सत्ता स्वार्थले कमल थापाको राजनीतिक यात्रामा ‘पूर्णविराम’

राजनीतिक धरोहर बोकेको एक चर्चित नाम हो कमल थापा । पूर्वउपप्रधानमन्त्री समेत रहेका थापा आठौं पटकको निर्वाचन प्रक्रियामा नेकपा एमालेको सूर्य चिन्हबाट उम्मेदवारी दिए ।

पटक-पटक हारिरहेको थापाको राजनीतिक यात्रा विस्तारै ओरालो लागेको छ । राप्रपामा अध्यक्ष नपाएको झोकमा राप्रपा नेपाल ब्यूँताएका थापा आफ्नै निर्वाचन क्षेत्रमा राप्रपाकै उम्मेदवार विजयी हुँदा प्रश्न चिन्ह खडा भएको छ । 

२०७४ सालको निर्वाचनअघि नेकपा एमालेले नै विजयी हासिल गर्दै आइरहेको मकवानपुर क्षेत्र नम्बर १ मा थापाले मंसिर ४ को निर्वाचनमा एमालेकै सूर्य चिन्ह लिएर निर्वाचनमा होमिए । तर, क्षेत्र २ मा सूर्यकै जित हुँदै एमालेका महेश कुमार बर्तौला विजयी हुँदा क्षेत्र १ मा कमल थापा तेस्रो भए । उनलाई उनकै सहयात्री राप्रपाका दीपकबहादुर सिंहले हराइदिए ।

राप्रपा नेपाल र नेकपा एमालेको गठबन्धनमा चुनाव लड्दा पनि एक्लै रहेको राप्रपाले थापालाई हराउनु लज्जास्पद मात्रै होइन, थापा प्रति मकवानपुरका नागरिकले हेर्ने नजर पनि झल्किएको छ । उनीप्रतिको विश्वास गुम्दै गएको हो कि भन्ने चर्चा चलेको छ । 

प्रजातन्त्र पुनःस्थापनापछि भएको पहिलो आमनिर्वाचन ०४८ मा पराजित भएका थापा ०५१ को मध्यावधि चुनावमा भने विजयी भएका थिए । थापा ०५१ यता हालसम्म ८ प्रधानमन्त्रीत्वकाल र ०६२ को पूर्वराजा ज्ञानेन्द्रको मन्त्रिमण्डलमा गरी ९ पटक मन्त्री बनिसकेका छन् ।

०४८ को निर्वाचनमा मकवानपुर–१ मा थापालाई एमालेका कृष्ण दाहालले पराजित गरेका थिए । ०५६ मा थापा मकवानपुर–१ मा दाहालसँग पराजित भए । त्यसबेला दाहालले २० हजार ४ सय ४२ मत पाउँदा थापाले १५ हजार ९ सय ८५ मत प्राप्त गरेका थिए ।



०६४ को संविधानसभा निर्वाचनमा मकवानपुर–३ बाट उम्मेदवार बनेका थापा तेस्रो भए । ०७० को संविधानसभा निर्वाचनमा उनी प्रतिस्पर्धामा उत्रिएनन् । उनले आफ्नो श्रीमतीलाई मकवानपुर–१ बाट उम्मेदवार बनाएर आफू समानुपातिक उम्मेदवार बनेका थिए । समानुपातिकबाट सांसद बनेका उनी ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा तिनै प्रधानमन्त्रीका मन्त्रिमण्डलमा मन्त्री बने ।

०७४ को प्रतिनिधिसभामा उनले मकवानपुर–१ मै फेरि उम्मेदवारी दिएका थिए । सो निर्वाचनमा थापालाई पराजित गर्दै दाहाल प्रतिनिधिसभा सदस्य बनेका थिए । दाहालले ४० हजार ६ सय ३१ मत पाएर विजयी भएका थिए भने थापा ३४ हजार ६ सय ५८ मत ल्याएर पराजित भएका थिए ।



६ पटकसम्म पराजित भएका उनले २ पटक मात्रै जनताबाट अनुमोदित भएर सांदसको स्वाद चाख्न पाए । आफ्नो पार्टीको जनमत नभएपछि जिल्लाकै ठूलो दल एमाले रोजेका थापालाई सूर्य पनि फापेन । निर्वाचन अघि सूर्यले मलाई जिताउँछ भनेर ठोकुवा नै गरेका उनी तेस्रो भए । त्यसो त, झन्डै १६ हजार मतगणना गर्न बाँकी नै हुँदा उनको मनस्थितिमा हारको झिल्को पसिसकेको थियो ।

फेसबुकमार्फत आफू पराजित भएको पुष्टि गरेका उनलाई गठबन्धनकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिनासँग पराजित हुनेमा ढुक्क थिए । यद्यपि उनले अड्कल पनि लगाएका थिएनन् आफ्नै पुरानो पार्टीले आफैंलाई हराउला भन्ने । राप्रपाको अध्यक्ष राजेन्द्र लिङ्देन भएपछि आफ्नो सत्ता गुमेको सहन नसकेर पार्टी त्यागेका थापा सत्ता प्राप्तीकै लागि रन्थनिएका छन् ।

अध्यक्ष बन्न राप्रपा नेपाल, सांसद बन्न एमालेको सूर्य तथा जित्नको लागि कम्युनिष्ट धारमा पुगेका थापालाई न सहानुभूति मिल्यो, नत जनताले अनुमोदन गरे । आफ्नै पूर्वसहकर्मी दीपक सिंहको हलो अगाडि कमलको सूर्य टिक्न सकेन । भनिन्छ– हत्केलाले सूर्य छेक्न सक्दैन । तर, यसपटक हलोले भने सूर्यलाई छेक्यो ।

सत्ता स्वार्थका लागि सबथोक बिर्सँदै आएका कमलले यसपटकको निर्वाचनमा एमालेको फेरो समातेर आफ्नो इमान रित्याए । एकै ठाउँमा टिक्न नसक्नु, पराजयलाई स्वीकार्न नसक्नु, आफ्नोभन्दा अर्कोको नेतृत्वमा चल्न नसक्नु र कुर्सीको लागि पार्टीको सिद्धान्त बिर्सिनुले थापाको राजनीतिक यात्रा दिनप्रतिदिन धकेलिरहेको छ ।   

  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार १३:४८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया