दुईतिहाईको सरकारः बाँदरको हातमा नरिवल

हामी सबैलाई थाहा भएको कुरा हो, हाम्रा प्रधानमन्त्री केपी शर्मा ओली केही वर्षयता विभिन्न रोगबाट ग्रसित छन् । यो कुराको पुष्टि उनको चालचलन, बानीव्यहोराबाट पनि प्रमाणित हुन थालेको छ । किनकि उनले प्रयोग गर्ने औषधिले उनमा उत्तेजना थप्छ भन्ने बारम्बार सुनिँदै आएको हो । तर, उनको मनोदशा प्रायः असामन्य र असन्तुलित हुने गरेको छ । झन् केही यता त यो बढ्दो क्रममा छ ।

कहिलेकांही सुन्दा लाग्छ, ओली उत्तेजनामा पुगेर कठोर कुरा गर्छन् । विडम्बना ! एउटा राज्यको कार्यकारी दायित्व बोेकेको व्यक्ति सवाल जवाफमा उत्रिन्छिन् । एउटा नागरिकलाई ओठे जवाफ फर्काउँदै गरेको हामीले कयौँ पटक देखेका छौँ । 

कहिलेकाहीँ त उनको भाषा यति कमजोर सुनिन्छ कि मानौं उनी एउटा हारेको जुवाडे हुन् । अर्को चाहिँ उनको सरकारले अहिलेसम्म एउटै गतिलो काम गर्न सकेको छैन । ओलीले केही काम नगरेपछि यो सरकारप्रति जुन आशा बोकिएको थियो, त्यो विस्तारै सेलाउँदै गएको छ । आशाहरु निराशामा परिणत हुँदाका परिणाम निकै सकसपूर्ण हुन्छन् । यो सकसपूर्ण अवस्थालाई ओली स्वयंले बुझेको हुनुपर्छ । त्यसैले उनी यतिबेला निकै निराश र हठात् अवस्थामा पुगेका छन् ।

हामी बाहिर बसेर ओलीका कामहरुबारे समीक्षा गर्दै छौँ । उनलाई यसले पनि निकै पोलिसकेको छ, तर उनका लागि झन् ठूलो समस्या के हो भने उनका पार्टीभित्र कै व्यक्तिहरुले पनि उनको प्रशंसा गर्न छोडिसकेका छन् । उनका कामहरुमाथि प्रश्न उठ्न थालेका छन् । यसरी प्रश्न उठ्दा उनी रुन थाल्छन् र केही कामको फेहरिस्त तयार पार्छन् ।  

त्यतिमात्र होइन, उनले आफ्नो र सरकारको आलोचना सुन्न नसकेर प्रतिरक्षामा किन नबोलेको भनेर कार्यकर्ता पंक्तिलाई गालीसमेत गर्न भ्याए । अनि भने– अरिङ्गाल झैं जाइलाग्नु । उनका यस्ता अभिव्यक्ति उत्तेजना र अहंकारका कारण सिर्जित भएका हुन् । तर, जब चारैतिरबाट यस्ता अभिव्यक्तिको विरोध हुन थाल्छ, आलोचना हुन्छ अनि उनी पश्चाताप गर्न थाल्छन् । निन्दा भएपछि पश्चाताप गर्ने उनको बानी बढेको छ ।

पूरै देशको कानुन, देशका सेना तथा प्रहरी, बन्दुक र बन्दुक चलाउने मान्छेहरु आफू मातहत रहेको कुरा बिर्सिएर ओली महोदयले विपक्षीहरुलाई आक्रमण गर्नु भन्ने उर्दी जारी गरे । यसको अर्थ हो, उनी आलोचनालाई पचाउन सक्दैनन्, आलोचना गर्नेहरुलाई सोझै टोक्नु र मार्नु पर्छ भन्ने उनको मानसिकता बढेको छ ।



यसले स्पष्ट पार्छ यस्ता अभिव्यक्ति जिम्मेवार प्रधानमन्त्रीले दिनै सक्दैनन्, एउटा आपराधिक मनोवृत्तिको मानिसले यस्ता अभिव्यक्ति दिन्छन् ।

बिर्सनु हुँदैन, हिजो निर्वाचनको समयमा ओलीले भनेका थिए– स्थिर सरकार नभएकाले भ्रष्टाचार बढ्यो, सरकार अस्थीर भएकाले विकासको गति लिएन, सरकार अस्थिर भएकाले देश बनेन, हामीलाई भोट दिनुस्, बहुमत पुर्याइदिनुस्, हामी देश बनाउँछौँ । हामी जनताले यो कुरा पत्यायौँ । तर, अब सरकार बनेको ७ महिनाभन्दा बढी भइसकेको छ । त्यति बेला देखाएको आशा निराशामा बदलिएको छ ।



यदि सही प्रयोग हुन्थ्यो भने ओलीको हातमा अपार सम्भावना थियो । सही प्रयोजनका लागि र स्वच्छ भएर चाहने हो भने संविधान संशोधनको समेत शक्ति उहाँको हातमा छ । तर, अहिलेसम्म केही गतिलो काम भएको छैन । त्यसैले, ओलीको हातमा दुईतिहाई बाँदरको हातमा नरिवलजस्तो भएको छ । 

यो कुरा पुष्टि गर्न धेरै उदाहरण दिइरहनु पर्ने जरुरी नै छैन, सरकारका कामहरुलाई हेरे पुग्छ ।

 

(कुराकानीमा अाधारित)

  • प्रकाशित मिति : असोज १०, २०७५ बुधबार ११:०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया