फरक विशेष
नेपाली नायिकाहरू मनोरञ्जनको साधन मात्र किन ?
८ असोज, २०७५

काठमाडाै – सानो बजार भएको फिल्म उद्योगमा बढी हल्ला कतै हुन्छ भने त्यो नेपाली फिल्म उद्योगमा नै होला । हुन त, हल्लाकै कुरा गर्दा ग्ल्यामर फिल्डमा हल्ला हुनु स्वाभाविक पनि हो । र, हल्लाकै भरमा नै फिल्महरू सफल भएका उदाहरण प्रशस्तै छन् । 

हरेक हप्ता नेपाली फिल्म दुईदेखि तीनवटा रिलिज हुने गर्छन् । तर, प्रायः अधिकांश नेपाली फिल्म असफल हुने गरेका छन्, आर्थिक रूपले पनि र समीक्षात्मक रूपले पनि । डिबी परियारले निर्देशन गरेको ‘सत्य हरिश्चन्द्र’देखि अहिले प्रदर्शन भएको युवास्टार प्रदीप खड्का अभिनीत ‘रोज’ फिल्मसम्म आइपुग्दा नेपाली फिल्मले प्राविधिक पक्षदेखि ‘कन्टेन्ट’का विषयमा खासै त्यस्तो प्रगति गरेको देखिन्न । 

जति फिल्म बन्छन्, सधैँ मनोरञ्जात्मक फिल्म मात्र निर्माण हुने गरेका छन् । त्यो पनि विदेशी फिल्मबाट अति प्रभावित भएर । यसमा पनि अर्को अचम्मलाग्दो कुरा त के छ भने नेपाली फिल्म ‘प्रेमगीत’को शीर्ष गीत ‘म यस्तो गीत गाउँछु’ बलिउड गीत ‘आँखे है भरी भरी और तुम’को पूर्ण कपी छ । तर नेपाली गीतलाई भने हिन्दीभन्दा अलि ‘फास्ट’ ट्रयाकमा गाइएको छ । भनेपछि हामी कपी गर्नकै लागि फिल्म, गीत बनाउँदै त छैनौँ जस्तो आभाष हुन्छ । 

नेपाली हिरो शिव श्रेष्ठ ललिउड ऊर्फ पाकिस्तान गएर सुपरस्टार बने । त्यतिवेला पाकिस्तानी फिल्म उद्योग नेपाली फिल्म उद्योगभन्दा धेरै पछाडि थियो, बजारदेखि अन्य हरेक हिसाबले । जब कि अहिले एउटै सुपरहिट पाकिस्तानी फिल्मले ५० देखि ७० करोड पाकिस्तानी रुपैयाँँसम्मको व्यापार गर्छ । 

यहाँ प्रसंग अलि फरक छ । यहाँ उठाउन खोजिएको प्रसंग हो, किन नेपाली फिल्मका नायिकाहरूले आफ्नो पारिश्रमिक लुकाउँछन् ? जब कि हरेक फिल्मको शुभमहूर्तदेखि प्रदर्शनको अन्तिम मितिसम्म पनि फिल्मका निर्माता, निर्देशकले नायकलाई दिएको पारिश्रमिकलाई फिल्म प्रचारको गतिलो अस्त्र बनाउँछन् ।

‘अनमोल केसीले ५० लाख’, ‘प्रदीप खड्काले ४० लाख’लगायत विभिन्न कोणबाट सञ्चारमाध्यममा समाचार बाहिरिन्छन् । तर, यस मामलामा नायिका भने गौण हुन्छन् । र, लाग्छ, नायिकाहरू नेपाली फिल्ममा ‘सो पिस’ शिवाय केही पनि होइनन् । हुन पनि हो, प्रायजसो नेपाली फिल्ममा नायिका हुनका लागि ‘हट एन्ड सेक्सी’ शरीर भए पुग्छ । नायिकासँग खोजिने त्यो किसिमको ‘डिमान्ड’ फिल्म उद्योग ‘ग्ल्यामरस फिल्ड’ भएकाले आवश्यक पनि छ । तर, नेपाली फिल्मका निर्माता, निर्देशकले त्यति मात्र खोजेर नायिकाको परिभाषालाई संकुचित बनाएका छन् । 

फिल्ममा हिरोले लिएको पारिश्रमिक सञ्चारमाध्यममा हेडलाइन हुँदै गर्दा नायिकाहरू पारिश्रमिकलाई लिएर किन गौण हुन्छन् त ? यसका आ–आफ्नै कारणहरू छन् । पहिलो त नेपाली फिल्मको नायिका हुनका लागि संघर्ष गरिरहेकाहरूले ‘हट एनड सेक्सी’ फिगर भए पुग्ने कुरा मात्र सोच्छन् । फिल्म समाज परिवर्तनका लागि सबैभन्दा गतिलो अस्त्र हो भन्ने कुरा सोच्दैनन् । बस्, क्यामेरामा अनुहार देखाउन पाए पुग्छ । तर, त्यही बलिउड छेउछाउ बनेका बंगाली फिल्म उद्योगमा भने डेब्यु नायिकाले नै सामाजिक अव्यवस्थाविरुद्ध बहस नै छेडिदिन्छन् । 

फेरि, स्थापित नायिकहरू करिश्मा मानन्धर, रेखा थापा, अहिलेकी चल्तीकी नायिका प्रियंका कार्कीहरू पनि उही तरिकाले चलिरहेका छन् । निर्माता, निर्देशकले जस्तो भूमिका दियो, न्याय गर्न सक्छु कि सक्दिनँ नसोची ‘ओके’ भनिदिन्छन् । जब कि त्यहीँ बलिउडमा आउने वर्ष प्रदर्शन हुने फिल्म ‘मनिकर्णिका’की नायिका कंगना रनौतले फिल्ममा पूर्ण हस्तक्षेप गरिरहेकी छिन् । 

फिल्म प्रदर्शन भएपछि नेपाली फिल्मका नायिकाले आफ्नो भूमिकालाई लिएर गर्व गर्न सक्दैनन् । नत त गर्वका साथ पारिश्रमिक नै देखाउन सक्छन् । 

यसको अर्को कारण पनि छ, यसलाई निकै कडा नारीवादीले भने जसरी भन्दा त ‘पितृसत्तात्मक सामाजिक व्यवस्थाको कारण हो’ भन्लान् । एउटा ढंगबाट त यो सही नै हो । तर, पूर्ण सही भने होइन । यहाँ प्रश्न आइपुग्छ, त्यसो भए महिलाले सशक्तीकरणका लागि के बोले त ? बोले पनि कसरी बोले त ? धन्न केही हदसम्म अन्य क्षेत्रको महिलाले बोलिरहेका छन् । तर, फिल्म क्षेत्रका महिलाहरू विशेष गरेर नायिकाहरूले यस विषयमा बोल्न सकेका छैनन् । बोल्न नसक्नुमा अध्ययनको कमी या पुँजीवादले उनीहरूको मानिसिकतामा थोपरिदिएको ‘ग्ल्यामर मानसिकता’को उपज पनि होला । 

वेलावेलामा बाहिरिने यौनशोषणको विषयमा पनि नेपाली महिलाहरू बोल्दैनन् । हुन त अमेरिकाजस्तो मुलुकमा पनि यस्तो विषयमा लामो समयसम्म महिलाहरू बोल्दैनन् । हलिउड फिल्मका निर्माता हार्भे विन्सिटिनको यौन शोषण काण्डले संसारभर तरंग ल्यायो । सामाजिक सञ्जालमा ‘मी टु ह्यासट्याग’ भाइरल नै बन्यो । नेपाली फिल्ममा त्योभन्दा पनि धेरै यौन शोषण हुन्छ भनेर चिया गफ हुने गरेको छ । त्यसलाई बहसमा ल्याउन भने कुनै पहल भएको छैन । यसमा पहिलो कदम नायिकाहरूले नै उठाउनुपर्छ, तर उनीहरूले कुनै पहल गरेको भने देखिँदैन । 

फेरि पारश्रमिक तिर लागौँ, किन लुकाउँछन् त नेपाली नायिकाहरू पारिश्रमिक ? पहिलो कुरा त नेपाली फिल्म उद्योगमा अपवादबाहेकका नायिकाहरू सोख पूरा गर्नका लागि भित्रिन्छन् । र, पछि बिस्तारै हराएर जान्छन् । यसमा आफ्नै किसिमको बाध्यता होला, तर उनीहरू फिल्म खेल्नकै लागि मात्र खेल्नु प्रमुख कारण हो ।

अहिलेकी चल्तीकी नायिका साम्राज्ञी राज्यलक्ष्मीले पाँच लाख वरिपरि पारिश्रमिक लिने गरेको बताइन्छ । जब कि उनको अपोजिटमा भएका नायकले २५ लाख हाराहारी लिएको भनेर हल्ला मच्चाइन्छ । प्रियंका कार्कीले पनि ६ लाख वरिपरि लिने गरेको बताइएको छ । अन्य नायिकाहरूको पारिश्रमिकको ग्राफ त्यहीअनुसार तलतल झर्दै गएको हुन्छ । 

यही कारण पनि नेपाली फिल्मका नायिकाहरूले पारिश्रमिकलाई लुकाउने गर्छन् भन्दा अतिशयोक्ति नहोला । मनोवैज्ञानिक दबाब हुन्छ, त्यसमा पनि फिल्मको हिरोइन भनेपछि छुट्टै भएर हिँड्नुपर्छ भन्ने मानसिकता छ । त्यो आवश्यक पनि छ । त्यही कारण पनि आफूलाई मेन्टेन गर्न नसकेकै कारण नायिकाहरू यो उद्योगबाट पलायन हुने गरेका छन् । 
ओस्कर नोमिनेटेड ‘ला ला ल्यान्ड’ नायिका एम्मा वाट्सनले सबैभन्दा बढी २६ मिलियन अमेरिकी डलर लिन्छिन् । त्यहीँ सबैभन्दा बढी लिने नायक रोबर्ट डाउनी जुनियरले भने ८० मिलियन अमेरिकी डलर लिन्छन् । बलिउडमा पनि नायिका दीपिका पादुकोणले १४ करोड भारु लिन्छिन् भने सलमान खानले ६० करोड भारु लिन्छन् ।

एउटा एंगलबाट हेर्दा हलिउड र बलिउडमा पनि भेदभाव छ । तर, नेपालमा जस्तो छैन । फिल्ममा पारिश्रमिक कम लिए पनि उनीहरूले खेल्ने फिल्मले सामाजिक सञ्जालमा उनीहरूलाई ट्रेन्डिङमा राखिदिन्छ । जस्तो कि, ‘स्त्री’ फिल्मका कारण अहिले युट्युबमा नायिका श्रद्धा कपुर ट्रेन्डिङमा छिन् । साथै, सामाजिक अव्यवस्थाविरुद्ध आन्दोलन पनि चर्किन्छ । 

नेपाली फिल्मका नायिकाहरूले भने चर्चामा आउनकै लागि सेक्सको विषयमा बोल्ने गर्छन् । ‘म भर्जिन छु’ भनेर अन्तर्वार्ता दिए एकैछिनमा चर्चामा पनि आउँछन् । 

छोटो यात्राका लागि आएकाले पनि नेपाली फिल्मका नायिकाहरूले पारिश्रमिक सार्वजनिक गर्ने गर्दैनन् । र, गर्नलायक पारिश्रमिक पनि पाएका हुँदैनन् । यस विषयमा फिल्म उद्योगमा आउन कसरत गरिरहेका नायिकाहरूले सोच्नुपर्ने अवस्था देखिन्छ । सधैँ नायकको पारिश्रमिक गर्वका साथ प्रचारको सामग्री बनाउने फिल्मका निर्माता, निर्देशकले नायिकाको पारिश्रमिकलाई किन त्यसो गर्दैनन् । 

किन उनीहरूचाहिँ सधैँ ‘सो पिस’ मात्र हुनुपर्ने ? यस विषयमा अहिलेका चल्तीका नायिकाहरूले पनि सोच्न आवश्यक देखिन्छ । 

निष्कर्षमा, नेपाली फिल्म अगाडि नबढ्नुमा सिर्जनशीलता पटक्कै देखिन्न । त्यसमा पनि नायिकाहरूले जतिसुकै खतरा आइटम गीत गरे पनि, जतिसुकै खतरा बेड सिन दिए पनि या जतिसुकै चर्चामा आए पनि त्यहाँ सिर्जनशीलता पटक्कै देखिन्न । जब कि ‘टाइटानिक’ नायिका केट विन्सलेटले खेलेको एकेडेमी अवार्ड विनर फिल्म ‘क्वेल’मा सेक्स सिन छ । दर्शकले उक्त फिल्ममा सेक्सभन्दा ज्यादा ‘आर्ट’ या भनौँ सिर्जनशीलता भेटाउँछ । तर, नेपाली फिल्मका नायिकाहरूले भने आफूलाई कुन रोल किन र कसरी सुहाउँछ भनेर निर्णय लिन पनि सक्दैनन् । अनि मेरो पारिश्रमिक यति हो भनेर गर्वका साथ भन्न कसरी सकून् ? 

अर्को कुरा, भनेको नेपाली फिल्म उद्योगमा फिल्मलाई मनोरञ्जनको साधनसिवाय अन्य कुरा सोच्दै नसोची फिल्म बन्ने गर्छन् । अनि सामाजिक इस्यु आफ्नो जिम्मेवारी नभएको जस्तो गरेर बसिदिन्छन् । जस्तो कि, निर्मला पन्त काण्डमा जनलहर उम्लिएपछि मात्र बोले, सबैले । फिल्मकर्मीहरूले अगाडि नै त्यसबारे बोलेको भए त्यसले सकारात्मक प्रभाव पार्न सक्थ्यो । 

नेपाली नायिकाहरूले आफूलाई मनोवैज्ञानिक रूपमा पहिले सुन्दर देखिनका लागि कसरत गर्छन् । कसरत गर्दागर्दै फिल्म खेल्छन् र त्यतातिरै हराउँछन् । जब कि हलिउड, बलिउडमा नायिकाहरूले सामाजिक इस्युलाई अवसरको रूपमा लिन्छन् । ज्यान दिएर लाग्छन् । पारिश्रमिकको विषयमा खुलेर बोल्छन् । आफैँमाथि भएको विभेदविरुद्ध खुलेर बोल्छन् । नेपाली नायिकाहरूले यस विषयमा सोच्न जरुरी छ । नत्र सधैँ नेपाली फिल्मको पनि, नायिकाको पनि अवस्था उही हुनेछ । उनीहरू सधैँ विभेदमा परिरहनेछन् ।       

फरक विशेष
यो पनि नछुटाउनुहोस्