संघीयताको मर्मअनुसार बजेट विनियोजन गर्न माग

काठमाडौं– राष्ट्रियसभाको मंगलबारको बैठकको शून्य समयमा भाग लिने सांसदले समसामयिक र गम्भीर विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदहरूले सिंहदरबार प्रवेशद्वारमा पैदालयात्रुलाई परेको अप्ठेरो, प्लास्टिक झोलाको नियन्त्रण तथा क्रसर उद्योगले प्राकृतिक संरक्षणमा पारेको असरबारे सदनमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराए । 

बैठकमा सांसद विन्दादेवी आलेमगरले मुलुक संघीयतामा प्रवेश गरिसकेको अवस्थामा समेत संविधानको भावनाअनुरूप समानुपातिक र समावेशी सिद्धान्तका आधारमा अझै बजेट विनियोजन गर्ने परिपाटीको सुरुवात नभएको भन्दै प्रश्न उठाइन् । 

सांसद रामप्रित पासवानले संवैधानिक आयोगमा अध्यक्ष नियुक्ति गरिरहँदा दलित आयोगको कानुन बनाउने तरखर नभएको भन्दैसरकारको ध्यानाकर्षण गराए । सांसद डा. विजया पौडेलले सिंहदरबारको दक्षिणपट्टिको मूलद्वारबाट बाहिर निस्कने पैदलयात्रीका लागि बेग्लै बाटो नभएका कारण गुडिरहेका मोटरले ठक्कर दिने हो कि भन्ने त्रास पैदा हुने गरेकाले त्यसतर्फ सरकार गम्भीर हुनुपर्ने बताए । 

‘सिंहदरबारको दक्षिण मूलद्वारबाट बाहिर निस्कने पैदलयात्रुलाई निकै असहज भएकाले बेग्लै बाटोको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहन्छु,’ उनले भने, ‘बजारमा अहिले पनि गुणस्तरहीन प्लास्टिकका झोला प्रयोगमा रहेकाले त्यसलाई विस्थापन गर्न कागजको झोलाको प्रयोग बढाउने नीति ल्याइयोस् ।’ 

सांसद हरिचरण शिवाकोटीले मुलुकका विभिन्न भागमा मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगलाई विधिसम्मत रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन सुझाब दिए । 





  • प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार १३:३६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया