महन्थ ठाकुर स्वतन्त्र उम्मेदवार कापरभन्दा दोब्बर बढी मतले पछाडि, अन्य क्षेत्रको के छ ताजा मत परिणाम ?

महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–३ मा लोसपा अध्यक्ष महन्थ ठाकुरलाई स्वतन्त्र उम्मेदवारले दोब्बरभन्दा बढी मतले पछाडि पारेका छन् । 

पछिल्लो मतपरिणामाअनुसार त्यहाँ लोसपाका अध्यक्ष महन्थ ठाकुरले १ हजार ९३२ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार रामआधार कापरले ३ हजार ३७६ मत पाएका छन् । त्यस्तै, जसपाका उम्मेदवार हरिनारायण यादव १ हजार ७११ मतसहित तेस्रो स्थानमा रहेका छन् । 

प्रदेशसभातर्फ महोत्तरी–३ को (क)मा जसपाका दीपेन्द्र झाले २ हजार ६९८ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन् भने लोसपाका अभिराम शर्मा २ हजार ६९१ मतसहित उनलाई पछ्याइरहेका छन् । 
३ को (ख)मा स्वतन्त्र उम्मेदवार उज्ज्वल झा २ हजार १५७ मत प्राप्त गरि अग्रस्थानमा रहेका छन् । उनलाई लोसपाकी रानी शर्मा तिवारीले १ हजार १३८ मत ल्याएर पछ्याइरहेकी छन् । त्यस्तै, नेकपा एमालेका रामदयाल मण्डलले पनि १ हजार १३५ मत पाएका छन् । 

महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतोले ४ हजार ५९ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन् भने उनलाई नेकपा माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेलले ३ हजार २६१ मतसहित पछ्याइरहेका छन् । 

प्रदेशसभातर्फ महोत्तरी क्षेत्र नम्बर–१ (क)काे मतगणना अझै सुरु हुन सकेको छैन् । उता, क्षेत्र नम्बर–१ (ख)को पछिल्लो मतपरिणामअनुसार जसपाका राम श्रेष्ठ महतो २ हजार ३४४ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् भने उनलाई माओवादी केन्द्रका उम्मेदवार रहेका मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले २ हजार ३२ मतसहित पछ्याइरहेका छन् ।
 
प्रतिनिधिसभातर्फ महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–२ मा लोसपाका बरिष्ठ नेता शरत सिंह भण्डारी २ हजार ४१९ मतसहित अग्रस्थानमा रहेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार डा. रामपरीक्षण यादवले १ हजार ३८१ मतसहित पछ्याइरहेका छन् । 

प्रदेशसभातर्फ महोत्तरी–२ को (क) र (ख) को मतगणना समाचार तयार पार्दासम्म सुरु हुन सकेको छैन् । 



त्यस्तै, महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभातर्फ ३ हजार २६७ मतगणना हुँदा नेपाली कांग्रेसका महेन्द्र कुमार रायले १ हजार ५४२ मत प्राप्त गरि शुरुवाती अग्रता कायम गरेका छन् । रायलाई जनमत पार्टीका उम्मेदवार मनोज कुमार साहले ८२६ मत प्राप्त गरि पछ्याइरहेका छन् । 

महोत्तरी–४ मा जसपाका नेतासमेत रहेका पूर्वस्वास्थ्य राज्यमन्त्री सुरेन्द्र कुमार यादव ७११ मत ल्याएर तेस्रो स्थानमा सिमित भएका छन् । 



प्रदेशसभातर्फ महोत्तरी–४ को (ख) मा माओवादी केन्द्रका लालेन्द्र कुमार मण्डल ५४७ मत ल्याएर अग्रता कायम गरेका छन् भने उनलाई जसपाका उम्मेदवार सरोज कुमार सिंहले ४०८ मत प्राप्त गरि पछ्याइरहेका छन् । 

समाचार तयार पार्दासम्म महोत्तरी–४ (क) को मतगणना सुरु हुन सकेको छैन ।

  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १८:३८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया