एमाले अध्यक्ष केपी ओलीका ‘छोरा’ ‘छोरी’ दुवै पराजित

नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीलाई ‘बा’ सम्बोधन गर्नेहरु अहिले धेरै छन् । कतिसम्म भने आफूलाई कम्युनिस्ट पार्टीका भन्ने एमालेमा केपी कमरेड भन्नेहरुभन्दा अहिले केपी बा भन्नेहरुको संख्या धेरै छ । 

केपी ओली आफ्नो संरक्षक भएको र उनले अभिभावकको भूमिका निर्वाह गरेकाले आफूहरुले केपी कमरेड भन्न छोडेर केपी बा भन्न थालेको एमालेको भातृ संगठनका पूर्वअध्यक्षद्वय महेश बस्नेत र निरु पालले बारम्बार भन्दै आइरहेका छन् । उनीहरु केपी ओलीलाई बा भन्ने धारणा विकास गरेको आफूहरुले भन्दै त्यसको श्रेय पनि लिन चाहन्छन् ।

एमालेमा बा प्रवृत्ति र यसका गुण र अवगुणबारे विभिन्न तर्कवितर्क हुने गरेका छन् ।

तर, उनलाई २०६४ सालदेखि बा भन्न थालेकी थिइन् निरु पालले । २०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा तत्काली माओवादीले सबैभन्दा धेरै सिट जित्यो । एमाले ३४ सिटमा खुम्चियो र तेस्रो दल बन्यो ।

बस्नेतसहितको टिमबाट त्यति बेला एमालेले युथ फोर्स गठन गर्यो । त्यसको अभिभाकत्व लिएका थिए, ओलीले । 

युवासंघमा आवद्ध निरु पालले त्यति बेला देखि नै केपी ओलीलाई बा भन्न थालिन् । उनले आफूहरुले श्रद्धाले केपी ओलीलाई बा भन्न थालेको र ओलीले अभिभाकत्व निर्वाह गर्ने भएकाले बा भनेको बताउँदै आएकी छिन् । निरु पालले बा भन्न थालेपछि महेश बस्नेतलगायत युवा संघका अन्यले पनि केपी ओलीलाई बा भन्न थाले ।



महेश बस्नेतले त आफूलाई केपी शर्मा ओलीले बारम्बार कपडासमेत दिएको र निकै चासो राख्ने भएकाले बाको भूमिकामा उनलाई राखेको बताउँदै आएका छन् ।

त्यसो त, नेकपा एमालेमा अहिले र तत्कालीन समयमा युवा संघमा हुँदा केपी शर्मा ओलीले यी दुई जना महेश बस्नेत र निरु पाललाई एकोहोरो समर्थन पनि गरिरहेका थिए, संरक्षण पनि गरिरहेका थिए । केपी ओलीसँगै निकट भएकाले हुनुपर्छ, यी दुईले केपी ओलीबाट निरन्तर आर्शिवाद पनि पाइरहेका छन् । 



जस्तो कि, चुनाव हारेका महेश बस्नेतलाई केपी ओलीले तत्कालीन सुशील कोइरालाको नेतृत्वमा सरकारमा सुदूरपश्चिमका कर्ण थापालाई मन्त्रीबाट हटाएर महेश बस्नेतलाई मन्त्री बनाए । त्यस्तै, निरु पाललाई आफू पहिलो पटक मन्त्री हुँदा जनसम्पर्क विज्ञ भन्ने पद खडा गरेर त्यसमा नियुक्त गरे ।

तर, यसपटक भएको आम निर्वाचनमा ओलीका यी दुवै ‘छोरा’ ‘छोरी’ पराजित भएका छन् । महेश बस्नेत भक्तपुर २ बाट पराजित भएका हुन् । उनले २०७४ सालमा यही क्षेत्रबाट निर्वाचनमा जित निकालेका थिए, नेपाली कांग्रेसका पूर्वसभामुखसमेत रहेका दमननाथ ढुंगानालाई ठूलो मतान्तरले पराजित गरेर ।

यसपटकको निर्वाचनमा पनि उनले आफूले तीन गुणा बढी मत ल्याएर जित्ने दाबी गर्दै आएका थिए । तर, भक्तपुरका जनताले उनको दोस्रो पटक संसदमा प्रवेश चाहनामा ब्रेक लगाइदिए । नेपाली कांग्रेसका दुर्लभ थापाले त्यहाँ २४ हजार २ सय ३९ मत ल्याए । बस्नेतले २३ हजार २ सय ८२ मतमा चित्त बुझाउनु पर्यो ।

ओलीलाई २०६४ सालदेखि नै बा भन्न थालेकी निरु पाल पनि यसपटक निर्वाचनमा पराजित भएकी छिन् ।

उनी नेकपा एमालेबाट कन्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार थिइन् । उनका प्रतिस्पर्धी थिए, नेपाली कांग्रेसका रमेश लेखक ।

पालले १८४४८ मत ल्याउँदा लेखकले उनको भन्दा १२ हजार मत बढी ल्याए । लेखकले ३० हजार ५ सय २३ मत ल्याएर पाललाई पराजित गरेका हुन् ।

  • प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार १७:३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया