सुदूरपश्चिम प्रदेशसभामा समानुपातिकबाट १७ जना महिला छानिने

सुदूरपश्चिम प्रदेश सभामा समानुपातिकबाट निर्वाचित हुने २१ मध्ये १७ जना महिलालाई राजनीतिक दलहरुले छनौट गर्नैपर्ने भएको छ । सुदूरपश्चिम प्रदेश सभामा कुनै पनि दलबाट एक जना पनि महिला निर्वाचित नभएपछि ३३ प्रतिशत महिला पुर्याउन दलहरुले महिला छनौट गर्नैपर्ने अवस्था भएको हो ।

सुदूरपश्चिम प्रदेश सभामा ५३ सदस्य छन् । संविधानले ३३ प्रतिशत महिला हुनु पर्ने बाध्यकारी व्यवस्था गरेको छ । यस व्यवस्था अनुसार सुदूरपश्चिम प्रदेश सभामा कम्तिमा १७ महिला हुनुपर्ने हुन्छ । सुदूपश्चिम प्रदेशमा प्रदेश सभामा प्रत्यक्ष निर्वाचनबाट निर्वाचित भएर महिलाहरु आउन नसकेपछि सबै दलहरुले समानुपातिक सूचीबाट ३३ प्रतिशत महिला प्रदेश सभामा सहभागिता गराउनुपर्ने हुन्छ ।

निर्वाचन आयोग सुदूरपश्चिम कार्यालय धनगढीका प्रमुख प्रेम राज भट्टले प्रदेश सभामा प्रत्यक्षतर्फ महिलाहरु निर्वाचित नभएकोले दलहरुले गरेको महिला सहभागिताको व्यवस्था समानुपातिक सूचीबाट पूरा गर्नुपर्ने अवस्था रहेको बताए । सुदूरपश्चिम प्रदेश सभाका लागि भएको निर्वाचनमा बाजुराबाहेकका ८ जिल्लाबाट ३० प्रदेश सभा सदस्य निर्वाचित भइसकेका छन् । ती निर्वाचित सबै पुरुष रहेका छन् । 

निर्वाचन कानुनमा सुदूरपश्चिम प्रदेशमा खस आर्य ६० प्रतिशत, आदिवासी जनजाति तीन दशमलव ६ प्रतिशत, थारु १७ प्रतिशत, दलित १७ प्रतिशत, मधेशी १ दशमलव ६४ प्रतिशत, अल्पसंख्यक २ दशमलव ३७ प्रतिशत, पिछडिएको क्षेत्र १२ दशमलव ७८ प्रतिशत हुनुपर्ने व्यवस्था छ ।

सुदूरपश्चिम प्रदेश सभाको मंसिर ४ मा भएको निर्वाचनमा हालसम्म नेपाली कांग्रेसबाट ११ जना, नेकपा माओवादी केन्द्रबाट ८ जना, नागरिक उन्मुक्ति पार्टीबाट ५ जना, नेकपा एमालेबाट ३ जना, नेकपा एकीकृत समाजवादीबाट २ जना र स्वतन्त्र एक जना निर्वाचित भएका छन् । बाजुराबाट दुई प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनको भने गणना हुन सकेको छैन ।





  • प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार १८:८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया