यती विमान दुर्घटनाः अहिलेसम्म के के थाहा भएको छ ?

आइतबार विहान १० बजेर ३२ मिनेट जाँदा काठमाडौंबाट उडान भरेको यती एयरलाइन्सको एटीआर विमान पोखरा विमानस्थलमा अवतरण गर्नुभन्दा केही समयअघि मात्र दुर्घटनाग्रस्त भयो ।

दुर्घटनाग्रस्त विमानमा ७२ जना सवार थिए । यीमध्ये चालक दलका सदस्य ४ जना थिए । विमानलाई ३५ वर्ष अनुभव भएका पाइलट कमल केसीले उडाएका थिए । उनीसँग कोइपाइलट थिइन्, अन्जु खतिवडा ।

सेतीको खोँचमा ठोक्किएलगत्तै विमानमा आगलागी भएको थियो । दनदनी आगो बल्न थालेपछि त्यहाँ उद्धारमा समस्या भएको थियो ।

विमानमा १५ जना विदेशी सवार थिए । अन्य सबै नेपाली थिए ।

यो विमानले आइतबार पोखराका लागि काठमाडौंबाट दोस्रो उडान गरिरहेको थियो । पोखरा विमानस्थलको टावरसँग नियमित सम्पर्कमा रहेको विमानले अवतरणका लागि रनवे पाइसकेपछि यो दुर्घटना भएको हो ।



दुर्घटनाको कारण अहिलेसम्म थाहा हुन सकेको छैन । 

नागरिक उड्ड्यन प्राधिकरणले दिएको जानकारीअनुसार अहिलेसम्म ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । ३ जनाको खोजी कार्य अझै जारी छ । राति उद्धार तथा खोजी कार्यमा समस्या हुने भएकाले नेपाली सेनाले खोजी कार्य भोलिबाट सुरु गर्ने जनाएको छ ।



सामाजिक सन्जालमा आएका भिडियोहरुमा हेर्दा थाहा हुन्छ, विमान आकाशमा नै नियन्त्रण गुमाएको देख्न सकिन्छ ।

विमान दुर्घटनालगत्तै नेपाल सरकारको आकस्मिक मन्त्रिपरिषद् बैठक बसेको थियो । यो मन्त्रिपरिषद् बैठकले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यस्तै, विमान दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय छानबिन समिति पनि गठन गरेको छ । 

विमान दुर्घटनामा परेपछि यती एयरलाइन्सले सोमबार आफ्ना सबै उडान रद्द गर्ने विज्ञप्ति जारी गरेको छ ।

विमान दुर्घटना परेपछि उद्धारमा केके भयो ? तलको भिडियोमा हेर्नुहोस्ः​

 


  • प्रकाशित मिति : माघ १, २०७९ आइतबार २२:०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया