सुदूरपश्चिममा गठबन्धनको बहुमत, को बन्लान् मुख्यमन्त्री ?

केन्द्रमा सरकार गठनका लागि सत्तारुढ दलहरुबीच गृहकार्य जारी रहेका वेला सुदूरपश्चिममा प्रदेशमा पनि मुख्यमन्त्री को बन्ने चर्चा सुरु भएको छ । सुदूरपश्चिममा बाजुरा बाहेक सबै जिल्लामा प्रत्यक्ष तर्फको मत परिणाम आइसकेको हुँदा दलहरू भित्र मुख्यमन्त्री को बन्ने विषयले चर्चा पाएको हो । सुदूरपश्चिममा गठबन्धन दलकै सरकार बन्ने सम्भावना छ । 

यद्यपि दलहरू बिच केन्द्रमा कस्तो समीकरण बन्छ त्यसमा पनि भर पर्ने कतिपय नेतारुहरुको भनाई रहेको छ । सुदूरपश्चिममा मुख्यमन्त्री को बन्छ भन्ने विषयमा अहिले छलफल हुन नसकेको नेपाली काँग्रेस सुदूरपश्चिमका पार्टी सभापति एवं भर्खरै कैलाली–४ बाट निर्वाचित प्रतिनिधि सभा सांसद बीरबहादुर बलायरले बताए । ‘मुख्यमन्त्रीमा काँग्रेसको दाबी रहन्छ,’ उनले भने, ‘यद्यपि केन्द्रमा कस्तो समीकरण बन्ने हो त्यसमा भर पर्छ ।’ 

सुदूरपश्चिममा प्रदेशका प्रत्यक्ष ३० स्थानको नतिजामा सत्तागठबन्धनले बढी स्थानमा जीतको छ । गठबन्धनले ३० मध्ये २१ स्थानमा जीत निकाल्दै प्रदेश सरकार बनाउन सुविधाजनक बहुमत प्राप्त गर्ने भएको छ । प्रत्यक्षतर्फ बाजुराका २ क्षेत्रको परिणाम आउन बाँकी छ भने समानुपातिकतर्फ २१ सिटमध्ये बढी सिट गठबन्धनकै भागमा पर्ने मत परिणामले देखाएको छ ।

२०७४ मा बाम गठबन्धनलाई दुई तिहाइ नजिक बहुमत दिएका सुदूरपश्चिमका मतदाताले यो पटक पनि पाँच दलीय गठबन्धनलाई सहज हुने गरी मतदान गरेको प्रत्यक्षतर्फको मत परिणामले स्पष्ट देखाएको छ । प्रत्यक्षतर्फ गठबन्धनको मुख्य दल नेपाली काँग्रेसबाट सबैभन्दा बढी प्रदेश सभा सदस्य निर्वाचित भएका छन् । नेपाली कांग्रेसका कैलाली र कञ्चनपुरबाट ३/३ जना प्रदेश सभा सदस्य निर्वाचित भएका छन् भने अछाम जिल्लाबाट दुई जना सदस्य निर्वाचित भएका छन् । यस्तै बैतडी, दार्चुला, बझाङबाट १/१ जना सदस्य निर्वाचित भएका छन् ।

नेपाली काँग्रेसका कैलालीबाट प्रकाशबहादुर देउवा, प्रकाशबहादुर बम र कमलबहादुर शाह निर्वाचित भएका हुन् । कञ्चनपुरबाट दिवानसिंह विष्ट, बहादुर सिंह थापा र बेलबहादुर राना मगरले चुनाव जितेका छन् । यस्तै, बझाङबाट पृथ्वीबहादुर सिंह, बैतडीबाट नेपाली काँग्रेसका शिवराज भट्ट, दार्चुलाका विक्रमसिंह धामी, अछामबाट मेघराज खड्का र मानबहादुर रावल निर्वाचित भएका छन् । 

काँग्रेस भित्र कञ्चनपुरबाट निर्वाचित बहादुर सिंह थापा र दिवानसिंह विष्ट मुख्यमन्त्रीको दौडधुपमा रहेका छन् ।  यस्तै, प्रदेशमा नेकपा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ ८ जना निर्वाचित भएका छन् । कैलालीबाट रमेश धामी, डडेल्धुराबाट खगराज भट्ट, अछामबाट अक्कलबहादुर रावल र झपटबहादुर साउँद प्रदेश सभा सदस्यमा चुनिएका छन् । यस्तै, कञ्चनपुरबाट ओमविक्रम भाट, दार्चुलाबाट मानबहादुर धामी र बझाङबाट भीमबहादुर भण्डारी र डोटीबाट शिवसिंह ओली पनि माओवादी केन्द्रबाट निर्वाचित भएका छन् ।



माओवादी केन्द्रभित्र निर्वाचन सम्पन्न हुनु भन्दा पहिले नै डडेल्धुराबाट निर्वाचित खगराज भट्टको नाम मुख्यमन्त्रीमा चर्चा रहेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनका समयमा गठबन्धनले जिते माओवादी प्रदेश इन्चार्ज खगराज भट्ट नै मुख्यमन्त्री बन्ने सार्वजनिक कार्यक्रममा बताएका  थिए । 

नेकपा एकीकृत समाजवादीबाट कैलालीबाट दीर्घबहादुर सोडारी र कञ्चनपुरबाट प्रकाश रावल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । यो सँगै २१ सिट प्रत्यक्षमा जीतेको सत्ता गठबन्धनले समानुपातिकतर्फबाट प्राप्त गर्ने सिट संख्या जोड्दा सहजै सरकार बनाउन सक्ने देखिएको छ ।



तर, सत्ता गठबन्धनले प्राप्त गर्ने प्रदेश सभा सदस्यको संख्या यकिन गरेर भन्न समानुपातिक मत गणनाको परिणाम आउनुपर्छ । गठबन्धन दलका शीर्ष नेतृत्व पूर्व सहमतिबाट पछि नहटे पाँच दलीय गठबन्धनको बहुमतको सरकार बन्ने र सरकारको नेतृत्व नेपाली कांग्रेस र माओवादी केन्द्रमध्ये एउटाले गर्नेछ । 

गठबन्धनले २१ स्थानमा जीत निकाल्दा नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्रका ९ जना प्रदेश सभा सदस्यले जीत निकालेका छन् । गठबन्धनले समानुपातिकबाट आउने सिटसमेत जोड्दा सहजै प्रदेश सरकार बनाउन बहुमत पुगेको छ ।

मुख्यमन्त्रीका दाबेदार बहालवाला दुई मन्त्री पराजित
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका प्रमुख दाबेदार दुई प्रदेश सभा सदस्यको चुनावमा पराजित भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावल र सामाजिक विकास मन्त्री गोविन्दराज बोहरा चुनावमा पराजित भएका हुन । मन्त्री रावल कैलाली क्षेत्र नं. १ प्रदेश सभा ‘ख’ मा चुनाव लडेका थिए । उनले २०७४ को निर्वाचन सोही निर्वाचन क्षेत्रबाट जितेका थिए ।

मन्त्री रावललाई नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीले पराजित गरेका हुन । पराजित रावलले आठ हजार ५३ मत प्राप्त गरे भने विजयी चौधरीले ११ हजार ३१७ मत पाए । रावल र चौधरीबिचको मतान्तर तीन हजार २६४ रहेको छ । रावल नेपाली कांग्रेसको संसदीय दलको नेता पनि थिए । यसै गरी, सामाजिक विकास मन्त्री बोहरा डडेल्धुरा प्रदेश सभा ‘ख’ मा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशीसँग पराजित भएका छन् । 

पराजित बोहराले १० हजार ९७० मत पाए । मन्त्री बोहरा ४२५ मतान्तरले पराजित भए । निर्वाचित जोशीले ११ हजार १७० मत प्राप्त पाए । पराजित भएका दुवै जना मन्त्री बाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारको रूपमा नेपाली काँग्रेसबाट चुनाव लडेका थिए । 

  • प्रकाशित मिति : मंसिर ११, २०७९ आइतबार १२:३७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया