नेपालले शान्तिका लागि चेतावनीको भाषालाई सधैं पन्छाउने गरेको छ: प्रधानमन्त्री ओली

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनीले शान्ति स्थापनाको स्वायत्ततामा सम्झौता गर्ने भएकाले नेपालले सधैँ चेतावनीलाई पन्छाउने गरेको बताउँदै अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको बृहत् अभिरुचिमा सबै मुलुकलाई बलियो भएर उभिन आग्रह गरेका छन् । 

संयुक्त राष्ट्र सङ्घको मुख्यालयभित्र ट्रस्टिसिप च्याम्बरमा आयोजित ‘शान्ति स्थापनार्थ कार्य’ (एक्सन फर पिसकिपिङ) को उच्चस्तरीय बैठकमा प्रधानमन्त्री ओलीले साे आग्रह गरेका हुन् । उनले हरेक द्वन्द्वको परिस्थिति फरक हुने र त्यसका लागि भिन्न उत्तर आवश्यक हुने बताउँदै द्वन्द्वको राजनीतिक समाधान खोज्नुपर्ने र घरमै तयार भएको, राष्ट्रले स्वामित्व लिएको र नेतृत्व दिएको राजनीतिक प्रक्रियाले दिगो शान्ति दिन सक्छ भन्ने कुरालाई नेपालले स्पष्टसँग प्रदर्शन गरेको बताए । 

प्रधानमन्त्री ओलीले नेपालले संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापना गर्ने ४५ अभियानमा एक लाख ३६ हजार सैनिक परिचालन गरेको र यस वर्ष नेपालले राष्ट्रसङ्घीय अभियानमा संलग्नताको ६० वर्ष मनाउँदै गरेको जानकारी दिए । उनले नेपालले राष्ट्रिय कठिनाइको समयमा पनि सैनिक तथा प्रहरी उपलब्ध गराई संयुक्त राष्ट्रसङ्घ वडापत्रको सिद्धान्त तथा उद्देश्यप्रति वचनबद्धता प्रकट गरेको स्मरण गर्दै कर्तव्यको रेखामा आफ्नो जीवनसमेत बलिदान दिने ७३ शान्ति स्थापक तथा बहादुर सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गरे । 

प्रधानमन्त्री ओलीले शान्ति प्रयासमा महिलाको पूर्ण समान तथा अर्थपूर्ण सहभागितामा त्यसको सफलताको प्रमुख तत्त्व  हुने बताउँदै नेपालले शान्तिस्थापकको पेशागत क्षमता सुधार गर्न विश्वस्तरीय तालिम सुविधा उपलब्ध गराउने प्रस्ताव राखे । उनले ‘संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापनार्थ कारबाही सञ्चालनप्रति साझेदारीयुक्त वचनबद्धताको घोषणापत्र’ बाट शान्ति प्राप्त गरी फरक बनाउन चाहेको काम सम्पन्न गर्न सकिने भएकाले आफूले यसलाई समथर्न गरेको बताए । 

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलेको ‘शान्ति स्थापनार्थ कार्य’ (एक्सन फर पिसकिपिङ) को प्रयास यसै वर्ष मार्च २८ मा आरम्भ भएको हो । शान्ति स्थापनाका प्राप्ति तथा भोगिएका चुनौतीका विषयमा समझदारी साझेदारी गर्नु तथा स्थलगत रूपमा शान्ति स्थापना गर्ने कार्यलाई बलियो बनाउन सदस्य मुलुकको राष्ट्रगत तथा सामूहिक वचनबद्धता नवीकरण गर्नु एक्सन फर पिसकिपिङको उद्देश्य रहेको छ । 

‘संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापनार्थ कारबाही सञ्चालनप्रति साझेदारीयुक्त वचनबद्धताको घोषणापत्र’ महासचिव गुटेरेसको पहलको एक भाग हो । उनले संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापनार्थ कारबाही सञ्चालनप्रति राजनीतिक समर्थन नवीकरण गर्न प्रयास गरिरहेका छन् । घोषणापत्रले शान्ति स्थापनार्थ कार्यको राजनीतिक प्रभाव विस्तार गर्न र यसले दिने सुरक्षालाई बलियो बनाउन विशेष वचनबद्धता प्रकट गर्छ । 

यो घोषणापत्र तयार गर्न सदस्य मुलुक तथा सम्बन्धित अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्थाहरू परामर्श लिइएको छ । शान्ति स्थापनार्थ कार्यमा सुरक्षा परिषद्का सदस्य, सेना, प्रहरी तथा शान्ति स्थापना गर्न वित्तीय सहयोग गर्ने दाता, यस्तो कार्य गराउने मुलुकका सरकार तथा क्षेत्रीय तथा उपक्षेत्रीय संस्थाको वचनबद्धता यस घोषणापत्रमा समेटिएको छ । 

शिखर बैठक कक्षमा नेपाली टोलीको रूपमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्ले, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव भरतराज पौडेल, शिष्टाचार महापाल दीपक अधिकारी उपस्थित थिए ।





  • प्रकाशित मिति : असोज १०, २०७५ बुधबार १२:१६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया