फोटो विशेष
[तस्वीरहरु] मास्क नलगाइ संसद पुग्छन् सांसद्, जनतालाई के सिकाउँदैछन् ?
४ असार, २०७७

विश्व अहिले कोरोनाभाइरस महामारीका कारण प्रताडित छ । के धनी, के गरिब, के नेता, के जनता विश्वभर सबैलाई कोरोनाभाइरस संक्रमण देखिएको छ । 

त्यसैले हुनुपर्छ, पश्चिमा देशहरुमा जहाँ पहिले मास्क लगाउँदा ठूलो मजाक गरिन्थ्यो, त्यहाँ पनि अब मास्क अनिवार्य भइसकेको छ । त्यहाँ नेतादेखि जनतासम्म, राजादेखि रैतीसम्म सबैले मास्क लगाउन थालेका छन् ।

विश्व स्वास्थ्य संगठनले आजबाट होइन, यो महामारी सुरु भएको समयदेखि नै बारम्बार भन्दै आइरहेको छ, मास्क लगाउनू । केही दिनअघि मात्र विश्व स्वास्थ्य संगठनले भनेको थियो– बरु घरेलु मास्क किन नहोस्, सबैले लगाउनै पर्छ । मास्क लगाउँदा कोरोनाभाइरस संक्रमण रोकथाममा ठूलो सहयोग पुग्ने निष्कर्ष अब विश्व स्वास्थ्य संगठनको छ ।

जर्मनी, बेलायत, अमेरिका, इटाली, स्पेनलगायतका देशमा अहिले सार्वजनिक स्थानमा जाँदा वा घरबाट बाहिर निस्किँदा मास्क अनिवार्य गरिएको छ । 

अब लागौँ नेपालको प्रसंगमा ।

नेपालमा पनि स्वास्थ्य मन्त्रालयले तथा विभिन्न स्वास्थ्य संगठनहरुले बारम्बार अनुरोध गरिरहेका छन्, मास्क लगाऔँ । मास्क लगाउँदा अहिलेको कोरोना महामारीको संक्रमण जुन रफ्तारमा बढेको छ, त्यो कमी हुनसक्ने अनुमान सबैले गरिरहेका छन् । 

विडम्बना ! हाम्रा सांसदहरु नै संसद पुग्दा मास्कमा देखिँदैनन् । 

बिहीबार प्रतिनिधि सभाको बैठकमा पुगेका केही सांसदहरुमा पनि मास्क लगाएको देखिएन । केही दिनअघि पिसिआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएको थियो, सांसदहरुको । अहिले पनि उनीहरुलाई संसद भवन भित्र छिर्दा ज्वरो नाप्ने गरिन्छ । तर, दिनभर अनेक काममा र विभिन्न व्यक्तिहरुसँग भेटघाट गरिरहेका सांसदहरु मास्क नलगाइ संसदमा पुगिरहेका छन् । एक त उनीहरुले कोरोना संक्रमणलाई फैलाउने सम्भावना बढ्दो छ भने अर्कोतिर संसद बैठक चलिरहेको दृश्य सार्वजनिक भइरहँदा उनीहरुबाट आम नेपालीले के सिकिरहेका छन् ?

बिहीबार संसदमा आइपुग्दा उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले मास्क लगाएका थिएनन् । नेपाली कांग्रेसकै शेरबहादुर देउवादेखि सुजाता कोइरालासम्म पनि मास्क लगाउनु पर्छ भन्ने भुले । अर्का सांसद अमरेश कुमारले पनि मास्क लगाएको देखिएन । नेकपा सांसद् निरु पाल पनि मास्क नलगाइ संसद बैठकमा सहभागी थिइन् ।

जसले सिकाउनु पर्छ, उसैले यस्तो बेवास्ता गर्दा आम मानिसमा कस्तो सन्देश गइरहेको होला ?

 

फोटो बिशेष
यो पनि नछुटाउनुहोस्