सुदूरपश्चिममा १८ उम्मेदवारको जमानत जफत

सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभा सदस्यको निर्वाचन लडेका १८ जना उम्मेदवारको जमानत जफत भएको छ । उनीहरुले एक सय भोट पनि पुर्याउन नसकेपछि उनीहरू सबैको जमानत जफत भएको हो । 

विभिन्न साना दल तथा स्वतन्त्र उम्मेदवारको निर्वाचनमा जमानत जफत भएको छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवारले उम्मेदवारीको क्रममा १० हजार रुपैयाँ धरौटी राखेका थिए । सो धरौटी जोगाउनका लागि उम्मेदवारले सदर मतको १० प्रतिशत भोट प्राप्त गर्नुपर्ने थियो, तर १८ जनाले एक सय पनि भोट कटाउन नसकेपछि उनीहरूको धरौटी जफत भएको हो ।

निर्वाचन आयोगका अनुसार एक सय भोट पनि पाउन नसक्नेमा कैलालीमा सबैभन्दा बढी छन् । कैलालीमा ७ जना रहेका छन् । कैलाली–५ बाट उम्मेदवारी दिएकी नेपाल मजदुर किसान पार्टीका नन्दाकुमारी दर्लामीमगर (राना) ले जम्मा ४२ मत प्राप्त गरिन । क्षेत्र नं ४ बाट उम्मेदवारी दिएका नेपाल मजदुर किसान पार्टीकै सीताराम पण्डितले ६२ मत, नेपाल संघीय समाजवादी पार्टीका भीमबहादुर थापामगरले ६१ मत प्राप्त गरे । 

यस्तै, जनता प्रगतिशील पार्टीका मोहनदेव मिश्रले ४८, नेपालका लागि नेपाली पार्टीका मानबहादुर चौधरीले ९० मत, राष्ट्रिय जनमुक्ति पार्टीका तिलकबहादुर शाहीले ५४ मत र लोकतान्त्रिक समाजवादी पार्टीका कमलेशकुमार चौधरीले ४८ मत प्राप्त गरे ।

कञ्चनपुरमा नेपाल मजदुर किसान पार्टीका नन्दादेवी जोशीले ९३ मत प्राप्त गरी सय पुगाउन सात मतको कमीले पछाडि रहिन् । त्यस्तै स्वतन्त्र उम्मेदवार हरिनादेवी भट्टले ६७ मत, जनमत पार्टीका प्रेमसिंह बडालले ८७ मत प्राप्त गरे । सोही जिल्लामै लोकतान्त्रिक समाजवादी पार्टीका अम्बादत्त तिवारीले ९१ मत प्राप्त गरेका छन् । 

डडेल्धुरामा स्वतन्त्र उम्मेदवार लालबहादुर कठायतले ८५ मत प्राप्त गरेर अन्तिम स्थान प्राप्त गरे । त्यस्तै, बैतडीमा पनि नेपाल मजदुर किसान पार्टीका कृष्णप्रसाद गोसाइँले ९० मत प्राप्त गरे । दार्चुलामा पाँचजना उम्मेदवारले एक सय मत पुगाउन सकेनन् । सो जिल्लामा नेपाल मजदुर किसान पार्टीका श्रीविश्वराज छलालले ७८ मत प्राप्त गरे ।



त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका तारादत्त जोशीले ६५ मत प्राप्त गरे । कैलालीमा ठूलो शक्ति बनेको नागरिक उन्मुक्ति पार्टीले प्रदेशको पहाडी जिल्ला दार्चुलाबाहेक अन्य जिल्लामा उम्मेदवार उठाएको थिएन । 

यसैगरी दार्चुलामा राप्रपा नेपालका देवबहादुर बमले सबैभन्दा कम १३ मत प्राप्त गरे । प्रतिनिधिसभा सदस्यतर्फ यो प्रदेशमा उम्मेदवारले प्राप्त गरेको सबैभन्दा कम मत पनि यही हो । 



सुदूरपश्चिम प्रदेशको बाजुराबाहेक बाँकी सबै जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतगणना भइसकेको छ । डोटी र अछाममा भने सबै उम्मेदवारले एक सय भोट कटाएका छन् । प्रदेशभरि एक सय नपाएकासहित धेरैजसो उम्मेदवारको धरौटी जफत भएको छ ।
 

  • प्रकाशित मिति : मंसिर १२, २०७९ साेमबार १८:५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया