विरोध खतिवडाको संसदीय यात्रामा ब्रेक, बाधक बने उनकै ‘चेला’

एकीकृत समाजवादीका नेता तथा पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडा प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन् । मकवानपुर–२ बाट उम्मेदवारी दिएका खतिवडा नेकपा एमालेका महेश कुमार बर्तौलासँग फराकिलो मतान्तरले पराजित भएका हुन् । 

क्षेत्र नम्बर २ मा खसेको ८६ हजार ६ सय ५२ मतमा बर्तौला ३४ हजार ९ सय १६ मतका साथ विजयी भएका हुन् ।  पराजित खतिवडाले ३० हजार ३ सय ९६ मत प्राप्त गरे । बर्तौला र खतिवडाको ४ हजार ५ सय २१ मतान्तरको फरक छ । 

आफ्नै चेलासँग पराजय

२०७४ सालअघिका निर्वाचनमा सँधै विजयी भइरहेका खतिवडाको सांसद यात्रामा ब्रेक लागेको छ । संसद् विघटन हुनुअघि एमालेको सूर्य चिन्हबाट प्रत्येक निर्वाचनमा विजयी भइरहेका खतिवडा यस पटकको संघीय निर्वाचनमा सूर्य चिन्हबाटै पराजित हुन परेको छ । आइतबार भएको निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार बनेका उनलाई गठबन्धनकै मतदाताको पनि मत नआएकै कारण पराजय हुन परेको प्रक्षेपण पनि सुरु भएको छ । 

खतिवडालाई हराउँदै संसद प्रवेश गरेका बर्तौला विरोधले नै राजनीति सिकाएका विद्यार्थी हुन् । मकवानपुर क्षेत्र नम्बर २ का हेभिवेट नेता खतिवडा यसपटक पनि विजयी हुनेमा धेरैको अनुमान थियो । तर, यसपटक संसद छिर्ने खतिवडाको सपना पूरा हुन सकेन । ५ पुस २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि उनी एमाले छोडेर एकीकृत समाजवादीमा लागेका थिए । 

खतिवडा यसअघि २०४८, २०५१ र २०५६ र २०७४ को निर्वाचनमा मकवानपुर–२ बाट निर्वाचित भएका थिए । उनी २०४८ सालको निर्वाचनमा १६ हजार ८६९ मतका साथ विजयी भएका थिए । त्यतिबेला उनले कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ लाई पराजित गरेका थिए । 



त्यस्तै, २०५१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि खतिवडा १६ हजार १ सय ४४ मत पाएर निर्वाचित भए । उनीसँग राप्रपाका कमल थापा, कांग्रेसकी डिना र स्वतन्त्र उम्मेदवार विश्वराज उप्रेती प्रतिस्पर्धामा थिए । 

त्यतिबेला निकटतम प्रतिद्वन्द्वी राप्रपाका थापाले ११ हजार ८ सय ७८ मत पाउँदा कांग्रेसकी डिनाले ३ हजार ७९२ र स्वतन्त्र उम्मेदवार उप्रेतीले ४ हजार ८६६ मत ल्याएका थिए ।



२०५६ मा भएको आम निर्वाचनमा खतिवडा मकवानपुर–२ बाटै उम्मेदवार बनेका थिए । सो निर्वाचनमा उनले राप्रपाका दीपक सिंहलाई हराउँदै १८ हजार २ सय ८१ मतसहित चुनाव जितेका थिए । सिंहले १५ हजार ९ सय १ मत प्राप्त गरेका थिए ।

२०७४ मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा पनि मकवानपुरको क्षेत्र नम्बर २ बाट नै खतिवडाको उम्मेदवारी रह्यो । सो निर्वाचनमा एमाले–माओवादी गठबन्धनको साझा उम्मेदवार बनेका उनी ४६ हजार ४ सय ८१ मतका साथ निर्वाचित भए । 

गत वर्ष मात्रै खतिवडाले ३० वर्षपछि मन्त्री बन्ने अवसर पाए । कोरोना महामारी चलिरहेको चुनौतीपूर्ण स्थितिमा खतिवडाले ८ महिना स्वास्थ्य मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी सम्हाले ।  

  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार ७:५०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया