नेकपा एमालेका महासचिव शंकर पोखरेलको जिल्ला दाङः दाङमा एमाले शून्य

नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनमा हार व्यहोरेका छन् ।

उनी झिनो मतअन्तरले नेकपा माओवादी केन्द्रकी रेखा शर्मासँग पराजित भएका हुन् । पोखरेलले यो क्षेत्रमा २६६८१ मत ल्याएर जित निकाल्दा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले २६ हजार ८ सय ७७ मत ल्याएकी छिन् ।

पोखरेलले मात्र होइन, दाङबाट यसपटक प्रतिनिधि सभामा नेकपा एमालेको कुनै प्रतिनिधित्व आएको छैन । 

दाङको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा पनि नेकपा एमालेकी शान्ता चौधरी पराजित भएकी छिन् ।

उनलाई नेकपा एकीकृत समाजवादी पार्टीका मेटमणि चौधरीले पराजित गरेका हुन् । त्यहाँ शान्ताले २१४७९ मत ल्याइन् भने मेटमणिले २६५६३ मत ल्याए ।

दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेले जित निकाल्न सकेन । दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार थिइन्, कोमल वली ।



कोमल वलीले २९०३२ मत ल्याइन् । तर, उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका दिपक गिरीले ३६ हजार ८ सय ४२ मत ल्याएर निर्वाचित भए ।

नेकपा एमाले महासचिव शंकर पोखरेलकै जिल्लाबाट प्रतिनिधि सभामा यसपटक शून्य उपस्थिति भएको छ ।



प्रतिनिधि सभामा शून्य भएको नेकपा एमाले दाङबाट प्रदेश सभामा पनि शून्य भएको छ । दाङबाट लुम्बिनी प्रदेशको प्रदेश सभामा पनि कोही एमालेका नेता देखिने छैनन् ।

त्यहाँको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का दुई प्रदेश सभामा नेकपा एमालेका उम्मेदवार गंगाराम भट्टराई र कुलबहादुर क्षेत्री दुवै जना पराजित भएका छन् ।

त्यसको क्षेत्र नम्बर १ बाट इन्द्रजीत थारु निर्वाचित भए, उनी नेकपा माओवादी केन्द्रका हुन् । त्यस्तै, दुई नम्बर क्षेत्रबाट अनुराग खड्का निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसका हुन् ।

दाङको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा कमा नेपाली कांग्रेसका राजु खनाल निर्वाचित भएका छन् । त्यहाँ नेकपा एमालेका बलिभद्र रानाले पराजय भोगे ।

दाङको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा खमा नेपाली कांग्रेसका प्रचण्डविक्रम न्यौपाने निर्वाचित भए । उनले नेकपा एमालेका गिरीराज केसीलाई पराजित गरे ।

दाङ क्षेत्र नम्बर तीनका दुई प्रदेश सभामा पनि एमालेका दुवै उम्मेदवार पराजित भए । त्यहाँको क्षेत्र नम्बर कमा डिल्लीबहादुर चौधरी निर्वाचित भएका छन्, उनी नेपाली कांग्रेसका हुन् । उनले घनश्याम पाण्डेलाई हराएका हुन् ।

यो क्षेत्रको प्रदेश खमा धनबहादुर मास्की निर्वाचित भएका छन् । उनी नेकपा माओवादी केन्द्रका हुन् । उनले नेकपा एमालेका हुकुमबहादुर बस्नेतलाई पराजित गरेका हुन् ।

 

शंकर पोखरेलको कमजोरीः गुटमा रमाउने

दाङका सबै निर्वाचन क्षेत्रबाट एमाले क्लिन स्विप भएपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलमाथि प्रश्न उठेको छ । उनले दाङमा समेत गुटवादलाई प्रश्रय दिएको आरोप लागेको छ । 

शंकर पोखरेलले निर्वाचन अवधिमा दाङमा आफ्नोबाहेक अरु क्षेत्रमा एकपटक पनि सम्बोधन नगरिदिएको आरोप त्यहाँका एमाले कार्यकर्ताले लगाउँदै सामाजिक सन्जालमा लेख्न थालेका छन् । उनीहरुले शंकर पाेखरेल गुटमा रमाउने भएकाले याे अवस्था आएकाे पनि टिप्पणी गर्न थालेका छन् ।

  • प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार १०:४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया