टेलिभिजनकी कार्यक्रम प्रस्तोता तथा चर्चित लेखक सलमान रुस्दीकी पूर्व पत्नी पद्मलक्ष्मीले आफू १६ वर्षको उमेरमा बलात्कार भएको बताएकी छन् ।
पद्मलक्ष्मीले समाजले गर्ने तिरस्कारको कारण महिलाहरु लामो समयदेखि आफूमाथि भएको यौनहिंसाको विरुद्धमा बोल्न नसकेकाे विषय सार्वजनिक गरेकी छन् ।
क्यालिफोर्नियाकी मनोविज्ञान प्रोफेसर क्रिस्टिन ब्लेजी फोर्डले जज ब्रेट कभावनफलाई लगाएको बलात्कारको आरोपलाई झुट भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बचाउ गर्न खोजेपछि उनले न्युयोर्क टाइम्समा लेख लेख्दै आफू बलात्कार भएको सार्वजनिक गरेकी हुन् । ट्रम्पले ब्रेटलाई सर्वोच्च अदालतमा जजको रुपमा नियुक्ति गरेका छन् ।
पद्मलक्ष्मीले १६ वर्षको उमेरमा प्रेमीले बलात्कार गरेको उल्लेख गरेकी छन् । आफू नै गलत सावित हुन्छु भन्ने लागेर प्रहरीमा उजुरी नगरेको समेत उनको भनाई छ ।
लक्ष्मीले लेखेकी छन् ‘केही समयदेखि म २३ वर्षका एक युवकसँग डेट गरिरहेको थिए । उसलाई म भर्जिन भएको थाहा थियो । ३१ डिसेम्बर साँझ म थकित भएर उसको अपार्टमेन्टमा गएको थिए तर मैले मदिरा सेवन भने गरेको थिइन । शरिरमा ठूलो दुखाई भएपछि मेरो निन्द्रा खुल्यो । उ मेरो शरिर माथि थियो । म चिच्याउँदै रोएँ । त्यो साह्रै दर्दनाक थियो ।’
कुनै समयकी चर्चित मोडल पद्मलक्ष्मीले १९८० मा डेट रेप हिंसाको रुपमा नहेरिने भएकाले कसैसँग पनि आफू बलात्कार भएको नबताएको उल्लेख गरेकी छन् । उक्त घटनाको बारेमा बोल्दा सबैले आफैंलाई दोषी बनाउने अवस्था भएपछि चुप लागेर बसेको बताएकी छन् ।
तर ट्रम्पले शुक्रबार ट्वीटरमा ब्रेट असल व्यक्ति भएको र उनको प्रतिष्ठामा केही दाग नभएको लेखेका थिए । वामपन्थी नेताहरुले उनलाई राजनीतिक निशाना बनाएको र फोर्डलाई केही गलत गरेको भए उनले पहिले नै सार्वजनिक गर्न आवश्यक रहेको बताएका थिए । ब्रेटले पनि उक्त आरोपको खण्डन गरेका छन् ।
लक्ष्मीले आफू एक आमा भएको नाताले छोरीलाई कसैले गलत नियतले छुने प्रयास गरे चुप नरहन आग्रह गरेकी छन् । छोरी कसैसँग डराउने, लाज मान्ने नभइकन हरेक दुव्र्यवहारविरुद्ध लड्नु पर्ने उल्लेख गरेकी छन् ।
पद्मलक्ष्मीको जन्म १ सेप्टेम्बर १९७० मा चेन्नाईमा भएको हो । लक्ष्मी दुई वर्षकी हुँदा उनका बुवाआमाको सम्बन्धविच्छेद भएको थियो । पद्मलक्ष्मी अमेरिकामा आमाका साथमा हुर्किएकी हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।