महोत्तरीमा प्रहरी र स्थानीयबीच झडप हुँदा पाँचजना घाइते
प्रतीकात्मक तस्वीर

महोत्तरीको रामगोपालपुर नगरपालिकामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा पाँच जना प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार झडपमा नेपाल प्रहरीका दुई, सशस्त्र प्रहरीका दुई र एकजना रामगोपालपुर नगरपालिकाका नगर प्रहरी घाइते भएका छन् ।

रामगोपालपुर नगरपालिका–५ बस्ने डा. पंकज चौधरीले पत्नी नेहा चौधरीलाई घरभित्र पस्न नदिएपछि उत्पन्न भएको विवादले उग्ररूप लिँदै आन्दोलनमा परिणत भएपछि रामगोपालपुरमा प्रहरी र स्थानीयबीच झडप भएको हो ।

औरही नपा–१ माइती भएकी नेहाले पतिविरुद्ध घरेलु हिंसा र दाइजोविरुद्धको मुद्दा दिएकामा २६ मङ्सिरमा महोत्तरी जिल्ला अदालतले संरक्षणात्मक आदेश जारी गर्दै नेहालाई घरभित्र प्रवेश गर्न दिन भनेपछि नेहा अदालतको पत्र लिएर पतिको घर रामगोपालपुर–५ मा पुगेपछि त्यहाँ ताल्चा लागेको थियो ।
 
ताल्चा लागेका घर अगाडि नै नेहाले धर्ना बसेपछि स्थानीयवासीले नेहालाई घरभित्र प्रवेश गराउनुपर्ने माग राख्दै आन्दोलन गर्न थालेका छन् । स्थानीयले रामगोपालपुरका नगरप्रमुखले नेहाका सासू, ससुरालगायत परिवारका व्यक्तिलाई लुकाएर संरक्षण दिइरहेको आरोप लगाउँदै नगरपालिका भवनमा तोडफोड, सडक जामलगायत कार्यक्रम गर्न थालेपछि आन्दोलनले उग्ररूप लिएको थियो भने प्रहरी र स्थानीयबीच पटक–पटक झडप भएको हो ।

यता प्रहरीले नेहाका पति चौधरीलाई पक्राउ गरी उनीविरुद्ध विवाहमा दाइजो लिएको मुद्दामा अनुसन्धान गरिरहेको छ ।  





  • प्रकाशित मिति : पुस १, २०७९ शुक्रबार १०:३३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया