माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावको परिणाम आउनुअघि नै एकता गर्ने तयारी

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावको परिणाम आउनुअघि नै पार्टी एकता गर्ने तयारी गरेका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताबीच यस विषयमा छलफल निकै अघि बढेको बताइएको छ ।  

स्थानीय निर्वाचनपछि माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताबीच चुनावअघि नै पार्टी एकता गर्ने विषयमा छलफल भएको थियो । 

१९ असारमा तत्कालीन नेकपाका पाँचजना सचिवालय सदस्यहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल र वामदेव गौमतबीच छलफल भएको थियो । ललितपुरको सातदोबाटोस्थित एक घरमा भएको सो छलफल सकारात्मक रुपमा अघि बढेको नेताहरुले बताएका थिए ।  

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले उक्त भेटमा चुनावअघि नै दुई पार्टीको एकता गर्ने विषयमा गम्भीर छलफल भएको बताएका थिए । चुनावअघि एकता सम्भव नभएपछि दुवै दल कांग्रेस नेतृत्वको गठबन्धनमार्फत चुनावमा गएका थिए । 

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनले अपेक्षित सफलता गर्न सकेन । माओवादी र एकीकृत समाजवादीले कांग्रेसको सहयोग नपाएको बताउँदै आएका छन् । कांग्रेसका नेताहरुले पनि सोचेजस्तो सफलता पाउन नसकेको र गठबन्धन पूर्ण रुपमा सफल हुन नसकेको बताउँदै आएका छन् । 

गठबन्धनले अपेक्षित सफलता नपाएपछि उनीहरुको आगामी सहयात्रा नै संकटमा परेको आकलन सुरु भएको थियो । चुनावी परिणाम नआउँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओपादी अध्यक्ष पुष्पकमल दाहालबीचको संवादले सो सम्भावनालाई बल पुगेको थियो । ओलीले अब मिलेर जान राखेको प्रस्तावमा प्रचण्डले सबै चुनावी परिणाम आइसकेपछि छलफल गर्ने जवाफ दिएका थिए । 



तर, शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष  प्रचण्डबीच गठबन्धनकै सहयात्रालाई अघि बढाउने सहमति भएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । सत्ता गठबन्धनमा अझै बलियो शक्तिका रुपमा प्रस्तुत हुनका लागि माओवादी र एकीकृत समाजवादी एकताको तयारीमा लागेका हुन् ।  

कांग्रेस र माओवादीलाई समानुपातिकतर्फका सिटका कारण खासै घाटा नभए पनि गठबन्धनमा रहेको एकीकृत समाजवादीले समानुपातिकतर्फको सिट पाउने सम्भावना न्यून देखिएको छ । ८० लाख हाराहारी मतगणनामा एकीकृत समाजवादीले दुई लाख ३६ हजार मत प्राप्त गरेको छ । थ्रेसहोल्ड कट्नका लागि समानुपातिकमा सवा तीन लाखभन्दा माथि मत आउनुपर्ने देखिन्छ । त्यो सम्भावना न्यूनप्रायः छ ।



निर्वाचन परिणामले एकीकृत समाजवादीलाई राष्ट्रिय दलकाे मान्यता नपाउने देखिएपछि साे पार्टीका नेताहरू माओवादीसँग एकता गर्न हतारिएका हुन् । एकतापछि माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाल दुवैजना अध्यक्ष बन्नेछन् । एकतापछि एकजनाले संसदीय फाँट हेर्ने र अर्काेले दलकाे गतिविधि सम्हाल्ने सहमति भएकाे बुझिएकाे छ ।

  • प्रकाशित मिति : मंसिर ११, २०७९ आइतबार १६:४३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया