सर्लाहीमा चिसोले कठ्याङ्ग्रिएर मुसहर समुदायका दुईजनाको मृत्यु

सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर दुई साताको अवधिमा मुसहर समुदायका दुई जनाको मृत्यु भएको छ ।

हरिपुर नगरपालिका–९ पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका–६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।  

ज्याला मजदुरीको काम गर्ने पिडारीका रमेश मङ्सिर २४ गते धान काट्ने काम गरेर घर आएपछि पराल ओछ्याएर सुतेकामा त्यहीँ चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको पीडित परिवारले जनाएको छ ।

केही वर्षअघि जनता आवास कार्यक्रमअन्तर्गत प्रदेश सरकारले जस्ताले छाएको दुई कोठे घर निर्माण गरिदिएको थियो । दुई कोठामध्ये एउटा कोठा दाइ मोती माझी र अर्को कोठा रमेशले अंशबण्डा गरेका थिए । एउटै कोठामा मृतक रमेश, उनकी श्रीमती चन्दु माझी, जेठो छोरा पङ्कज र बुहारी आँचल र कान्छो छोरा कृष्णनन्दनसहित पाँच जना बस्दै आएका थिए । 

किरियापुत्री बसेका कान्छो छोरा १६ वर्षीय कृष्णनन्दन माझीले ओढ्ने ओछ्याउने नभएकाले भुइँमा पराल ओछ्याएर सुत्दा बुबाको त्यही कठ्याङ्ग्रिएर ज्यान गएको बताए ।

स्थानीय मुसहरको पनि लगाउने न्यानो कपडा र ओढ्ने ओछ्याउने नहुँदा समस्या रहेको हरिपुर नगरपालिका–९ पिडारीका वडाध्यक्ष विश्वनाथ रायले बताए । 



रमेशको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको बारे आफूलाई पनि कसैले जानकारी नगराएको वडाध्यक्ष रायले बताए । उनले चिसो प्रभावितका लागि गैरसरकारी संस्थासँग समन्वय गरी कम्बल बाँड्ने तयारी गरिरहेको जानकारी दिए । 



  • प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार ७:४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया