स्वास्थ्य शिविरबाट १ हजार बढी साइपालवासीले लिए सेवा

बझाङको साइपाल गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य शिविरबाट १ हजारभन्दा बढी नागरिकले सेवा लिएका छन् । गाउँपालिकाको केन्द्र काँडामा सञ्चालन भएको तीन दिने स्वास्थ्य शिविरबाट पालिकावासीले सेवा लिएका हुन् ।

गुराँसे कल्याणकारी सेवा प्रतिष्ठान र रोटरी क्लब अफ नक्साल शक्तिको आयोजना, नेपालगञ्ज मेडिकल कलेज र साइपाल गाउँपालिकाको सहकार्य तथा जीएमसी हस्पिटल पोखरा र यूएमसी भैरहवाको प्राविधिक सहयोगमा यही पुस ८, ९ र १० गतेमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । शिविरबाट १ हजार ३८ जनाले सेवा लिएका गाउँपालिका अध्यक्ष मानवीर बोहराले जानकारी दिए । 

शिविरबाट महिला पुरुष गरी ८० जनाले ल्याब सेवा लिएका उनले बताए । त्यस्तै, १ सय ४०ले स्त्री रोग सेवा, ६३ जनाले दन्त सेवा, ७४ जनाले नाक, कान, घाँटीसम्बन्धी लिएका गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले जानकारी दिइन् । उनका अनुसार १०४ जनाले हाडजोर्जी, ४३४ जनाले भिडियो एक्सरे, १६ जनाले परिवार नियोजन र ९६ जनाले जनरल ओपिडी र १८ जनाले इसीजी सेवा लिएका छन् ।

शिविरमा पुरुषभन्दा बढी महिलाको सहभागिता रहेको उपाध्यक्ष तामाङले बताइन् । उनका अनुसार शिविरवाट ७ सय १४ जना महिलाले स्वास्थ्य सेवा लिएका छन् । शिविरका क्रममा जटिल समस्या देखिएका ७ जनालाई अन्यत्र रेफर गरिएको छ ।  

लामो समयदेखि विभिन्न स्वास्थ्य समस्या लुकाएर बसेका पालिकावासीलाई सहज र निःशुल्क स्वास्थ्य सेवा दिनका लागि शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष बोहराले बताए ।  



स्वास्थ्यसम्बन्धी समस्याका गुनासो धेरै आउन थालेपछि शिविरका लागि गाउँपालिका अध्यक्ष बोहरा र उपाध्यक्ष तामाङले राष्ट्रपति कार्यालयसम्म पहल गरेका थिए । 



  • प्रकाशित मिति : पुस १२, २०७९ मंगलबार ८:३२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया