प्रतिनिधिसभातर्फ मधेस प्रदेशमा माओवादी केन्द्र निल

४ मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत प्रतिनिधिसभातर्फ मधेस प्रदेशमा नेकपा माओवादी केन्द्र निल भएको छ । पाँचदलीय गठबन्धनको कोटाबाट मधेस प्रदेशमा ७ सिट पाएको माओवादी केन्द्रले ६ सिटमा आफ्ना उम्मेदवार र एक सिटमा नेपाल समाजवादी पार्टीलाई चुनाव चिन्ह सापटी दिएका थिए । 

माओवादी केन्द्रले ६ सिटमा एउटा पनि उम्मेदवार जिताउन सकेन भने चुनाव चिन्ह सापटी लिएका नेसपाले सर्लाही–२ बाट जितेर साख जोगाइदिएका छन् । 

माओवादीले सत्ता गठबन्धनबाट सिरहा–३, धनुषा–१, महोत्तरी–१, सर्लाही–३, रौतहट–३ र बारा–२ सहित ६ वटा सिट आफ्नो पार्टीको उम्मेदवारका लागि पाएका थिए । 

सर्लाही–२ मा माओवादीले आफ्नो चुनाव चिन्ह नेसपालाई सापटी दिएको थियो भने रौतहट–३ मा नेकपा एमालेका बागी उम्मेदवार प्रभु साहलाई समर्थन गरेको थियो ।

स्वतन्त्र उम्मेदवार साहलाई समर्थन गर्न रौतहट–३ मा रवीन्द्र पटेलले असहमति जनाउँदा माओवादीले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।
 
मधेसमा विगतदेखि नै कमजोर देखिएको माओवादीले गठबन्धनको बलमा जित्नसक्ने क्षेत्रमा उम्मेदवार उठाए पनि उनीहरूले पार्टीको इज्जत जोगाउन सकेनन् ।

माओवादीका प्रभावशाली मानिने नेता मातृकाप्रसाद यादव धनुषा–१ मा जसपाका दीपक कार्कीसँग पराजित भए । कार्की २७ हजार ४३१ मत ल्याएर निर्वाचित हुँदा मातृकाले २१ हजार ४८३ मत मात्र ल्याउन सके । 



त्यस्तै, सिरहा–३ मा माओवादीका उम्मेदवार विश्वनाथ साह नेकपा एमालेका लिलानाथ श्रेष्ठसँग पराजित भए । लिलानाथ २८ हजार ६४ मत ल्याएर निर्वाचित हुँदा विश्वनाथ भने २६ हजार ८८२ मतमै सीमित भए । 

महोत्तरी–१ मा माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेल नेकपा एमालेका लक्ष्मी महतोसँग हारे । लक्ष्मीले २३ हजार ४०२ मत पाउँदा गिरिराजले २२ हजार ३७२ मत मात्र पाउन सके । २०६४ देखि २०७४ सम्म निरन्तर चुनाव जितेका पोखरेल यसपटक लक्ष्मीसँग जित्न सकेनन् ।



त्यस्तै, सर्लाही–३ मा माओवादीका उम्मेदवार नरेन्द्र साह कलवार नेकपा एमालेका उम्मेदवार हरिप्रसाद उप्रेतीसँग पराजित भए । हरिप्रसाद ३२ हजार ९३८ मत ल्याएर निर्वाचित हुँदा नरेन्द्रले ३२ हजार १६८ मत ल्याएका थिए । 

रौतहटको निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा मओवादी केन्द्रले स्वतन्त्र उम्मेदवार प्रभु साहलाई समर्थन गर्ने निर्णय गरे पनि माओवादीका रवीन्द्र पटेलले पार्टीको निर्णयविपरीत उम्मेदवारी दिए । अन्ततः पटेल त्यहाँ नराम्ररी पराजित भए । रौतहट–३ बाट भारी मतान्तरले जितेका प्रभु साहले रवीन्द्रलाई तेस्रो स्थानमा झारे । प्रभु ३२ हजार ४३७ मत ल्याएर निर्वाचित हुँदा पटेल ८ हजार ५५८ मतमै सीमित बन्न पुगे । 

उता, बाराको निर्वाचन क्षेत्र नम्बर–२ मा पनि नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवचन्द्र प्रसाद कुशवाहा जसपाका रामसहाय प्रसाद यादवसँग पराजित भए । रामहसहायले १३ हजार ८२२ मत ल्याएर जित निकाल्दा शिवचन्द्रले १३ हजार ४६८ मत ल्याए । 

त्यस्तै, मधेस प्रदेशसभातर्फ पनि नेकपा माओवादी केन्द्रका अधिकांश नेता पराजित भएका छन् । प्रदेशसभा सदस्यका लागि १५ क्षेत्रमा उम्मेदवार खडा गरेका माओवादीले ४ सिट मात्र जित्न सक्यो । 

माओवादीले प्रदेशमा महोत्तरी–१ (ख), सर्लाही–४ (ख), रौतहट–४ (क), पर्सा–१ (क) लगायत ४ सिट मात्र जितेको छ । सप्तरी–१ (क), सप्तरी–२ (ख), सिरहा–२ (क), सिरहा–४ (क), धनुषा–२ (ख), महोत्तरी–४ (ख), सर्लाही–२ (क), बारा–३ (क), बारा–४ (क), पर्सा–३ (क) र पर्सा–४ (ख) मा उम्मेदवारी दिएका माओवादीका उम्मेदवार चुनाव हारेका छन् ।

  • प्रकाशित मिति : मंसिर १२, २०७९ साेमबार १३:३५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया