नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले देशको अर्थतन्त्र संकटतर्फ उन्मुख भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
विराटनगरस्थित कोइराला निवासमा बुधबार बुद्धिजीवीको भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले मुलुक आर्थिक रुपमा जर्जर हुने अवस्थामा पुगेको बताए । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित कोइरालाले मुलुकलाई सही बाटोमा अगाडि बढाउन बुद्धिजीवीहरुले खबरदारी गर्नुपर्नेमा जोड दिए ।
‘मुलुकको अर्थतन्त्र एकदमै चिन्ताजनक अवस्थामा पुगेको छ । जबसम्म मुलुक आर्थिक रुपमा बलियो हुँदैन तबसम्म देशको विकास हुँदैन,’ कोइरालाले भने, ‘तपाईंहरु बुद्धिजीवीहरुले देशलाई सही बाटोमा अगाडि बढाउनका लागि नेताहरुलाई खबरदारी गर्नुहोस् । कतै मैले पनि गलत गरें भने तत्कालै भन्नुहोला ।’
नेता कोइरालाले सुशासन, आर्थिक पारदर्शितालाई आफूले प्रमुख एजेण्डा बनाएको समेत सुनाए । सुशासनविना मुलुकको विकास नहुने दाबी गर्दै कोइरालाले भ्रष्टाचार अन्त्यका लागि सबै दल र नेताले प्रण गर्नुपर्नेमा जोड दिए । नेता कोइरालाले सुशासनका पक्षमा संसदमा सधैं आवाज उठाउनेसमेत प्रतिबद्धता जनाए ।
मुलुक अब यथास्थितिमा अगाडि बस्न नसक्ने बताउँदै कोइरालाले आर्थिक रुपमा समृद्ध बनाउने स्पष्ट दृष्टिकोण र लक्ष्यका साथ काम गर्नु आवश्यक रहेको औंल्याए । ‘अब एकले अर्कोलाई दोष दिएर समय खेर फ्याँल्नु हुँदैन । कसरी हुन्छ लगानीको वातावरण बनाएर मुलुकलाई आर्थिक रुपमा समृद्धि बनाउनुपर्छ,’ उनले भने ।
भेलामा वरिष्ठ साहित्यकार एवं मानव अधिकार तथा शान्ति समाज मोरङका अध्यक्ष प्राज्ञ दधिराज सुवेदीले प्रदेश–१ ले नेता कोइरालाबाट ठूलो आशा र भरोसा गरेको बताए । कोइरालालाई बुद्धिजीवीहरुले माला र खादा लगाएर बधाईसमेत दिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।