निर्वाचन आयोगले बागमती प्रदेश प्रमुख शर्मालाई बुझायो प्रतिवेदन

निर्वाचन आयोगले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई गत मंसिर ४ गते सम्पन्न निर्वाचनको बागमती प्रदेशको अन्तिम प्रतिवेदन बुझाएको छ । प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ को अन्तिम प्रतिवेदन निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले प्रदेश प्रमुख शर्मालाई बुझाएका हुन् । प्रदेश प्रमुख समक्ष निर्वाचन आयोगले प्रदेशको अन्तिम चुनावी प्रतिवेदन बुझाएसँगै प्रदेशसभा बैठक बोलाउने तयारीको लागि अब बाटो खुलेको छ ।

कार्यक्रममा निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले निर्वाचन कार्यालय बागमती प्रदेशले तयार पारेको प्रतिवेदन प्रस्तुत गर्दै निर्वाचन सफतापूर्वक सम्पन्न भएको बताए । निर्वाचित सांसदहरुको पहिलो बैठक पौष पहिलो साता बोलाउने तयारी भएको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ । 

प्रदेश प्रमुखले प्रदेश सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने व्यवस्था संविधानको धारा १८३ ले गरेको छ । निर्वाचन आयोगले पेस गरेको प्रतिवेदन बुझ्दै बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले ठूलो चुनौतीको बीचमा निर्वाचनको महायज्ञ सम्पन्न भएको भन्दै सबैमा धन्यवाद व्यक्त गरे । 

आयोगले तयार पारेको प्रतिवेदनअनुसार गत निर्वाचनमा बागमती प्रदेशसभाका लागि प्रत्यक्षतर्फ निर्वाचित ६६ र समानुपातिकतर्फ ४४ गरी कुल ११० सदस्य निर्वाचित भएका छन् भने प्रदेशसभामा ७ वटा दलको प्रतिनिधित्व रहेको छ । प्रदेश प्रमुख शर्माले आयोगको प्रतिवेदन बुझेसँगै बागमती प्रदेशसभाको औपचारिक कार्यक्रम र सरकार निर्माणको बाटो खुल्ला भएको छ । पहिलो बैठक आह्वान गरेपछि संविधान बमोजिम प्रदेश प्रमुखले समय समयमा अन्य अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ । 

४८४ जनाको धरौटी जफत



बागमती प्रदेशमा ४ सय ८४ जनाको धरौटी जफत भएको छ । प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार समानुपातिक निर्वाचन प्रणलीअन्तर्गतको निर्वाचनमा कुनै राजनीतिक दलले एक सिट पनि प्राप्त नगरेमा धरौटी जफत हुने व्यवस्था छ । जसअनुसार प्रदेशसभातर्फ बन्दसूची पेस गर्ने दलहरुमध्ये यस प्रदेशमा ३३ वटा राजनीतिक दलको धरौटी जफत भएको छ । 

१० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने पुरुष उम्मेदवारको संख्या ४ सय १७ र महिला उम्मेदवारको संख्या ६७ जना गरी ४ सय ८४ उम्मेदवारहरुको धरौटी जफत भएको निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले जानकारी दिए । 



बदर मत ७६ हजार

प्रदेश सभा सदस्य ऐन २०७४ को दफा (६०) मा प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणाली तर्फको कुल सदर मतको १ दशमलव ५ प्रतिशत वा सो भन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ । सोहीअनुसार बागमती प्रदेशमा ७ वटा राजनीतिक दलको प्रतिनिधित्व भएको छ । 

बागमती प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचनतर्फ ३५ र समानुपातिक तर्फ ४० राजनीतिक दल निर्वाचनमा सहभागी भएको निर्वाचन कार्यालय बागमती प्रदेशले जनाएको छ । प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ पुरुष ५ सय ८८ र महिला ८० गरी ६ सय ६८ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो भने समानुपातिकतर्फ ७ सय ५४ जनाको अन्तिम बन्दसूची कायम गरेको थियो । 

प्रदेशसभा निर्वाचनका लागि महिला १७ लाख ३३ हजार ३ सय ७८, पुरुष १७ लाख ३८ हजार ८७ र अन्य २७ गरी कुल ३४ लाख ७१ हजार ४ सय ९२ मतदाता रहेका थिए । जसमध्ये २१ लाख ४ हजार ५ सय ७८ अर्थात् ६० दशमलब ६२ प्रतिशत मत खसेकोमा सदर मत २० लाख २७ हजार ६ सय ४९ रहेको थियो भने बदर मत ७६ हजार ९ सय ३८ मत बदर भएको निर्वाचन कार्यालय बागमती प्रदेशले जानकारी दिएको छ ।

  • प्रकाशित मिति : पुस २, २०७९ शनिबार १८:९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया