बागमती प्रदेश : कांग्रेसको ‘रिङआउट’ पछि को बन्लान् मुख्यमन्त्री ?

देशको राजनीतिक अवस्थाले कोल्टे फेरेपछि यसको प्रभाव बागमती प्रदेशमा पनि परेको छ । सबैको चासोको रुपमा हेरिएको बागमती प्रदेशको मुख्यमन्त्री को बन्लान् भन्ने चर्चा पेचिलो बनिरहँदा सत्ता समीकरण नै फेरिएपछि अब एमाले–माओवादीको सरकार बन्ने भएको छ । 

यसअघि मुख्यमन्त्रीको भाग नेपाली कांग्रेसले दावी गर्दै आइरहेको थियो । तर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि अब माओवादीको समर्थन नेकपा एमालेलाई भएको छ । जसका कारण पनि कांग्रेसको  पोल्टामा परिसकेको मुख्यमन्त्रीको भाग पुनः उम्किएको छ ।
 
टुट्यो कांग्रेसको सपना

एमालेसँग माओवादी मिल्नेबित्तिकै कांग्रेस अल्पमतमा पर्छ । कांग्रेस अल्पमतमा पर्ने बित्तिकै नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र कांग्रेसका केन्द्रीय सदस्य बहादुर सिंह लामाको मुख्यमन्त्री बन्ने सपना तुहिएको छ । 

अझ भनौं, मकवानपुरे बानियाँलाई प्रदेशको मुख्यमन्त्री बन्न पटक-पटक विभिन्न प्रकारको तगारो खडा भैरहेको छ । अघिल्लो सरकारमा पनि ६-६ महिनाको मुख्यमन्त्रीमा लिखत सहमति गरेका बानियाँले मुख्यमन्त्री बन्ने अवसर पार्टीगत कारणले नै गुमाएका थिए । उनी दोस्रो कार्यकालको लागि लगभग मुख्यमन्त्रीका एकल दाबेदारको रुपमा चर्चा कमाउन सफल भए । तर उनको राजनीतिक पृष्ठभूमिमा नयाँ मोड ल्याइदिए नुवाकोटबाट प्रदेशमा निर्वाचित भएका सांसद बहादुर सिंह लामाले । उनको इन्ट्रीले कांग्रेसभित्र संसदीय दलको नेता चुन्न निर्वाचन नै हुने घोषणा गरियो । तर, गठबन्धन टुटेसँगै कांग्रेसका लामा र बानियाँको मुख्यमन्त्री बन्ने सपना पनि टुट्यो । 

प्रदेश सभामा ३७ सिटसहित ठूलो दल मानिएको कांग्रेसको गठबन्धनमा रहेको शक्ति विभाजनले प्रदेश सभाको दोस्रो कार्यकालमा पनि प्रतिपक्षीको भूमिकामै कांग्रेस रहनुपर्ने बाध्यता सिर्जना भयो । 

त्यसो त, पहिलो कार्यकालमा हालसम्म तीन जना मुख्यमन्त्री पाएको बागमतीमा दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री को बन्लान्, त्यो हेर्न अब केहि समय मात्रै कुर्न पर्ने छ । ७ प्रदेशमध्ये बागमती प्रदेशमा मुख्यमन्त्री कस्लाई र बाँकी मन्त्रालयहरु ककस्लाई भागवण्डा गरिने त्यो निर्णय केन्द्रले नै तयार गर्छ । 



तर कांग्रेसको रिङ आउट भएपछि माओवादी केन्द्र र एमालेमा को मुख्यमन्त्रीको आकांक्षी ? कसको पहुँच कति ? यसलाई आधार मान्ने हो भने पनि बागमती प्रदेशको मुख्यमन्त्रीको दावेदारको रुपमा नेकपा माओवादी केन्द्रका १ र नेकपा एमालेबाट १ गरी २ सांसदको नाम चर्चामा छन् ।  

शालिकराम जम्कट्टेल



सत्तारूढ गठबन्धनबाट दोस्रो पटक प्रदेश सभामा निर्वाचित भएका माओवादीका शालिकराम जम्कट्टेल कांग्रेस सँगको गठबन्धनमै रहँदा पनि मुख्यमन्त्रीको दौडमा थिए । ठुला दलको हैसियतले कांग्रेसले एकल दावी गर्दै आएपनि माओवादीको नजर पनि मुख्यमन्त्रीकै कुर्सीमा अठिएको थियो । अन्य मन्त्रालयहरु जसको हातमा पुगेपनि मुख्यमन्त्री माओवादीले पाउनुपर्ने अडान माओवादीले छोडेको थिएन । तर मुख्यमन्त्री पाउने नपाउने भन्ने निश्चित निर्णय भने भएको थिएन । 

नेकपा माओवादी केन्द्र तर्फबाट जम्कट्टेललाई नै मुख्यमन्त्री बनाउने उदेश्यका साथ उनको पुनः प्रदेश सभा सदस्यमा नै उम्मेदवारी दर्ता गराइएको स्रोतको दावी छ । अघिल्लो कार्यकालमा पनि माओवादी संसदीय दलको नेता रहेका जम्कट्टेल एमाले–माओवादीको गठबन्धनमा पनि मुख्यमन्त्रीकै दाबेदार रहेका छन् । उनी प्रदेश सरकार गठन भएदेखि प्रायः सत्तामै छन् । 

अघिल्लो कार्यकालमा एमाले–माओवादीको गठबन्धनमा बनेको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्री थिए । उनले प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न खोजेका थिए । तर, मुख्यमन्त्रीका रूपमा दाबी गर्न पार्टीले प्रदेश सभा सदस्यको उम्मेदवार बनाएको माओवादी नेताहरू बताउँछन् । माओवादी नेता जम्मकटेल धादिङ १ (२) बाट विजयी भएका हुन् । उनले एमालेका गजेन्द्र भण्डारीलाई ७ हजार ४ सय २५ मतले पराजित गरेका छन् ।

जगन्नाथ थपलिया

बागमती प्रदेशको मुख्यमन्त्रीको दावेदारमा चितवनबाट निर्वाचित प्रदेश सभा सदस्य जगन्नाथ थपलियालाई अघि सार्ने नेकपा एमालेको रणनीति पहिल्यै देखि थियो । अघिल्लो प्रदेश सभामा पनि एमाले–माओवादी मिलेर सरकार गठन हुँदा मुख्यमन्त्री एमालेको पोल्टामा पर्न सफल भयो । 

जसका कारण प्रदेश सरकारको पहिलो कार्यकालको पहिलो मुख्यमन्त्री बनेका थिए एमालेका डोरमणी पौडेल । त्यसोत, अघिल्लो निर्वाचनमा प्रदेशसभाको पहिलो दल बनेको एमाले यो पटक २७ सिटमा खुम्चिएर दोस्रो बन्यो । तर माओवादी र राप्र्रपाको समर्थनमा सरकार गठन गर्न पाउँदा एमालेका थपलिया मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ ।
  
पाँचदलीय गठबन्धनविरुद्ध एक्लै निर्वाचनमा होमिएको एमालेले आफ्ना गहकिला सदस्यहरुलाई सांसद भवनमा ल्याउन सकेन । बागमती प्रदेशमा एमालेको भागको मुख्यमन्त्री परे २७ सांसदहरु मध्ये संसदीय दलको नेतामा चर्चा कमाएका थपलिया नै एमालेका एकल मुख्यमन्त्रीका दाबेदार हुन् । 

प्रदेशको प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको राजनीतिक सल्लाहकारको भूमिका निर्वाह गरेका थपलिया नेकपा एमालेको केन्द्रीय सचिव समेत हुन् ।

चितवन निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (१) मा नेकपा एमालेका जगन्नाथ थपलिया निर्वाचित भएका छन् । थपलियाले १७ हजार ६८८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किरणभुषण ओलीले १० हजार ७१२ मत ल्याएका छन् । 
 

  • प्रकाशित मिति : पुस ११, २०७९ साेमबार १७:३८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया