कर्णालीको सम्भावना, काठमाडौँबाट विश्वलाई देखाइँदै

काठमाडौं– कर्णाली प्रदेशको प्राकृतिक तथा सांस्कृतिक सम्भावनाहरुलाई चिनाउन काठमाडौंमा प्रदर्शनी गरिने भएको छ । ‘हाम्रा गौरवका पानाहरु र सम्भावनाका खानीहरुको उत्सव’ भन्ने नारासहित ३ देखि ५ फागुनसम्म काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शनी हुन लागेको हो । 

पछिल्लो समय नेपाली युवामाझ घुम्ने परम्परा बढेसँगै उनीहरुलाई कर्णाली प्रदेशमा आर्कषण गर्न यो प्रदर्शनी आयोजना गरिएको प्रदर्शनीका संयोजक उपेन्द्र शाहीले बताए । 

शाहीले कला–संस्कृति, सभ्यता, प्राकृतिक सुन्दरता हुदाँहुदै कर्णाली गरिबी, अशिक्षा, अभाव र विकटताको रुपमा परिभाषित भएकोले उक्त भ्रम चिर्न प्रदर्शनी आयोजना गरिएको जनाए । कर्णाली प्रदेशले मनाइरहेको ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ लाई सफल बनाउने तथा नेपाल सरकारले घोषणा गरेको ‘पहिला देश अनि विदेश’ भन्ने नारालाई कर्णालीबाट बुलन्द पार्नेसमेत उद्देश्य रहेको उनले प्रस्ट्याए ।

प्रदर्शनीले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न चाहने लगानीकर्तालाई समेत आर्कषित गर्ने आयोजकले बताएको छ । यो कार्यक्रम मात्र नभएर समग्र कर्णाली प्रदेशको समृद्धिको एउटा महत्वपूर्ण खुड्किला हुने उसको विश्वास छ ।

कर्णालीमा भएको रारा, मानसरोवर, से–फोक्सुन्डो, काँक्रेविहार, कुभिन्डे दह, चन्दननाथ, दैलेखको ज्वाला, खैरावाङ भगवती मन्दिर लगायतका पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसार गर्ने आयोजकको उद्देश्य छ । यस्तै, कर्णालीलाई रासायनिक मलरहित अर्गानिक कृषि हबको रुपमा प्रचार गर्ने, स्थानीय कृषि उत्पादनको स्वाद काठमाडौंमै चाख्न पाइने आयोजकले बताएको छ । 

ऐतिहासिक खस सभ्यता र नेपालको इतिहाससँग त्यसको साइनो, उच्च हिमाली भेग तथा भोट क्षेत्रको इतिहास आदि विषयमा अनुसन्धानमूलक डकुमेन्ट्रीसमेत कार्यक्रममा प्रदर्शन गरिनेछ । 



लुकेको सम्भावनालाई उजागर गर्दै समग्र प्रदेशको विकास र समृद्धिको लागि प्रदर्शनी गर्न लागिएको भन्दै आयोजकले सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । 
 



  • प्रकाशित मिति : माघ २७, २०७५ आइतबार २०:१९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया