प्रतिनिधिसभा सदस्यको शपथ बिहीबार हुने
फाइल तस्बिर

प्रतिनिधिसभामा नयाँ निर्वाचित सदस्यको शपथ यही पुस सात गते बिहीबार हुने भएको छ । संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहीबार दिउँसो १ बजे प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण हुनेछ ।

नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने भन्ने व्यवस्था छ ।

सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउने व्यवस्था छ । ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथ ग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउनेछन् । शपथ ग्रहणका लागि निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी एवं हालसालै खिचेको पासपोर्टसाइजको फोटो दुईप्रतिसहित उपस्थित हुन संघीय संसद् सचिवालयले आग्रह गरेको छ । राष्ट्रिय पोशाक वा आआफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थित भईदिनसमेत सचिवालयले आग्रह गरेको छ ।

प्रतिनिधिसभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्योहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित संघीय संसद् सचिवालयमा उपलब्ध गराउन आग्रह गरिएको छ । 





  • प्रकाशित मिति : पुस ४, २०७९ साेमबार १५:१९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया