प्रचण्डको संकेत— सभामुख वा राष्ट्रपति पाउन सक्छ कांग्रेसले

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३ माघमा सर्वदलीय बैठक बोलाएका छन् । उनले यो सर्वदलीय बैठक बोलाउनका लागि शनिबार विहान बालुवाटारमा सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनुमति लिएका थिए । 

विश्वासको मत लिँदा नेपाली कांग्रेसले पनि विश्वासको मत दिए पछि प्रचण्डले शक्ति बाँडफाँटमा नेपाली कांग्रेसलाई पनि समेटेर अगाडि बढ्ने योजनाअनुरुप यो सर्वदलीय बैठक बोलाएका हुन् । उनले सर्वदलीय बैठकअगाडि नै आफ्नो मन्त्रिमण्डल चाहिँ विस्तार गर्ने योजना बनाएका छन् । 

मन्त्रिमण्डल विस्तार भए पछि अन्य पदहरुमा राष्ट्रिय सहमतिको सरकारको परिकल्पना गर्दै सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपति लगायतका पदमा नेपाली कांग्रेसलाई पनि समेटेर अगाडि बढ्ने योजना प्रचण्डले बनाएका छन् । 

सोहीअनुसार शनिबार विहान उनले ओलीसँग छलफल गरेका थिए । 

शनिबार विहान प्रचण्ड र ओली छलफलमा रहँदा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट गरेका थिए । ४ मंसिरमा भएको निर्वाचनपछि नै आफूलाई राष्ट्रपति बनाउन लागिपरेका पौडेल र नेपालको यो भेटलाई निकै महत्वका साथ हेरिएको छ । त्यसमाथि नेकपा एमालेको समर्थनमा प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भएपछि नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउने वा नेपाललाई राष्ट्रपति बनाउने विषयमा चर्चा चलेको थियो । यही कारणले पनि नेपाल र पौडेलको भेटलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा आपसी छलफलका लागि भएको हुनसक्ने सम्भावनामाथि चर्चा चल्न थालेको हो ।

नेपाल र पौडेलको भेट हुनु र प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाउनुलाई राजनीतिक वृत्तमा निकै महत्वका साथ हेरिएको छ ।



शनिबार नै प्रचण्डले केही सन्चारमाध्यमका सम्पादकहरुसँगको भेटमा कांग्रेसले आफूलाई विश्वासको मत दिए पछि आफूमाथि कांग्रेसको दायित्व पनि थपिएको बताएका थिए । 

‘कांग्रेस स्वतः प्रतिपक्ष बन्छ भन्ने अनुमान थियो तर उसले पनि मलाई विश्वासको मत दियो,’ प्रचण्डले भनेका थिए, ‘यसले गर्दा उमाथि पनि मेरो दायित्व थपिएको छ ।’



प्रचण्डले शनिबार यतिमात्र बताएनन्, उनले अर्को महत्वपूर्ण कुरा पनि भनेका छन् । उनले भनेका छन्– सभामुख वा राष्ट्रपतिमा कसलाई बनाउने भन्ने विषयमा कसैसँग पनि लिखित सम्झौता भएको छैन । 

उनको यो अभिव्यक्तिले नेकपा एमालेमा भने तरंग आएको छ । यसअघि प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्दा सभामुख र राष्ट्रपति दुवैमा नेकपा एमालेका उम्मेदवार हुने विषयमा प्रचण्ड र ओलीबीच मौखिक सहमति भएको थियो । 

‘यसअघिको सरकारमा प्रचण्डले बारम्बार आफूलाई केपी शर्मा ओलीले गरेको सहमतिबाट धोका भएको भन्दै आएका थिए,’ नेकपा एमालेका एक सांसदले भने, ‘यसले गर्दा अहिले प्रचण्डले त्यसको पालोको पैँचो तिर्ने त होइनन् भन्ने आशंका जन्मिएको छ ।’

तर, नेपाली कांग्रेसका अर्का एक सांसदलाई भने प्रचण्डले गरेको सहमतिलाई तोड्लान् भन्ने अपेक्षा आफूहरुले नगरेको बताएका छन् । ‘हाम्रो पार्टीले प्रचण्डलाई विश्वासको मत दिनै हुँदैनथ्यो, विश्वासको मत दिएपछि केही भाग खोज्न जान पनि हुँदैनथ्यो,’ उनले फरकधारसँग भने, ‘ओलीसँगका सहमति तोडेर प्रचण्ड कांग्रेसलाई सभामुख वा राष्ट्रपति दिन तयार हुन्छन् भन्ने मलाई लाग्दैन ।’

अर्कोतिर प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएसँगै राष्ट्रिय सहमतिको सरकार बन्नु पर्ने बताउँदै आएका कांग्रेस नेता रामचन्द्र पौडेलले भने आफू राष्ट्रपति हुने सम्भावना देखेर दौडधूप सुरु गरिसकेका छन् ।

अब ३ माघमा हुने सर्वदलीय बैठकमा के छलफल हुनेछ भन्नेले प्रचण्डको नयाँ मुभलाई निर्धारण गर्ने अनुमान गरिएको छ ।

  • प्रकाशित मिति : पुस ३०, २०७९ शनिबार २२:३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया