चाडपर्वका लागि सुपथ मूल्य पसल

काठमाडाै – नेपाल सरकारले अघिल्ला वर्षजस्तै यो वर्ष पनि असोज १२ गते देखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ । उक्त पसलमा दैनिक घर चलाउनको लागि आवश्यक चामल, दाल, नुन, तेल, चिनीलगायतका सामान सुपथ मूल्यमा पाइनेछ । 

खाद्य संस्थानले यसअघि पनि दशैँ तिहार र छटजस्ता चाडपर्वलाई ध्यानमा राखेर यस्ता पसल सञ्चालन गर्दै आएको थियो । असोज १२ देखि सञ्चालन हुने यस्ता पसल छठसम्म सञ्चालनमा रहनेछ । 

अघिल्ला वर्षहरूमा खाद्य संस्थानको अफिस भएको रामशाहपथ, थापाथली र नख्खुबाहेक अन्य ठउँमा सटर भाडामा लिएर यस्ता पसल सञचालनमा आएका थिए । तर, यस्ता पसलको जानकारी नहुनु र मानिसलाई पायक पर्ने ठाउँमा पसल नभएपछि यसको कुनै फाइदा नभएको जनगुनासो थियो । 

यही गुनासोलाई ध्यानमा राखेर यसपटक भने सहकारीलाई सुपथ मूल्य पसल सञ्चालन गर्ने अनुमति दिने योजना बनाएको खाद्य संस्थानका सूचना अधिकारी शंकर सापकोटाले जानकारी दिए । उनले भने, ‘अघिल्ला वर्ष सुपथ मूल्य पसलको फाइदा नभएको जनगुनासो बढी भएकाले अहिले सहकारीमार्फत यस्ता पसल सञ्चालन गर्न लागिएको हो ।’

‘यसको विस्तृत जानकारी १० गतेसम्म आउँछ,’ सापकोटाले भने, ‘सहकारी सस्थामार्फत सुपथ मूल्य पसल सञ्चालन गर्दा लोड÷अनलोडलगायत खर्चबापत भने केही कमिसन वा सञ्चालन खर्च भनेर दिने योजना बनाइएको छ ।’

सञ्चालक समितिको बैठक बसेर कति ठाउँमा पसल राख्ने अनुमति दिने भन्ने निर्णय हुने सापकोटाले जानकारी दिए । अहिले धेरै सहकारी संस्थालाई समेटेर सकेसम्म धेरै ठाउँमा यस्तो पसल राख्ने उनले जाकारी दिए । 



यसअघि पनि सबैलाई सुविधा हुने गरी चोक–चोकमा नै पसल राख्न चाहेको, तर भनेको ठाउँमा सटर पसल र गोदाम नपाएकाले असुविधा हुने ठाउँमा पसल राख्नुपरेको सापकोटा बताउँछन् ।

‘सामान लैजानका लागि ट्रक जाने ठाउँमा पसल राख्नुपर्यो, हामीले भनेको ठाउँमा सटर माग्दा बढी मूल्य तिर्नुपर्ने, सामान स्टोर गर्न मिल्ने गोदामलगायत सुविधा नहुने आदि कारणले पनि पहिलेका पसल प्रभावकारी नभएकाले अहिले त्यसैबाट सिकेर धेरै सुविधा दिने गरी पसल राख्न लागिएको हो,’ उनले भने । 



उनले सुपथ मूल्यको प्रभावकारिता बढाउने उद्देश्यले नै अहिले भने सहकारीलाई दिने विषयमा छलफल भएको बताए । सहकारीको बारेमा त्यहाँका स्थानीयलाई पनि धेरै जानकारी हुने हुनाले पनि यसको प्रभावकारिता बढ्ने भएर सहकारीसँग सहकार्य गर्न लागेको सापकोटाले जानकारी दिए । 
 

  • प्रकाशित मिति : असोज ८, २०७५ साेमबार १७:३६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया