पार्टीलाई प्रतिक्रियावादीबाट खतरा : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई प्रतिक्रियावादीबाट खतरा रहेको बताएका छन् ।  

बुधबार जनआन्दोलन तथा जनयुद्धका सहिदहरूको स्मृतिमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘प्रतिक्रियावादीले विभिन्न षड्यन्त्रमार्फत पार्टीलाई कमजोर पार्दै पार्टीभित्रै फाटो पार्ने, नेताहरूका बीचमै अविश्वास र आशंका पैदा गर्ने विभिन्न एक्सरसाइज भइराखेका छन् ।’  

झापा विद्रोह, जनयुद्ध र जनआन्दोलनका सहिदहरूलाई सम्मान गर्दै प्रतिक्रियावादी र अवसरवादीको प्रभोकेसनमा नआउन पार्टी नेता तथा कार्यकर्ताले हेक्का राख्नुपर्ने उनले बताए । 

‘महान् सहिदहरूलाई सम्मान गर्दै गर्दा हामी सबैले हेक्का राख्नुपर्ने कुरा यही छ,’ उनले भने, ‘हामी प्रतिक्रियावादी र अवसरवादीको प्रभोकेसनमा आउनेछैनौँ । 

‘प्रतिक्रियावादी’लाई कमजोर पार्न एक हुनुपर्नेमा उनले जोड दिए । ‘प्रतिक्रियावादी चाहन्छन्, यो विभाजित होस्, कम्युनिस्टहरूको प्रभाव घटोस्, कम्युनिस्टको नेतृत्वमा विकास र समृद्धि नहोस्,’ प्रचण्डले भने, ‘तपाईं–हामी साँच्चै कम्युनिस्ट हौँ भने प्रतिक्रियावादीले खोजेको कुरालाई प्रयोग गर्न लाग्नै हुँदैन । प्रतिक्रियावादीलाई कमजोर पार्न हामी सबै एकजुट हुनुपर्छ ।’  

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले एमाले र माओवादी केन्द्रबीचको एकता कसैले दयामाया गरेर नभएको बताए । ‘यो पार्टी एकता कसैले मायादया गरेर भएको होइन,’ उनले भने, हाम्रै महान् सहिदहरुको त्याग, तपस्या र बलिदानबाट भएको हो ।’ 



प्रचण्डले पार्टी रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताए । ‘हामी एकजुट हुँदा यसको रक्षा हुन्छ । हामी एकजुट हुन सकेनौँ भने हामीलाई प्रतिक्रियावादी वा अवसरवादीको प्रोभोकेसनमा कठिन हुन्छ,’ उनले थपे, ‘त्यसकारण हामी सबैले हेक्का राख्नुपर्छ ।’ 

प्रचण्डले जनताप्रति गरिएको संकल्प, प्रतिबद्धता र जनताका भरोसालाई टुट्न नदिने बताए । पार्टी एकतालाई वैचारिक, राजनीतिक, सांगठनिक, सांस्कृतिक र भावनात्मक रूपले बलियो बनाउँदै लैजान संकल्प गर्ने दिन आजै भएको उनको भनाइ छ ।



‘अहिले पनि एकताबद्ध हुन नआइसकेका साथीहरू’लाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘यो एउटा नयाँ युगको नयाँ प्रयोग नेपालमा भइरहेको छ । यो सानो कुरा भइराखेको होइन नेपालमा । नेपालमा प्रयोग भइराखेको कम्युनिस्टहरूको एकता र कम्युनिस्टको नेतृत्वमा राजनीतिक स्थिरता र समृद्धिको नयाँ यात्रा १९औँ र २०औँ शताब्दीको अनुभवहरूको निचाडको रूपमा छ । संसारभरि यो एउटा पाठको रूपमा रहेको छ ।’

‘कन्फ्युजन, विभ्रमहरूलाई छोडेर एकचोटि नेपाल महान् बनाउने, नेपाली जनताको समृद्धि र आकांक्षालाई सम्बोधन गर्ने महान् सहिदहरूको, बेपत्ता योद्धाहरूको सपना साकार पार्ने संकल्प आउनुहोस्, हामी सबै एउटै केन्द्रमा गोलबन्द होऔँ,’ नेकपामा एकताबद्ध हुन खुला आह्वान गर्दै उनले भने, ‘योभन्दा अर्को विकल्प छैन । म सबै साथीहरूलाई, सबै नेताहरूलाई, सबै कार्यकर्ताहरूलाई निकै गम्भीरता र जिम्मेवारीका साथ अपिल गर्न चाहन्छु, यही बाटोबाट मात्रै हामी समाजवादतिर अगाडि बढ्न सक्छौँ ।’

नयाँ परिवेश, अपिल पुरानै

तत्कालीन नेकपा माओवादी फुटेपछि प्रचण्डको नेतृत्वदायी भूमिकाबारे आलोचना भयो । मोहन वैद्य ‘किरण’ पार्टीबाट अलग भए । फुटको असर पार्टीभित्र देखापर्र्न थाल्यो । प्रचण्डले सार्वजनिक कार्यक्रमबाटै बेलाबखत वैद्यलाई ‘पुरानै घर’ फर्किन आग्रह गरे । तर, वैद्य फर्किएनन् । प्रचण्डको कार्यक्षमतामाथि आलोचना रोकिएन ।

जसोतसो साथ दिइरहेका डा. भट्टराईले पनि संविधानसभाबाट नयाँ संविधान जारी भएपछि राजनीतिक रूपमा उनलाई छाडे । त्यसपछि उनलाई साथ दिने नारायणकाजी श्रेष्ठ भए । सँगै युद्ध लडेका सहयोद्धा साथीहरू वैद्य र डा. भट्टराई नभए पनि उनलाई नारायणकाजीको बलियो साथ रह्यो । तर, यत्तिले वैद्य र डा. भट्टराईको अभाव पूर्ति हुन सकेन । पार्टीको साख जोगाउन प्रचण्डलाई हम्मेहम्मे नै पर्यो । त्यसपछि, प्रचण्डले एमालेसँग पार्टी एक गराए । 

प्रत्येक वर्ष पार्टीले ‘जनयुद्ध दिवस’ मनाइरहँदा प्रचण्ड भावुक हुन्छन् । सहयोद्धाले छाडेर गएको भन्दै प्रचण्डले पुनः पार्टीमा फर्कन आग्रह गर्छन् । यसपटक पनि त्यस्तै आग्रह गरे प्रचण्डले । 

नेकपामा ‘जनयुद्ध’ शब्दावलीमै चर्को विवाद भएकाले यसपटक जनयुद्ध दिवस नभनी ‘जनआन्दोलन तथा जनयुद्धका सहिदहरूको स्मृति’ भनियो । युद्ध सुरु गरेको २४ वर्षपछि फागुन १ गतेलाई फरक रूपमा मनाउँदै प्रचण्डले ‘सहिद’हरूलाई पहिलोपटक धुम्बाराहीमा श्रद्धाञ्जली दिए । 

उनले छरिएर रहेका सबै पूर्वमाओवादीलाई लक्षित गर्दै पार्टी एकतामा सामेल हुन अपिल गरे । ‘हामी सबै एक ठाउँमा केन्द्रित भयौँ र गोलबन्द हुन सक्यौँ भने हाम्रो सपना छिट्टै र तुलनात्मक रूपमा सहज ढंगले पूरा गर्न सक्छौँ,’ उनले भने ।
 

  • प्रकाशित मिति : फागुन १, २०७५ बुधबार १७:१५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया