प्रतिनिधि सभा निर्वाचन : प्रत्यक्षतर्फका १६५ सिटमध्ये महिला नौजना मात्रै

गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । 

सोमबारसम्म देशभरका सबै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ । आयोगको तथ्यांकअनुसार प्रतिनिधि सभा निर्वाचनमा अधिकांश क्षेत्रमा चुनाव जित्नेमध्ये पुरुष उम्मेदवारको बाहुल्य देखिएको छ । 

आमनिर्वाचन ०७९ मा १२ वटा राजनीतिक दल र स्वतन्त्र गरी १६५ जना विजयी भएका छन् । जसमा राजनीतिक दलबाट झण्डै ५ प्रतिशत अर्थात् ९ जना मात्रै महिला उम्मेदवार निर्वाचित भएका छन् । 

झण्डै ९५ अर्थात् प्रतिशत १५६ जना पुरुष उम्मेदवारले चुनाव जितेका छन् । महिलाको उम्मेदवारी दिने क्रममै कमजोर स्थिति रहेकोमा निर्वाचित संख्या न्यून बनेको हो । 

नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ ५७ सिट जित्दा प्रत्यक्षमा एकजना मात्र महिला निर्वाचित भएकी छन् । युवा नेतृ सीता गुरुङले तेह्रथुमबाट जित हासिल गरेकी हुन् ।

यस्तै ४४ सिटसहित दोस्रो दल बनेको नेकपा एमालेबाट ४ जना मात्र महिला उम्मेदवार विजयी भएका छन् । एमालेबाट चुनाव जित्नेमा विद्या भट्टराई, ज्वालाकुमारी साह, जुलीकुमारी महतो र भगवती चौधरी छन् । 



१८ सिट जितेको नेकपा माओवादी केन्द्रबाट एकजना मात्र महिला उम्मेदवार विजयी भएका छन् । माओवादीबाट रेखा शर्मा निर्वाचित भएकी छन् । 

सबैभन्दा कान्छो दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुईजना महिला उम्मेदवार निर्वाचित भएका छन् । कूल सात सिट जितेको रास्वपाका काठमाडौं २ बाट सविता गौतम र ललितपुर ३ बाट तोसिमा कार्की निर्वाचित भएका हुन् ।  



३ सिट जितेको नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ चौधरीले चुनाव जितेकी छन् । 

प्रत्यक्षमा कम महिला उम्मेदवार विजयी भए पनि संविधानतः हरेक दलबाट संसदमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य छ । त्यसकारण समानुपातिकमा दलहरूले महिलाको प्रतिशत पुर्‍याउन सिफारिस गर्नेछन् ।

  • प्रकाशित मिति : मंसिर १९, २०७९ साेमबार २०:५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया