प्रतिनिधिसभा बैठक
सभामुखको निर्वाचनका लागि दुई प्रस्ताव प्रस्तुत

प्रतिनिधिसभा आजको बैठकमा सभामुख पदको निर्वाचनका लागि बेग्लाबेग्लै दुई प्रस्ताव प्रस्तुत गरिएको छ । बैठकमा नेकपा (एमाले) का सांसद सुवास नेम्वाङले सत्तागठबन्धनका तर्फबाट उम्मेदवार रहेका देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे ।

सांसद नेम्वाङले निष्पक्ष ‘रेफ्री’का रूपमा भूमिका सक्नुहुन्छ भन्ने विश्वासका साथ सत्ता गठबन्धनका तर्फबाट घिमिरेलाई सभामुख पदको उम्मेदवार बनाएको बताए । सो प्रस्तावमा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन एवं राष्ट्रिय स्वजतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले समर्थन जनाएका थिए ।

यस्तै, बैठकमा विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ईश्वरीदेवी न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे । 

सांसद शर्माले पार्टीका संस्थापक नेता बिपी कोइरालाका अनुयायी न्यौपानेलाई सक्षय, योग्य र अनुभवका आधारमा सभामुख पदको उम्मेदवार बनाएको बताए । उनले शक्ति सन्तुलनका दृष्टिले पनि संसदको सबैभन्दा ठूलो दल कांग्रेसका उम्मेदवार न्यौपानेलाई मतदान गर्न सबैलाई आग्रह गरे ।

सांसद शर्माको प्रस्तावमा नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वालाले समर्थन जनाएका थिए । दुवै प्रस्तावमाथि केहीबेरमा मतदान प्रक्रिया अघि बढाएर सभामुख चयन गरिनेछ ।  





  • प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार १२:४९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया