गठबन्धनमा माधव नेपालको माग– एक वर्ष प्रधानमन्त्री

४ मंसिरमा भएको निर्वाचनको अन्तिम परिणाम आइसकेको छैन । केही ठाउँमा मतगणनामा भएको ढिलाइका कारण पनि अहिलेसम्म परिणाम नआइसकेको हो ।

अहिलेसम्म आएको परिणामले नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाएको छ । कांग्रेस नेतृत्वको गठबन्धनका दलहरुको अहिलेसम्मको मत परिणामलाई हेर्ने हो भने सरकार बनाउनका लागि बहुमत पुग्ने पनि देखिन्छ । सँगसँगै कांग्रेस तथा गठबन्धनका दलहरुले सिके राउतको जनमत पार्टी, रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको पनि साथ लिन खोजेको देखिन्छ । 

अहिलेसम्म गठबन्धनमा भावी सरकार गठनको विषयमा निष्कर्ष आउने लेभलको वार्ता चाहिँ सुरु भएको छैन । तर, नेपाली कांग्रेसका नेताहरुले यस विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग यस विषयमा वार्ता सुरु गरिसकेका छन् ।

कांग्रेसका प्रवक्तासमेत रहेका प्रकाशशरण महतले पछिल्ला केही दिनमा शेरबहादुर देउवा नेतृत्वमा नै नयाँ सरकार बन्ने पनि बताउँदै आएका छन् ।

गठबन्धनलाई निरन्तरता दिन कांग्रेसका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग आलोपालो प्रधानमन्त्री बन्ने प्रस्ताव अगाडि सारेको बाहिर आउन थालेको छ । यसमा प्रचण्डले आफूलाई पहिलो चरणमा प्रधानमन्त्री दिनु पर्ने प्रस्ताव राखेको बताइएको छ ।

गठबन्धनको सरकार बनाउँदा नेकपा एकीकृत समाजवादीले कम्तिमा सभामुख तथा एउटा प्रदेशमा मुख्यमन्त्री पाउनु पर्ने समाजवादीका नेता मेटमणि चौधरीले यसअघि बताइसकेका थिए ।



यहीबीच नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्याकेजमा सहमति गर्ने र कम्तिमा एक वर्ष आफू पनि प्रधानमन्त्री हुन पाउनु पर्ने नयाँ माग अगाडि सारेका छन् ।

‘हामीले त्याग कति गर्ने ?’ नेकपा एकीकृत समाजवादीका एक नेताले भने, ‘त्यसैले हामीले पनि एक वर्ष सरकारको नेतृत्व गर्न पाउनु पर्छ भन्ने विषयमा छलफल गरेका हौँ ।’ उनले कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री आधा आधा गर्दा नेकपा एकीकृत समाजवादीले पनि दाबी गर्न पाउनु स्वभाविक भएको बताएका छन् ।



‘हामीले बराबरी भनेका होइनौँ, कांग्रेस माओवादीले २–२ वर्ष चलाएर हामीलाई एक वर्ष सरकारको नेतृत्व गर्न दिन किन मिल्दैन ?’ उनले भने ।

अर्कोतिर नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको एकताको विषय पनि अहिले चर्चामा छ । के माओवादी र नेकपा एकीकृत समाजवादीको एकता हुन लागेको हो ? हामीले यही प्रश्न नेकपा माओवादी केन्द्रका हरिबोल गजुरेलसँग गरेका थियौँ ।

‘अहिले को कसरी सत्तामा पुग्ने भन्ने योजनामा काम गरिरहेका छन्,’ उनले भने, ‘नेताहरुले नीति र सिद्धान्तमा आधारित राजनीति गर्न छोडिसके, सत्ता प्राप्तिका लागि जे पनि हुनसक्छ ।’

  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार २०:५६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया