कांग्रेस लुम्बिनीको निष्कर्ष : नेतृत्वको अदूरदर्शिताले पार्टीको हालत कमजोर

पार्टीको केन्द्रीय नेतृत्वप्रति नेपाली कांग्रेस लुम्बिनीले गम्भीर असन्तुष्टि प्रकट गरेको छ । सबैभन्दा ठूलो दल भएर पनि पार्टी अहिलेको अवस्थामा पुग्नुमा नेतृत्वको कमजोरी रहेको कांग्रेस लुम्बिनीको निष्कर्ष छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको सोमबार बुटवलमा बसेको बैठकले नेतृत्वले कमजोरी स्विकार्नुपर्ने निष्कर्ष समेत निकालेको छ । प्रदेश सभापति अमरसिंह पुनको अध्यक्षतामा बसेको बैठकले देशको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा गहन छलफल गरेको कांग्रेस लुम्बिनीले जनाएको छ ।

कांग्रेस नेतृत्वको अदूरदर्शिताका कारण पार्टी राष्ट्रको बागडोर सम्हाल्ने अवसरबाट बन्चित भएको कांग्रेस लुम्बिनीको ठहर छ । प्रदेश सभापति पुनले जनताले दिएको म्यान्डेट र भावनाबमोजिम अहिले नेतृत्व चल्न नसकेको बताए । 

उनले अहिलेको सरकार जनादेशविपरीत बनेको र यसले नागरिकको आकांक्षा पूरा गर्न नसक्ने पनि दाबी गरेका छन् । बैठकले पार्टी सहमहामन्त्री विष्णु मुस्कान संयोजक रहने गरी महेन्द्र पाण्डे र रिना नेपाल सदस्य रहेको तीन संसदीय दलको विधान निर्माण उपसमिति बनाएको छ ।

प्रदेश संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचनका लागि सहमहामन्त्री खगराज पाण्डेको नेतृत्वमा विष्णु कुमारी सापकोटा र देवनारायण चौधरी सदस्य रहेको उपसमिति पनि निर्माण गरेको छ । संसदीय दलको निर्वाचन शपथ ग्रहण लगतै तय हुने लुम्बिनी कांग्रेसले जनाएको छ ।





  • प्रकाशित मिति : पुस ११, २०७९ साेमबार २१:१४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया