राज्यविरोधी शक्तिसँग सजग रहन गृहमन्त्रीको निर्देशन

भद्रपुर- गृहमन्त्री रामबहादुर थापाले मुलुकभित्र र बाहिरका असन्तुष्ट शक्तिले सरकारलाई उल्ट्याउने, कमजोर पार्ने र फेरि अस्थिरता पैदा गर्ने प्रयास गरिरहेको बताएका छन् । उनले आज कर्मचारीसँग जिल्ला प्रशासन कार्यालयमा गरिएको भेटघाट कार्यक्रममा राज्यविरोधी शक्ति सल्बलाउन थालेका कारण सजग रहनसमेत निर्देशन दिए । 

उनले झापामा पृथकतावादीको त्यति धेरै बिगबिगी नभए पनि जाति, धर्मका नाममा देशलाई विभाजित गर्ने, साम्प्रदायिक दंगा फैलाउने शक्ति यो प्रदेशमा र जिल्लामा रहेको जानकारी दिँदै त्यस्ता तत्त्वलाई नियन्त्रण गर्न सुरक्षा निकायले विशेष योजना बनाउन जरुरी रहेको बताए । 

गृहमन्त्रीले जनतालाई सेवा प्रवाह गर्ने सन्दर्भमा आफ्नो दायित्वलाई महत्त्वपूर्ण ढंगले निर्वाह गर्न कर्मचारीलाई निर्देशन दिए । पछिल्लो समय झापामा चोरी तस्करी बढिरहेको बताउँदै उनले त्यसलाई नियन्त्रण गर्न थप सुरक्षा नीति अपनाउनुपर्नेमा जोड दिए । गृहमन्त्री थापाले विकास र समृद्धिको दिशामा देश अघि बढिरहेको उल्लेख गर्दै यसका निम्ति सुशासन र शान्तिलाई अझ सुदृढ र व्यवस्थित गर्नुपर्ने बताए । 

मन्त्री थापाले भ्रष्टाचार नियन्त्रणमा सरकार कटिबद्ध भएको बताउँदै भने, ‘प्रधानमन्त्रीको म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न भन्ने मूल मन्त्र छ, यो विषयमा सबैले ध्यान दिऔं ।’ उनले प्रमको अभियानलाई सफल पार्न आन्तरिक प्रशासनले विशेष ध्यान दिएर लाग्नुपर्ने बताए । गृहमन्त्री थापाले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको नीति सरकारले लिएको बताउँदै जिल्लामा भ्रष्टाचार उन्मूलन गर्न विशेष ध्यान दिएर काम गर्न आग्रहसमेत गरे ।  

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले झापाको शान्ति सुरक्षाको अवस्था र प्रशासनले वर्षभरि गरेका गतिविधिका बारेमा जानकारी गराएका थिए ।





  • प्रकाशित मिति : फागुन १, २०७५ बुधबार १५:२८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया