बाजुरामा समानुपातिकतर्फ माओवादी र समाजवादीले कटाएनन् दुई हजार भोट

बाजुरामा समानुपातिक तर्फ संघ र प्रदेश दुवैमा नेपाली कांग्रेस पहिलो दल बनेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ जितेको नेपाली कांग्रेस समानुपातिकतर्फ पनि पहिलो दल बनेको हो ।

कुल खसेको सदर मत ५८ हजार ६ सय १० मत मध्ये नेपाली कांग्रेसले २७ हजार ९ सय ७२ मत प्राप्त गरेको छ भने दोस्रो बनेको नेकपा एमालेले २६ हजार २ सय ९९ मत प्राप्त गरेको छ ।

बाजुरामा प्रतिनिधिसभातर्फ ६० हजार ४ सय ४५ मत खसेको थियो । तीमध्ये १ हजार ८ सय ३५ मत बदर भएका छन् । समानुपातिक निर्वाचन प्रणाली अन्तरगतको मतमा कांग्रेस पहिलो र एमाले दोस्रो दल बनेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले २ हजार मत समेत नकटाएको अवस्था छ । प्रतिनिधी सभाको समानुपातिक तर्फ माओवादी केन्द्रले १ हजार ९ सय ७८ मत प्राप्त गरेको छ । भने नेकपा एकीकृत समाजवादीले १ हजार ७ सय २८ मत प्राप्त गरेको छ ।

चुनावी गठबन्धन गरेका कांग्रेस, माओवादी र समाजवादी मध्ये समानुपातिकमा माओवादीको आधा बढी मत घटेको अवस्था छ । ०७४ मा ५ हजार बढी मत ल्याएको माओवादीले गएको स्थानीय तहको निर्वाचनमा तीन हजार ९ सय बढी मत प्राप्त गरेको थियो । योपटकको संघ र प्रदेशको चुनावमा भने माओवादीले आफ्नो विरासत नै गुमाएको छ ।

प्रदेश निर्वाचन क्षेत्र (क)को प्रत्यक्षतर्फका सिटमा समाजवादीबाट नरेशकुमार शाहीले जिते पनि समानुपातिकतर्फ भने निकै कम मत आएको छ । समाजवादीले प्रत्यक्षमा १०९७३ मत ल्याएर विजयी भए पनि समानुपातिकतर्फ जिल्लाभरिबाट दुई हजार मतसमेत कटाउन सकेन । समाजवादीले स्थानीय तहको भन्दा केही मत भने बढाएको अवस्था छ ।



गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता बद्री पाण्डेले प्रत्यक्षमा ३१७८६ मत प्राप्त गरेका जितेका हुन् । नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६३४९ मत ल्याएर पराजित भए । 

यो मतसंख्या हेर्दा नेकपा एमालेले समानुपातिकतर्फ पनि आफ्नो मत यथावत् राखेको देखिन्छ भने नेपाली कांग्रेसको करिब ४ हजारको संख्यामा कम मत देखिएको छ ।



यता, प्रदेशसभामा पनि नेपाली कांग्रेस पहिलो दल बनेको छ । समानुपातिकतर्फ प्रदेश सभामा ५९ हजार ५ सय ९९ मत खसेको छ । त्योमध्ये नेपाली कांग्रेसको २६ हजार ५ सय २५ मत आएको छ ।

नेकपा एमालेले २५ हजार ८ सय ३५ मत ल्याएको छ भने नेकपा माओवादी केन्द्रले २ हजार ५ सय २८ मत प्राप्त गरेको छ । प्रदेशसभामा प्रतिनिधिसभाको भन्दा ५ सय ५० मत बढी ल्याएको छ ।

समाजवादी पार्टीले पनि केही मत थप गरे पनि २ हजार प्रदेशसभामा पनि कटाउन सकेको छैन । समाजवादीले प्रदेश सभामा १ हजार ९ सय ८० मत प्राप्त गरेको छ भने राप्रपाको ४ सय २५ मत प्राप्त गरेको छ । बाजुराबाट स्वतन्त्रसहित ३० वटा दलमा मत गएको छ ।

  • प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार २०:९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया