निर्वाचन सकिएपछि बागमतीमा मुख्यमन्त्री बन्ने होडबाजी, कसले पाउला जिम्मेवारी ?

देश संघीयतामा गएपछिको दोस्रो प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते सम्पन्न भइसकेको छ । प्रदेशका कतिपय जिल्लाका मतपरिणामहरु आइसकेको छ भने कतिपय जिल्लामा मतगणना जारी छ । निर्वाचन सफल भएपछि अब १३ जिल्लाको प्रतिनिधित्व गर्दै संघीय राजधानीको पनि राजधानी बागमती प्रदेशको मुख्यमन्त्रीको कुर्सी कसको भागमा आउला अहिले सबैको चासोको विषय बनिरहेको छ । 

पहिलो कार्यकालमा हालसम्म तीन जना मुख्यमन्त्री पाएको बागमतीमा दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री को बन्लान्, त्यो हेर्न अझै केही समय कुर्न पर्ने नै छ । तर को मुख्यमन्त्रीको आकांक्षी ? कसको पहुँच कति ? यसलाई आधार मान्ने हो भने पनि बागमती प्रदेशको मुख्यमन्त्रीको दाबेदारको रूपमा चार जनाको नाम चर्चामा रहेको छ ।

जसमध्ये ५ वर्ष बागमती प्रदेशको सभामुख पद सम्हालेका सानुकुमार श्रेष्ठ भने काठमाडौं प्रदेशसभा २ को (क) मा पराजित भएका छन् । श्रेष्ठको पराजय सँगै एमालेले अर्का सांसदलाई मुख्यमन्त्रीको दाबेदारमा प्रस्तुत गर्ने भएको छ । यहाँ केही दाबेदार हेरौँ :

इन्द्रबहादुर बानियाँ 
कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँ मुख्यमन्त्रीको मुख्य दाबेदार हुन् । एमाले विभाजनसँगै प्रदेश सरकार ढलेपछि सत्तारूढ गठबन्धनमा ६/६ महिनाको आलोपालोमा सरकारको नेतृत्व गर्ने लिखत सहमति भएको थियो । तर, एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले ८ महिनापछि सरकारको नेतृत्व छोड्न मानेनन् । यहाँको मुख्यमन्त्री परिवर्तनले अन्य प्रदेशमा पनि हलचल ल्याउला भन्ने केन्द्रको ठम्याँइले बानियाँलाई चुप बस्न लगाइएको चर्चा चलेको थियो । जसले गर्दा कांग्रेसका नेता बानियाँ मुख्यमन्त्री बन्नबाट वञ्चित भए । 

तर आगामी ५ वर्षको लागि भने मुख्यमन्त्री बन्नकै लागि बानियाँ प्रदेश सभामा चित्त बुझाएका थिए । अघिल्लो कार्यकालमै मुख्यमन्त्री पाउनुपर्ने बानियाँले अबको कार्यकालमा भने मुख्यमन्त्री नछोड्लान् भन्ने अड्कलबाजी लगाउन सकिन्छ । मकवानपुर २ ‘ख’ बाट प्रदेश सभा सदस्यमा विजयी भएका बानियाँ बागमती प्रदेशको मुख्यमन्त्रीको प्रमुख दाबेदार हुन् । मकवानपुर प्रदेश सभा क्षेत्र नम्बर २(ख) मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ विजयी भएका छन् । 

जम्मा ४० हजार ५ सय ९९ मत खसेकोमा बानियाँ १८ हजार ७ सय १६ मत ल्याउँदै  प्रदेश सभा सांसदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लालबहादुर थापामगरसँग १७ सय ८२ मतान्तरले उनी विजयी भएका हुन् । थापामगरले १६ हजार ९ सय ३४ मत प्राप्त गरेका छन् । बानियाँ बागमती प्रदेशको मुख्यमन्त्रीका दाबेदारसमेत हुन् । 



शालिकराम जम्कट्टेल
सत्तारूढ गठबन्धनकै घटक माओवादीबाट शालिकराम जम्कट्टेल पनि मुख्यमन्त्रीको दौडमा छन् । उनी सत्ता गठबन्धन दलमा रहे पनि मुख्यमन्त्रीको लागि भने गठबन्धन भित्र नै प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा माओवादी केन्द्र तर्फबाट जम्कट्टेललाई नै मुख्यमन्त्री बनाउने उद्देश्यका साथ उनको पुनः प्रदेश सभा सदस्यमा नै उम्मेदवारी रहेको स्रोतको दाबी छ । 

उनी प्रदेश सरकार गठन भएदेखि प्रायः सत्तामै छन् । एमाले–माओवादीको गठबन्धनमा बनेको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री थिए । उनले प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न खोजेका थिए । तर, मुख्यमन्त्रीका रूपमा दाबी गर्न पार्टीले प्रदेश सभा सदस्यको उम्मेदवार बनाएको माओवादी नेताहरू बताउँछन् । माओवादी नेता जम्मकटेल धादिङ १ (२) बाट विजयी भएका हुन् । उनले एमालेका गजेन्द्र भण्डारीलाई ७ हजार ४ सय २५ मतले पराजित गरेका छन् ।



कृष्णप्रसाद खनाल
नेकपा एकीकृत समाजवादी पार्टीबाट प्रदेशका बहालवाला आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनाल मुख्यमन्त्री बन्ने दौडमा छन् । प्रदेश सरकारमा मुख्यमन्त्री बन्नकै लागि खनाल चितवन–१ (ख) बाट प्रदेशसभा सदस्य पदका लागि चुनावी मैदानमा उत्रिएका उनले विजय हासिल गरेका छन् ।

खनाल यसअघि प्रदेशको सामाजिक विकास मन्त्री पनि भएका व्यक्ति हुन् । अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा मन्त्री बनेका थिए । १५ दिन मन्त्री पद सम्हाले पनि उनले सो सरकारबाट राजीनामा दिएर एमालेबाट विभाजित भएर बनेको पार्टी एकीकृत समाजवादी पार्टीमा आबद्ध भए, र २ महिना नबित्दै उनी फेरि मन्त्री बनका खनाल अब प्रदेशको मुख्यमन्त्रीको दौडमा छन् । 
गठबन्धन दलबाट विजयी भएका खनालले १५ हजार ५ सय ७ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका प्रकाश खनालले १४ हजार ७ सय ६८ मत ल्याएका छन् । 

जगन्नाथ थपलिया
बागमती प्रदेशको मुख्यमन्त्रीको दाबेदारमा चितवनबाट निर्वाचित प्रदेश सभा सदस्य जगन्नाथ थपलियालाई अघि सार्ने नेकपा एमालेको रणनीति रहेको बुझिएको छ । पूर्व सभामुख सानुकुमार श्रेष्ठ पराजित भएपछि एमालेले थपलियालाई अघि सार्ने सर्कुलर बनिरहेको स्रोतको दाबी छ । प्रदेशको प्रथम मुख्यमन्त्री डोरमणी पौडेलको राजनीतिक सल्लाहकारको भूमिका निर्वाह गरेका थपलिया नेकपा एमालेको केन्द्रीय सचिव समेत हुन् ।

चितवन निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (१) मा नेकपा एमालेका जगन्नाथ थपलिया निर्वाचित भएका छन् । थपलियाले १७ हजार ६८८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किरणभुषण ओलीले १० हजार ७१२ मत ल्याएका छन् ।  

  • प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार १६:२१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया