ती हल्लाहरु हुन् तिमीले सुनेका…

कोमल वली

२२ जेठ २०७५, मंगलवार

कवि भूपीलाई सम्झिन्छु म आजभोलि पनि दिनहुँजसो । भूपीको यो हल्लैहल्लाको देश हो भन्ने कविता नसुनेका हामी कमै छौँ होला ।

किनकि हाम्रो देशमा निकै छिटो हल्लाहरु चल्छन् । मानौं हल्लाहरुको उडान गर्ने पखेटा अरुभन्दा शक्तिशाली हुन्छन् ।

मैले पनि निकै धेरै हल्लाहरु सुनेकी थिएँ । र, कुनै समय नेपालमा दरबारबारे झन् धेरै हल्ला चल्थे ।

त्यस्तै हल्लामध्ये एक थियो– रानी ऐश्वर्य दीपेन्द्रको जन्म दिन चाहन्नथिन्, बाध्य भएर जन्माएकी हुन् ।

एकजना गुरुको मुखबाट नै मैले सुनेकी थिएँ– तत्कालीन युवराज दीपेन्द्र रानी ऐश्वर्यको कोखमा हुँदा नै दरबारभित्र निकै हल्लखल्ली भएको थियो, रानी ऐश्वर्य त अबोर्ट गर्नुपर्छ कि भन्ने सोच्न सम्म भ्याएकी छिन् ।

मलाई दरबारबारे निकै चासो हुन्थ्यो, किनकि मैले दरबारको छात्रवृत्ति पाएर पढेकी थिएँ । मलाई दरबारले पढाएको थियो । यसको अर्थ के होइन भने मैले आफ्नो क्षेत्रबाट केही पनि गरिनँ, मेहनेत गरिनँ । मैले त्यो एउटा अवसर पाएकी थिएँ, त्यसलाई सदुपयोग गरेर म अगाडि बढेँ ।

तर पनि म राजपरिवारको कोही सहभागि भएको कार्यक्रममा उद्घोषण गर्दा होस् या सहभागि हुँदा किन नहोस्, उहाँहरुबाट केही न केही सिक्न खोजिरहेकी हुन्थेँ । यो स्वभाविक किन थियो भने म एउटा सामन्य परिवारकी छोरी थिएँ, देशकै राजाको घरमा केकस्तो बोल्छन्, कसरी कुरा गर्छन्, के सोच्छन् भनेर थाहा पाउन मन पक्कै लाग्थ्यो ।

२०४१ सालमा म दोहोरी प्रतियोगितामा भाग लिन काठमाडौं आएँ । त्यति बेला अधिराज्यव्यापी दोहोरी प्रतियोगिता सन्चालन भएको थियो । राप्ती अन्चलबाट हामी नारायण पाण्डे, टिका शाह, मंगला चौधरीलगायत हामी आएका थियौँ । महिलाको टोली मैले लिड गरेकी थिएँ । दशरथ रंगशालामा प्रतियोगिता भएको थियो ।

 

पढ्नुस् दरबारबारे कोमल वलीका यसअघिका दुई अन्य सम्झना:

१७ वर्षअघि टुहुरी भएको त्यो दिन

जब श्रुती सरकार अन्मिँदा रानी ऐश्वर्य रुनुभयो…

 

त्यो वर्ष दोहोरी प्रतियोगितामा कोशी अन्चलले सहभागिता जनाएको थिएन । १३ वटा अन्चललाई जितेर राप्ती अन्चलले प्रतिस्पर्धामा पहिलो भयो ।

तत्कालीन अधिराजकुमार धीरेन्द्र त्यो प्रतियोगिताको अतिथि बनेर आउनुभएको थियो । उहाँले नै हामीलाई प्रथम भएवापत् पुरस्कार दिनुभयो ।

त्यसपछि म दोहोरी प्रतियोगितामा अझ धेरै सहभागि हुन थालेँ । त्यसो त त्यसअघि पनि म सहभागि हुन्थेँ, तर त्यो दाङकै आसपास सिमित थियो । दाेहाेरीभन्दा पनि बढी म एथ्लेटिक्सबाट विभिन्न ठाउँहरुमा प्रतियोगितामा गइरहेकी हुन्थेँ ।

२०४२ सालको फागुनमा राष्ट्रिय खेलकुद प्रतियोगिता वीरगन्जमा भयो । दिनभर खेलकुदका प्रतियोगिता हुन्थे भने साँझ दोहोरी प्रतियोगिता हुन्थ्यो ।

त्यो प्रतियोगितामा गण्डकी अन्चल र राप्ती अन्चल फाइनलमा पुगेको थियो । हामी र गण्डकीबीच निकै ठूलो प्रतिस्पर्धा भइरहेको थियो । अत्यन्त टफ कम्पिटिसनमा हामी खेलिरहेका थियौँ ।

त्यो फाइनलमा प्रमुख अथिति बनेर आउनु भएको थियो– तत्कालीन अधिराजकुमार धीरेन्द्र ।

अत्यन्त टफ भइरहेको दोहोरीमा अन्तिममा के टुक्का गाउने भन्ने समस्या थियो । अन्तिममा जवाफ फर्काउने पालो हाम्रो थियो । जसरी पनि जित्नुपर्छ भन्ने ध्यान हुन्थ्यो हाम्रो । अन्तिम टुक्का मैले गाएँ–

त्यसो भन्दा तिमीलाई अब धेरै पर्नेछ भार
यो वलीलाई सक्दैनौँ लैजान, बसेको देखेनौ र चौकीदार

माथि मन्चमा धीरेन्द्र र कार्यक्रमका अन्य अथितिहरु बस्नुभएको थियो । हामी बसेको ठाउँमा भन्दा स्टेजमा थोरै लाइट कम थियो, अँध्यारो थियो । तर, मैले यो टुक्का गाउँदा हातले मन्चमा इसारा गरेको थिएँ । त्यो गाएपछि हामीले गाइरहेको हलमा ठूलो हासोको फोहोरा छुट्यो । पछिसम्म पनि धीरेन्द्रको हासो सुनियो । उहाँ ठूलो स्वरमा हास्नुभएको थियो ।

राष्ट्रिय खेलकुद परिषद्को अध्यक्ष भएकाले धीरेन्द्र त्यहाँ आउनु भएको थियो ।

अन्तिमको यही टुक्काको भरमा हामीले प्रतियोगिता जित्यौँ । गण्डकी अन्चल दोस्रो भयो । हुन पनि त्यो लास्ट झट्काले हल नै गुन्जायमान बनाएको थियो । एक पोइन्टले मात्र गण्डकी दोस्रो भयो । मैले अधिराजकुमार धीरेन्द्रलाई नै चौकीदार भनेको कुरा प्रतियोगिता सकिएलगत्र्त गाइँगुइँ हुन थालिहाल्यो ।

हामीलाई पुरस्कार दिने समयमा धीरेन्द्रले भन्नुभएको थियो, ‘अमेजिङ, आउटस्ट्यान्डिङ ।’ मैले त्यति बेला यी शब्दहरु बुझेकी थिइनँ किनकि म अङ्ग्रेजी वातावरणमा हुर्किएकी थिइनँ । मैले त केवल धीरेन्द्रलाई नमस्कार गरेकी थिएँ ।

त्यसको भोलिपल्ट तत्कालीन सिडिओले हामीलाई वीरगन्जमा रिसेप्सन दिनु भएको थियो । त्यति बेला उहाँले मलाई धीरेन्द्रले मेरो प्रशंसा गरेको सुनाउनु भएको थियो । ‘सरकारले कस्तो हिम्मत भएकी कोमल वली भनिबक्सिएको थियो,’ तत्कालीन सिडिओले मलाई सुनाउनु भएको यही वाक्य थियो ।

त्यो रिसेप्सनमा केहीले मलाई भने– त्यसरी धीरेन्द्र सरकारलाई नै चौकीदार चाहिँ भन्नु हुँदैनथ्यो ।

मैले यसो भन्नेहरुलाई जवाफ दिएकी थिएँ– आ, के भो त, के फरक पर्छ र ?

पहिलो दोहोरी प्रतियोगिता, दोस्रो दोहोरी प्रतियोगिता दुवैमा मैले अथितिका रुपमा आउनु भएकाले सोचेँ– धीरेन्द्र सरकारलाई पनि आर्ट र कल्चरमा ठूलो चासो रहेछ । हुँदैनथ्यो भने उहाँ दुवै प्रतियोगितामा त्यति मग्न भएर सुन्नुहुन्थेन ।

यी दुई भेटपछि मैले धीरेन्द्रसँग भेट्ने अवसर नै पाइनँ ।

दरबारमा अधिराजकुमारी श्रुतीको विवाहमा जाँदा होस् या अन्य दरबारसँग सम्बन्धित कार्यक्रमहरुमा जाँदा किन नहोस्, मैले उहाँलाई देखिनँ । त्यसो त दरबारमा हुने कार्यक्रममा दरबारका आफन्त आउँछन् नै भन्ने हुँदैनथ्यो । आए पनि हामीहरुले सहजै भेट्न सक्दैनथ्यौँ ।
२०४२ सालमा मलाई महिला वर्ष खेलाडी भनेर सम्मान गरिँदै थियो । त्यो वर्ष पुरुष वर्ष खेलाडी चाहिँ अमिरी यादवले जित्नु भएको थियो ।

२०४२ सालको चैतमा घोषणा भए पनि हामीलाई पुरस्कार चाहिँ २०४३ सालमा दिइयो । त्यो कार्यक्रममा धीरेन्द्रको सवारी हुने र सम्मान उहाँले दिने भन्ने हल्ला चलेको थियो । तर, पछि उहाँ आउनु भएन । हामीले तत्कालीन खेलकुद मन्त्रीबाट सम्मान लियौँ । त्यति बेला उहाँ आएको भए उहाँसँग मेरो तेस्रो भेट हुने थियो । सायद, उहाँ लोकगीत गाउने यो कोमल वलीलाई महिला वर्ष खेलाडी भएको देख्दा अचम्ममा पर्नुहुन्थ्यो । तर, धीरेन्द्रसँग मेरो तेस्रो भेट कहिल्यै भएन ।

जम्मा दुई भेट भए पनि त्यति बेला एउटा हल्ला चलेको रहेछ– धीरेन्द्रसँग कोमल वलीको ‘अफेयर’ छ रे ! निकै पछिसम्म पनि यो कुरा भनियो । केही सन्दर्भमा पत्रकार साथीहरुले मलाई यो प्रश्न पनि गर्नुभयो ।

तर, यस्तो कुरा मेरो कल्पना बाहिरको कुरा हो । सिक्थ सेन्सभन्दा पनि बाहिरको कुरा हो यो । न यस्तो कुरा मेरो दिमागमा कहिल्यै आयो न दरबारको एक सदस्यसँग त्यति नजिक हुने मेरो स्तर नै पुग्थ्यो । दरबारको परिवार भनेको एलिट ग्रुपको परिवार थियो, राजसी स्ट्यान्डर्ड हुन्थ्यो उनीहरुको । म चाहिँ एउटा सामन्य परिवारकी युवती थिएँ, गाउँकी । त्यसैले कुनै पनि आधारमा उहाँहरुसँग म नजिक हुन सक्दिनथेँ । तर, बाहिर चलेका हल्लाहरु मैले पनि सुनेकी थिएँ, आजभोलि पनि कोहीकोही मलाई यस्ता कुरा सोध्नु पनि हुन्छ । म हाँसेर ती कुरा टारिदिन्छु । किनकि यस्तो कुरा मेरो सोचभन्दा निकै निकै परको कुरा हो ।

हामी कलाकारको रुपमा होस् या खेलाडीका रुपमा त्यति बेला निकै डिसिप्लिनमा हुन्थ्यौँ, यस्ता विषयमा हाम्रो ध्यान कहिल्यै पनि जाँदैनथ्यो ।

तर, हाम्रै समाजमा चलेका हल्लाहरु मेरो कानसम्म आइपुगे । त्यसैले त म भूपीको कविता बारम्बार सम्झिन्छु– यो हल्लाहल्लैको देश हो । र, कसैले मलाई यो विषयमा कुरा गर्दा बाहिर हाँसेर मात्र टारे पनि मनमा म भनिरहेकी हुन्छु– ती हल्लाहरु हुन्, तिमीले सुनेका… ।

प्रतिक्रिया दिनुहोस
Loading...

फरक धारका अन्य समाचार