अहिले ‘भ्यालेन्टाइन विक’ चलिरहेको छ । फेब्रुअरी ७ बाट १४ मा भ्यालेन्टाइन विक मनाइन्छ । जसमध्ये फेबु्रअरी १० लाई टेडी डेको रुपमा मानिन्छ ।
आफ्ना प्रियजनलाई उपहार दिन र प्रेमभाव प्रस्तुत गर्न टेडीको प्रयोग गरिन्छ । तर थोरै मानिसलाई मात्र यसको प्रचलन कहाँबाट सुरु भयो र यसको नाम कसरी टेडी रह्यो भन्ने बारे थाहा छ ।
सन् १९०२ को १४ नोभेम्बरमा मिसिसिपी राज्यका गर्भनर एन्ड्रु एच लान्गिनोको निमन्त्रणामा अमेरिकाका राष्ट्रपति थियोडोर टेडी रुजवेल्ट एक पटक भालूको शिकार गर्न मिसिसिपी गएका थिए । तर उनले त्यहाँ एउटा भालु पनि शिकार गर्न पाएनन् ।
त्यसपछि रुजवेल्टका असिस्टेन्ट हल्ट कलियरले एक कालो भालूलाई रुखमा बाँधे र रुजवेल्टलाई उसको शिकार गर्न सल्लाह दिए तर भालुको निर्दोषपन देखेर रुजवेल्टले उसलाई गोली हानेन् । शिकार गर्न गएका राष्ट्रपति भालुप्रति स्नेह देखाउँदै त्यत्तिकै घर फर्किए ।
त्यतिबेला यो घटना धेरै समाचारपत्रमा प्रकाशित भयाे । पछि क्लिफोर्ड बेरीम्यान नामका पोलिटिकल कार्टुनिस्टले यो घटनालाई कार्टुनको रुपमा लेखे । यो कार्टुन १६ नोभेम्बर १९०२ मा वासिङटन पोस्टमा प्रकाशित भएको थियो ।
यो कार्टुनबाट प्रेरित भएका बु्रकलिनका एक पसले मरिस मिकटमले आफ्नी पत्निसँग मिलेर एउटा भालु बनाए । उक्त भालु उनले रुजवेल्टलाई समर्पित गरेका थिए । राष्ट्रपतिको नामबाट मिटकमले यस भालुको नाम ‘टेडी बियर’ राखे ।
रुजवेल्टको अनुमति पाएपछि मिटकमले उनको नामको प्रयोग गरी ठूला–ठूला टेडी बियर बनाउन सुरु गरे र एउटा कम्पनी नै खोले । यसपछि विस्तारै विस्तारै बच्चाको खेलौनाको रुपमा टेडी बियर विश्वभर फैलिन थाल्यो । पछि यसलाई प्रेम अभिव्यक्त गर्न र आफ्ना प्रिय व्यक्तिलाई उपहार दिन यसको प्रयोग बढ्यो र अहिले प्रेम दर्शाउने एउटा महत्वपूर्ण माध्यम बन्यो ‘टेडी बियर’ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।