‘कमल थापाले भत्काइदिए एमालेको विरासत’

मंसिर ४ को आमनिर्वाचन सम्पन्न भइसकेको छ । देशका सबै निर्वाचन क्षेत्रहरूको मत मरिणाम पनि आइसकेको छ । हालै सम्पन्न निर्वाचनमा अघिल्ला निर्वाचनहरूमा भन्दा फरक दृश्यहरू देखिए । सधैँ जितिरहनेहरूले कठिन घडीको सामना गर्दागर्दै पराजित भए भने, पटक/पटक हारिरहनेहरूले अन्त्यमा सजिलै जित हासिल गरे । 

मकवानपुरमा रहेका ३ लाख ७ हजार ३३ मतदाता मध्ये ५९ प्रतिशत मत खस्दा मतदाताहरुले परिवर्तनको अपेक्षा गरेर मत दिएको देखियो । पहिलो पटक निर्वाचनमा सामेल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि प्रतिनिधिसभामा १२ हजार भन्दा धेरै मत प्राप्त गर्‍यो । मतदाताले नयाँ पार्टीलाई पनि रुचाएको पाइयो । तर रास्वपाले सोचे जति जनमत भने नपाएको उम्मेदवारहरूको गुनासो छ ।
 
त्यसो त, मकवानपुर नेकपा एमालेको किल्लाको रुपमा परिचित छ । २०७४ सालको निर्वाचन अघि वर्चस्व कमाइरहेको एमालेले मंसिर ४ को निर्वाचनमा आफ्नो विरासत जोगाउन सकेन । दुई वटा प्रतिनिधि सभा क्षेत्र र ४ वटा प्रदेशसभा क्षेत्र रहेको मकवानपुरमा हालै सम्पन्न निर्वाचनमा एमालेले प्रतिनिधिसभामा १ सिट र प्रदेश सभामा १ सिटमा जित निकाल्यो । प्रतिनिधि सभा निर्वाचनमा सधैँ एमालेले मात्रै जितिरहने यहाँ यो पटकको निर्वाचनमा क्षेत्र नम्बर १ मा राप्रपाले जित निकाल्यो । 

५ दलीय सत्ता गठबन्धन र नेकपा एमाले र राप्रपा नेपालको गठबन्धन दुवैलाई हराउँदै एक्लै चुनावी मैदानमा रहेको राप्रपाले जित निकाल्यो । यस क्षेत्रबाट राप्रपाका केन्द्रीय सदस्य दीपकबहादुर सिंह विजयी भए । तर क्षेत्र नम्बर २ मा भने एमालेका उम्मेदवार महेश कुमार बर्तौला निर्वाचित भए । २०७४ अघिका निर्वाचनहरूमा सधैँ जितिरहेको एमालेको विरासत तब भत्कियो, जब राप्रपा नेपालका अध्यक्ष कमल थापाको हातमा सूर्य चिन्हको निर्वाचन चिन्ह सहित एमाले अध्यक्ष केपी ओलीले टिकट थमाइदिए । 

एमाले मकवानपुरका केन्द्रीय सदस्य समेत रहेका रामेश्वर रानालाई क्षेत्र १ को टिकट दिइएको चर्चा चले पनि मनोनयन दर्ताको अघिल्लो राती कमल थापाले टिकट पाए । थापाको एमालेमा इन्ट्री हुनु नै एमालेको विरासत भत्कनुको कारण बन्यो । सत्तामा पुग्ने स्वार्थ बोकेर सूर्य चिन्हबाट निर्वाचनमा होमिएका भनेर चर्को आलोचना खेपी रहेका थापा तेस्रो बने । पार्टी स्थापना काल देखि नै सहयात्रा गर्दै आएका आफ्नै साथी राप्रपाबाट विजयी भइरहँदा थापाले हार व्यहोर्नु पर्‍यो । आफैले छोडेको अझै त्यसमा पनि सधैँ हारिरहेको पार्टीको जित भइरहँदा आफ्नो राप्रपा नेपालको तीर बिर्सिएर जितिरहने एमालेको चिन्ह सूर्यको पोल्टामा पुगेका थापालाई ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ भने झैँ भयो । 

छैटौँ पटकको हार 
प्रजातन्त्र पुनः स्थापनापछि भएको पहिलो आमनिर्वाचन ०४८ मा पराजित भएका थापा ०५१ को मध्यावधि चुनावमा भने विजयी भएका थिए । थापा ०५१ यता हालसम्म ८ प्रधानमन्त्रीत्वकाल र ०६२ को पूर्वराजा ज्ञानेन्द्रको मन्त्रिमण्डलमा गरी ९ पटक मन्त्री बनिसकेका छन् । ०४८ को निर्वाचनमा मकवानपुर–१ मा थापालाई एमालेका कृष्ण दाहालले पराजित गरेका थिए । ०५६ मा थापा मकवानपुर–१ मा दाहालसँग पराजित भए । त्यस बेला दाहालले २० हजार ४ सय ४२ मत पाउँदा थापाले १५ हजार ९ सय ८५ मत प्राप्त गरेका थिए ।

०६४ को संविधानसभा निर्वाचनमा मकवानपुर–३ बाट उम्मेदवार बनेका थापा तेस्रो भए । ०७० को संविधानसभा निर्वाचनमा उनी प्रतिस्पर्धामा उत्रिएनन् । उनले आफ्नो श्रीमतीलाई मकवानपुर–१ बाट उम्मेदवार बनाएर आफू समानुपातिक उम्मेदवार बनेका थिए । समानुपातिकबाट सांसद बनेका उनी ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा तिनै प्रधानमन्त्रीका मन्त्रिमण्डलमा मन्त्री बने ।



०७४ को प्रतिनिधिसभामा उनले मकवानपुर–१ मै फेरि उम्मेदवारी दिएका थिए । सो निर्वाचनमा थापालाई पराजित गर्दै दाहाल प्रतिनिधिसभा सदस्य बनेका थिए । दाहालले ४० हजार ६ सय ३१ मत पाएर विजयी भएका थिए भने थापा ३४ हजार ६ सय ५८ मत ल्याएर पराजित भएका थिए । ६ पटकसम्म पराजित भएका उनले २ पटक मात्रै जनताबाट अनुमोदित भएर सांदसको स्वाद चाख्न पाए ।

थापा कै कारण भत्कियो विरासत
यहाँ २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दुवै क्षेत्रबाट नेकपा एमालेकै जित भएको थियो । क्षेत्र नम्बर १ मा कृष्णप्रसाद दाहाल र २ मा विरोध खतिवडा विजयी भएर संघीय सांसद बनेका थिए । ०७४ सालको निर्वाचनमा राप्रपाका अध्यक्ष कमल थापालाई पराजित गर्दै दाहाल प्रतिनिधिसभा सदस्य बनेका हुन् । अघिल्लो निर्वाचनमा दाहालले ४० हजार ६ सय ३१ मत पाएर विजयी भएका थिए भने थापा ३४ हजार ६५८ मत ल्याएर पराजित भएका थिए । 



यता, मकवानपुर–२ मा तत्कालीन एमालेबाट विरोध खतिवडा विजयी भएका थिए । ०७४ को निर्वाचनमा खतिवडाले कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’लाई ११ हजार ९ सय ६३ मतान्तरले पराजित गरेका थिए । खतिवडाले ४४ हजार ७ सय ४४ मत प्राप्त गर्दा डिनाको पोल्टामा ३२ हजार ६ सय ८१ मत परेको थियो । 

यस पटक मकवानपुरको दुवै प्रतिनिधिसभा क्षेत्रमा एमालेलाई आफ्नो विरासत जोगाउन चुनौती बनेको छ । पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका खतिवडा क्षेत्र २ मा निरन्तर ४ पटकसम्म आफ्नो जित सुनिश्चित गर्दै एमालेको साख जोगाएक थिए । तर, यस पटकको निर्वाचनमा क्षेत्र नम्बर २ बाट युवा नेता बर्तौलाले एमालेको विरासत कायम राखे भने क्षेत्र नम्बर १ मा थापाले आवश्यक जनमत प्राप्त गर्न नसक्दा एमालेले यस क्षेत्रमा आफ्नो साख जोगाउन सकेन । एमालेको विरासत भत्काउन थापा आइपुगे । तेस्रो भएका थापाले २५ हजार ४ सय २० मत ल्याए ।

 मतलाई नै आधार मान्ने हो भने आफ्नो पार्टी राप्रपा नेपालले देशभरबाट समानुपातिकमा बटुलेको मत भन्दा धेरै हो । तर यतिले पनि उनलाई विजयको माला पहिराउन सकेन । लोकतान्त्रिक बाम गठबन्धनकी साझा उम्मेदवार महालक्ष्मी उपाध्याय डिनालाई २३ सय ९३ मतान्तरले हराउँदै राप्रपाका दीपक बहादुर सिंहले संसदको यात्रा तय गरे । उनी २७ हजार ८ सय १६ मतले विजयी भए हुँदा पराजित उपाध्यायले  २५ हजार ४ सय २३ मत ल्याइन् । 

  • प्रकाशित मिति : मंसिर २२, २०७९ बिहीबार १७:३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया