धनुषाका चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर–१ मा जसपा, २ मा कांग्रेस, ३ मा एमाले र ४ मा एमालेका उम्मेदवारले अग्रता बढाएका छन् । धनुषाको क्षेत्र नम्बर–१ को पछिल्लो मतपरिणामअनुसार जनता समाजवादी पार्टी नेपालका उम्मेदवार दीपक कार्कीले अग्रता कायमै राखेका छन् । कार्कीले ७ हजार ८९२ मत प्राप्त गर्दा नेकपा मओवादी केन्द्रका मातृका प्रसाद यादवले ५ हजार ६३५ मत ल्याएर दोस्रो स्थानमा पुगेका छन् ।
त्यस्तै, जनमत पार्टीका किशोरी साह कमलले ३ हजार ९४६ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मनोज मल्ल ठकुरीले ३ हजार ४५८ मत ल्याएका छन् । धनुषा–२ मा भने पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादव ११ हजार ५६९ मत ल्याएर अग्रता बढाएका छन् भने एमालेका उम्मेदवार उमाशंकर अरगरियाले ११ हजार ५६६ मत प्राप्त गरि दोस्रो स्थानमा झरेका छन् ।
त्यस्तै, नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामचन्द्र झा ९ हजार ८१८ मत ल्याएर तेस्रो स्थानमा पुगेका छन् । त्यस्तै, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार गंगाराम यादव ७ हजार १९० मत ल्याएर तेस्रो स्थानमा छन् भने जनमत पार्टीका उम्मेदवार जयनारायण साहले ६ हजार ४१७ मत ल्याएका छन् ।
धनुषा–३ मा पनि नेकपा एमालेकी उम्मेदवार जुलीकुमारी महतोले २३ हजार ३७० मतसहित अग्रता कायम गरेकी छन् भने पाँचदलीय गठबन्धनबाट लोसपाका अनिल झाले १६ हजार ९४७ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् । धनुषा–४ मा नेकपा एमालेका सचिव रघुवीर महासेठ ७ हजार ८९५ मतसहित अग्रता बढाएका छन् भने नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव ७ हजार ७५२ मत प्राप्त गरि दोस्रो स्थानमा झरेका छन् ।
प्रदेशसभामा कसको के छ अवस्था?
प्रदेशसभातर्फ धनुषा क्षेत्र नम्बर–१ (क) को पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका संजय कुमार महतो ५ हजार ६९५ मत प्राप्त गरेर अग्रता कायम गरेका छन् भने जसपाका सुकेश्वर यादवले ५ हजार २५० मत प्राप्त गरेर उनलाई पछ्याइरहेका छन् । त्यस्तै, जनमत पार्टीका ब्रम्हदेव महतोले ३ हजार ५३० मत पाएका छन् ।
प्रदेशसभातर्फ धनुषा–१ को (ख) मा नेकपा एमालेका रामचन्द्र मण्डलले ६ हजार ६५६ मतसहित अग्रता कायम गरेका छन् भने उनलाई लोसपाका संजय कुमार सिंहले ४ हजार ६४७ मत ल्याएर पछ्याइरहेका छन् । त्यस्तै, जनमतका उम्मेदवार सुरेन्द्र कुमार मण्डलले ३ हजार ९९९ मत पाएका छन् ।धनुषा–२ को (क) मा नेकपा एमालेका लखन दास तत्मा निर्वाचित भएका छन् । तत्माले ११ हजार ५८१ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका दिपेन्द्र कुमार तेथवार यादवले ७ हजार ४३० मत ल्याएका हुन् । यस्तै जनता समाजवादी पार्टीका शैलेन्द्र कुमार यादवले ७ हजार १२८ मत ल्याएका हुन् ।
प्रदेशसभातर्फ धनुषा–२ को (ख) मा जसपाका उम्मेदवार रामअशिष यादव १० हजार ६१४ मत प्राप्त गरि पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । यादवका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका श्याम कुमार यादवले ९ हजार ५६६ मत मात्र पाएका छन् ।
त्यस्तै, नेकपा एमालेका संजिव कुमार सुरजले ९ हजार २०४ मत ल्याएर तेस्रो स्थानमा सीमित भएका छन् । धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ (क) बाट नेपाली कांग्रेसका उम्मेदवार रामसरोज यादव दोस्रोपटक निर्वाचित भएका छन् । सत्ता गठबन्धनको साथ पाएका यादव १७ हजार २९ मत ल्याएर दोस्रोपटक निर्वाचित भएका हुन् ।
उनका निकटम प्रतिद्वन्दी जसपा–एमाले गठबन्धनका उम्मेदवार जसपाका जीतेन्द्र कुमार यादवले १३ हजार ४५९ मत पाएका छन् । त्यस्तै जनमत पार्टीका उम्मेदवार डा. प्रसन्न कुमार झाले ७ हजार १८६ मत पाएका छन् ।
प्रदेशसभातर्फ धनुषा–३ को (ख) मा पछिल्लो मतपरिणामअनुसार लोसपाका उम्मेदवार परमेश्वर साहले २ हजार २५५ मत ल्याएर अग्रता कायम गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार दिपेन्द्र ठाकुरले १ हजार ८३७ मतसहित पछ्याइरहेका छन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार हरिशंकर साहले ९३३ मत पाएका छन् भने जनमत पार्टीका रामबाबु साहले ७९८ मत प्राप्त गरेका छन् । प्रदेशसभातर्फ धनुषा–४ को (क) मा पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार शेषनारायण यादव ५ हजार २८५ मत ल्याएर अग्रस्थानमा रहेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार संतोष यादवले ४ हजार ९२७ मतसहित पछ्याइरहेका छन् ।
त्यस्तै, यस प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव भने ३ हजार ७७२ मत प्राप्त गरि तेस्रो स्थानमा सीमित बनेका छन् । धनुषाको निर्वाचन क्षेत्र नम्बर–४ को (ख)मा समाचार तयार पार्दासम्म मतगणना सुरु हुन सकेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।