १७ दर्ता  छन् । सवारीसाधनको चाप बढ्दै जाँदा ट्राफिक जाम तथा अस्तव्यस्त सडक कारण पछिल्लो ५ वर्षयता उपत्यकामा सवारी दुर्घटनासमेत बढेको छ । 

महानगरीय ट्राफिक प्रहरी कार्यालय, काठमाडौंको तथ्यांकअनुसार गत आर्थिक वर्ष मात्र ६ हजार ३ सय ८१ सवारी दुर्घटना भएका छन् । जसमध्ये १ सय ९४ जनाको मृत्यु भइसकेको छ । त्यसमध्ये पनि सबैभन्दा बढी मोटरसाइकल तथा स्कुटी दुर्घटनामा परी १ सय ११को मृत्यु भएको छ । यस्तै, ट्राफिक प्रहरीको तथ्यांकअनुसार यस आर्थिक वर्षको श्रावण मसान्तसम्म ५ सय ९४ सवारी दुर्घटना भइसकेको छ । जसमध्ये २३ जनाको मृत्यु भएको छ । 

यस्तै, सातै प्रदेशमा गत आवसम्ममा ३२ लाख २१ हजार ४२ सवारीसाधन भित्रिएको विभागको तथ्यांकले देखाएको छ । जसअन्तर्गत सबैभन्दा बढी मोटरसाइकल मात्र २५ लाख ३० हजार ७ सय २२ भित्रिएका छन् । गत आ.व.मा मात्र ४ लाख ३७ हजार ६ सय १४ सवारीसाधन भित्रिएको थियो । त्यसबाट राजस्व विभागले सवारीकरबापत १० अर्ब ६५ करोड ७६ लाख ९९ हजार १ सय ७९ रुपैयाँ संकलन गरेको छ ।  


 

फरक विशेष
यो पनि नछुटाउनुहोस्