युक्रेनी सहर सोलेदार कब्जा गरेको रुसको दाबी

रुसले पूर्वी युक्रेनी सहर सोलेदारलाई आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ । आफ्नो सेनाले बिहीबार उक्त शहरलाई आफ्नो कब्जामा लिएको क्रेमलिनले दाबी गरेको हो । युद्ध मैदानमा महिनौँको असफलतापछि आफ्नो यो पहिलो विजय भएको पनि उसले बताएको छ । 

‘सोलेदार शहरको मुक्ति पूरा भयो, यसले डोनेट्स्क क्षेत्रमा आक्रमक कारबाहीलाई थप सफल तुल्याउन मार्ग प्रशस्त गर्नेछ,’ रुसी रक्षा मन्त्रालयले शुक्रबार एक वक्तव्यमा भनेको छ । युक्रेनले रुसी दाबीलाई अस्वीकार गर्दै युद्धको केन्द्रबिन्दु बनेको उक्त शहरमा ‘गम्भीर सङ्घर्ष’ जारी रहेको बताएको छ ।

युक्रेनी सशस्त्र सेनाले कठिन परिस्थितिमा पनि स्थितिलाई नियन्त्रणमा राखेको सेनाको पूर्वी समूहका प्रवक्ता सर्गी चेरेभाटीले बताउनुभएको छ । उक्त शहरमा दुवै पक्षले भारी क्षति भएको स्वीकार गरेका छन् । युद्ध मैदानमा बारम्बार अपमान झेलेपछि आक्रामक बनेको मस्कोलाई उक्त स्थानमा पराजित गरेरै छाड्ने दृढताका साथ युक्रेन अघि बढरहेकोे छ ।
 
राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले युक्रेन युद्धबारे छलफल गर्न बैठकको तयारी गरिरहेको बेला सार्वजनकि भएको रुसी दाबीले परिस्थितिलाई अझ जटिल बनाउने ठानिएको छ । रुसले सोलेदारमाथि कब्जा जमाउन आफ्नो मुख्य सैन्य मोर्चालाई डोनेट्स्क सारेको जनाउँदै युक्रेनका उपरक्षा मन्त्री गन्ना मल्यारले दुवै देश युद्धको कठिन चरणमा पुगेका केही समयअघि बताएका थिए ।

राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले सोलेदार र छिमेकी बाख्मुटको रक्षा गर्न युक्रेनी सेनालाई आवश्यक पर्ने सबै किसिमका सैन्य सामग्री उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । रक्तपातपूर्ण भयङ्कर लडाईका निम्ति अत्याधुनिक हातहतियार प्रदान गर्ने उहाँले बताएका हुन् । 





  • प्रकाशित मिति : पुस २९, २०७९ शुक्रबार २१:४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया