अबको संसद अस्थिर हुने आकलन

प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मत परिणाम हेर्दा आगामी संसद अस्थिर हुने आकलन हुन थालेका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत परिणाम घोषणा हुने क्रम जारी छ । देशभरका केही क्षेत्रका मत परिणाम घोषणा भइसकेका छन् भने धेरै स्थानमा मत गणना कार्य जारी छ । घोषणा भइसकेका र गणना भइरहेका मत परिणामहरु हेर्दा ठूला दलका स्थापित नेताहरु पराजित भइरहेका छन् । नयाँ दलका नयाँ उम्मेदवार तथा पुरानै दलका पनि नयाँ उम्मेदवारहरुले अग्रता कायम राखिराखेको अवस्था छ । 

प्रारम्भिक परिणामहरु हेर्दा ठूला तथा पुराना दलका नेताहरुलाई पाखा लगाउँदै संसदमा थुप्रै संख्यामा नयाँ पार्टी र उम्मेदवारहरु आउने अवस्था देखिएको छ । यसले राजनीतिक स्थायित्व माथि नै प्रश्नचिन्ह खडा गर्नसक्ने विश्लेषण हुन थालेको छ । वरिष्ठ पत्रकार प्रा. पुरुषोत्तम दाहाल संसदमा १० भन्दा बढी राजनीतिक दलहरुको प्रतिनिधित्व हुने बताए । धेरै राजनीतिक दलहरुको संसदमा प्रतिनिधित्व हुनु र कसैको बहुमत नहुनुले संसद अस्थिर हुनसक्ने उनको भनाइ छ । संसदमा वि.सं. २०५१ साल पछिको भद्दा राजनीतिक खेल हुनसक्ने उनले टिप्पणी गरे । नेपाली कांग्रेस पहिलो पार्टी हुने, एमाले दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो हुनसक्ने उनको आकलन छ । 

सत्तारुढ गठबन्धनले अझै पनि बहुमत ल्याउनसक्ने सम्भावना भने कायम रहेको उल्लेख गर्दै उनले अब बन्ने सरकारको नेतृत्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नै गर्नसक्ने बताए । यद्यपि, निर्वाचनमा नेपाली कांग्रेसका मतदाताले माओवादी केन्द्रलाई मत नदिएको भन्दै गठबन्धन टुट्न सक्ने पनि उनले बताए । गठबन्धन टुटेको अवस्थामा नेपाली कांग्रेस र नेकपा (एमाले)को सरकार बन्नसक्ने या कांग्रेसबाहेकका शक्तिको सरकार बन्नसक्ने सम्भावनालाई पनि नकार्न नसकिने बताए । 

संविधानतः सरकार बनेको दुई वर्षसम्म सरकारका विरुद्ध अविश्वास प्रस्ताव ल्याउन नपाइने भएकाले दुई वर्ष सरकार चले पनि त्यसपछि भने अस्थिरताको समस्या बल्झिने उनले बताए । वरिष्ठ पत्रकार दाहालले नयाँ राजनीतिक दलहरुले पुरानो शैलीका कुराहरुलाई दोहोर्याउन नहुने सुझाब दिए । वैचारिक रुपमा पनि नयाँ हुनुपर्ने र कर्म, व्यवहार र आचरणले नयाँपन दिन सक्नुपर्नेमा उनले जोड दिए । नयाँ उम्मेदवार तथा राजनीतिक दलहरुलाई निर्वाचनका क्रममा गरेका खर्चलाई पारदर्शी बनाउन र सार्वजनिक गर्न उनले आग्रह गरे । 

नेपाली राजनीतिका गलत प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउँदै उनले । मुलुकका लागि आवश्यक प्रवृत्तिहरुको विकास गर्नुपर्नेमा जोड दिए । 





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १५:११:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया