विराटनगर महानगरको आयोजनामा अग्नि नियन्त्रण तथा उद्धार तालिम सम्पन्न

विराटनगर महानगरपालिकाले आयोजना गरेको आधारभूत अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी ६ दिने तालिम सम्पन्न भएको छ । तालिममा काठमाडौं महानगरपालिकाका नगर प्रहरीका निरीक्षक एवं वारुणयन्त्र सम्बन्धीका विज्ञ किशोर भट्टराईले प्रशिक्षण दिएका थिए । 

तालिममा आगलागी नियन्त्रण, उद्धार गर्दा अपनाइने विधि प्रदर्शन गरिएको थियो । त्यस्तै ग्यासमा आगलागी भएमा कसरी निभाउने भन्ने विधि पनि सिकाइएको थियो । अग्नि नियन्त्रण र उद्धारको अभ्यास हेर्न पोखरिया उच्च माविसहित विभिन्न विद्यालयका विद्यार्थीसमेत उपस्थित भएका थिए । 

तालिममा आगलागी नियन्त्रणसहित उद्धारका उपायका विषयमा जानकारी गराइएको थियो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका महानगरका कार्यबाहक मेयर प्रकाश साहले समापन समारोहलाई सम्बोधन गर्दै तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए । उनले तालिममा प्रशिक्षार्थीहरुले अग्नि नियन्त्रणका उपाय, घाइतेको उद्धार, स्वास्थ्य संस्थासम्म कसरी पुर्याउने भन्ने विषयमा जानकारी पाएको बताए । 

‘भरिसक्य आगलागीलगायतका विपदका घटना हुँदै नहोस्,’ साहले भने, ‘यदि भइहालेमा नियन्त्रण र उद्धारमा समस्या नहोस् । तालिममा सिकेको सीपलाई घटना भएमा प्रयोग गर्नुहोस् ।’

त्यस्तै, निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गाप्रसाद खतिवडा,  विराटनगर–३ का वडाध्यक्ष वासुबहादुर बस्नेत, तालिमका मुख्य प्रशिक्षक किशोरकुमार भट्टराईलगायतले तालिमको महत्व, उद्देश्य र प्रभावकारिताका विषयमा चर्चा गरेका थिए । तालिममा महानगर प्रहरी र वारुणयन्त्रका २० जना कर्मचारी सहभागी भएको नगर प्रहरीका निरीक्षक राजन पौडेलले जानकारी दिए । 

महानगरले आफैंले पहिलोपटक आयोजना गरेको तालिम निकै प्रभावकारी भएको पौडेलको दाबी छ । यसअघि महानगर आफैंले तालिम आयोजना गरेको थिएन । दमकलका कर्मचारीले अग्नि नियन्त्रणको तालिम अरु नै ठाउँमा गएर लिने गरेका थिए । 



समापन समारोहमा सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, विपद व्यवस्थापन शाखा प्रमुख अनिता न्यौपानेलगायतको सहभागिता रहेको थियो ।



  • प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार १८:३०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया