बालुवाटार बैठक निष्कर्षविहीन, आइतबार पुनः बस्ने

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरकार गठनबारे छलफल गर्न बसेको गठबन्धनको बैठकमा सहमति नजुटेको हो । 

शनिबारको बैठकमा पनि मुख्यगरी प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्वमा दाबी कायम राखेकाले सहमति नभएको बताइएको छ । आजको बैठकमा सहमति नभएकाले भोलि (आइतबार) पुनः छलफल गर्ने गरी आजको बैठक सकिएको छ । 

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार भने सत्ता गठबन्धनकै बन्ने दाबी गरे । आइतबारको बैठकमा सहमति हुने र सरकार गठबन्धनकै बन्ने उनको दाबी छ ।

आजको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता र दोस्रो तहका पनि केही नेता सहभागी भएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दाबी पेस गर्न दिएको समय आइतबार (पुस १० गते) अपराह्न ५ बजे सकिँदै छ । 

त्यसअघि नै कुनै प्रतिनिधिसभा सदस्यले आफ्नो पक्षमा बहुमत पुर्याएर राष्ट्रपतिसमक्ष दाबी पेस गर्नुपर्नेछ । सत्तारुढ दलले छलफललाई तीव्र बनाउँदै जाने र समय अभाव भए राष्ट्रपतिसँग थप समय माग्ने तयारी गरेका छन् । 



सत्ता गठबन्धनमा राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा नेपाली कांग्रेसले दाबी गरिरहेको छ । नेकपा माओवादी केन्द्रले पनि सुरुमा सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरिरहेको छ । 

सत्ता गठबन्धनमा आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा सहमति भए पनि पहिलो चरणमा कसले नेतृत्व गर्ने भन्नेबारेमा ठोस निष्कर्ष निस्किन सकेको छैन ।



  • प्रकाशित मिति : पुस ९, २०७९ शनिबार १९:३९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया