उपत्यका प्रहरीमा कारबाहीभन्दा पुरस्कृत धेरै

काठमाडौं– काठमाडौं उपत्यकामा कारबाही हुनेभन्दा पुरस्कृत हुने प्रहरीको संख्यामा वृद्धि भएको छ । विगतका समयमा प्रहरीले घुस लिने र अनावश्यक सेवाग्राहीलाई दुःख दिने गरेपछि कारबाहीमा पर्ने क्रम बढे पनि पछिल्लो समय भने राम्रो काम गरेबापत पुरस्कृत हुने संख्यामा वृद्धि भएको हो । 

महानगरीय ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षमा पुरस्कार हुनेमा ३ सय १२ प्रहरी अधिकृत तथा जवान रहेका छन् भने कारबाही हुनेमा २ सय १२ प्रहरी अधिकृत तथा जवान रहेका छन् । 

पुरस्कृत हुनेमा प्रहरी वरिष्ठ उपरीक्षक एक, प्रहरी उपरीक्षक दुई, प्रहरी नायब उपरीक्षक तीन, प्रहरी निरीक्षक १४, प्रहरी नायब निरीक्षक ३२, प्रहरी सहायक निरीक्षक ४७, प्रहरी हवल्दार ६१, प्रहरी जवान १ सय ४९ र प्रहरी कार्यालय सहयोगी तीनजना रहेका छन् । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंह राम्रो काम गर्ने प्रहरीलाई पुरस्कृत गरिएको बताउँछिन् । ‘घुस फिर्ता गर्ने, जोखिममा परेकालाई उद्धार गर्ने, सफल अनुसन्धान गर्ने, फरार अभियुक्तलाई पक्राउ गर्ने, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट ट्राफिक व्यवस्थापन गर्नेलाई पुरस्कृत गर्ने गरेका छौँ,,’उनी भन्छिन् । 

यस्तै, कारबाही पर्नेमा प्रहरी नायव उपरीक्षक दुई, प्रहरी नायव निरीक्षक १२, प्रहरी सहायक निरीक्षक १०, प्रहरी हवल्दार ४८, प्रहरी जवान १ सय ३६ र प्रहरी कार्यालय सहयोगी चारजना रहेका छन् । 

कारबाही परेकामा नसिहद ८८ जना, निलम्बन ४८ जना, पदोन्नति रोक्का आठजना, तलब वृद्धि घटुवा १८ जना, तलब वृद्धि रोक्का १५ जना, बर्खास्त एक, सेवाबाट हटाइएका १९ जना र सुरुको स्केलमा घटुवा १५ जनालाई गरिएको छ । 



प्रहरीले मंसिरदेखि हालसम्म प्रहरीलाई घुस दिन खोज्ने ३६ चालक तथा सहचालकलाई पक्राउसमेत गरिसकेको छ । ट्राफिक प्रहरीले पक्राउ त्यस्ता चालक तथा सहचालकलाई पक्राउ गरी प्रहरीलाई बुझाउँदै आएको छ । 

कार्यालयका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्री एक–दुईजना प्रहरी कर्मचारीका कारण प्रहरी संगठन नै बदनाम हुने गरेकाले कार्यालयले पुरस्कार र कारबाहीको अभियान सञ्चालन गरेको बताउँछन् । ‘राम्रो काम गर्ने र पुरस्कार पाएका प्रहरी अधिकृत तथा जवानको बढुवामा समेत सकारात्मक प्रभाव पार्नेछ,’ उनले भने । 



काठमाडौं उपत्यकामा हाल १८ वृत्त र तीन परिसरबाट मुद्दा चल्दै आएको छ । कार्यालयदेखि चौकीसम्म १ सय ६७ एकाइबाट सुरक्षा प्रदान गर्दै आइरहेको छ । काठमाडौं उपत्यकाभित्र ११ हजार ३ सय १९ प्रहरीको दरबन्दी भएपनि हाल झन्डै १० हजार प्रहरीले सुरक्षा प्रदान गरिरहेका छन् । 

कार्यालयले उपत्यकाभित्र प्रहरीले गरेका कामलाई अनुगमन गर्न रानीपोखरीबाट विशेष ड्युटीसमेत खटाएको छ । उपत्यकाभित्र हुने अपराध न्यूनीकरण र प्रहरीले गरेको कामको अनुगमनका लागि विशेष ड्युटी खटाएको हो । 

प्रहरी कर्मचारीलाई हौसला प्रदान गर्न घुससहित पक्राउ गर्ने प्रहरी कर्मचारीलाई कार्यालयका हाकिमले फोन गरेर धन्यवादसमेत दिने गरेका छन् । कार्यालयले प्रहरीलाई घुस दिन खोज्नेलाई पक्राउ गरी मुद्दासमेत चलाएको छ । 

  • प्रकाशित मिति : फागुन १, २०७५ बुधबार १३:३५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया